हो, हामीलाई धेरै दुःख छ बरै ! – Nepal Press
ब्लग

हो, हामीलाई धेरै दुःख छ बरै !

१. जनयुद्धमा १७ हजार नागरिकको संहार गरेर त आएको हो। करिब तीन करोडमा यो कुन ठूलो संख्या हो ? मैले ५ हजारको जिम्मजमानी लिइसकें। तैपनि  मैले शान्तिका कुरा गर्दा मानिसहरू किन हाँस्ने ? यसपालि फागुन १ गतेको जनयुद्ध दिवस म, देउवाजी र माधवजीले न्यायालयमाथि छापामार हमला गरेर मनाएको संकेत बुझ्नुपर्ने होइन ?

२. म केवल ३३ वर्षदेखि महामन्त्री र अध्यक्ष भइ पार्टीको मूल नेतृत्वमा बिराजमान छु। शाहहरूले २४० बर्ष राष्ट्रप्रमुख, राणाहरूले १०४ वर्ष सरकारप्रमुख  र मोहनविक्रमजीले  ‘सामाजिक शिक्षा’ विषयमा कारबाही पर्दासमेत गरी ४७ वर्षदेखि निरन्तर कम्युनिस्ट पार्टीको महामन्त्री सम्हालिरहनु भएको छ । मैले त अध्यक्ष, महामन्त्री र महासचिव गरी जम्मा जम्मी ३३ वर्ष मात्रै त हो । अनि मैले जनवाद र लोकतन्त्रका भाषण गर्दा नपत्याउनु ? अस्ति भर्खर आठौं महाधिवेशनमा लोकतन्त्रको सुन्दर अभ्यास गरेर फेरि आफै सर्वसम्मत भएको छु । ओली चितवनमा सर्वसम्मत हुनसके ? सकेनन् नि ! म त सम्मेलन भन्दै भन्दै झ्याप्प महाधिवेशन गरेर सर्वसम्मत भएँ। यो महान् छलाङसम्म नबुझ्ने कस्ता साथीहरू ?

३. अहिले ठेकेदार शारदाप्रसादको रामझुपडीमा र यसअघि सुमार्गीजीका आफन्तको सौजन्यमा निःशुल्क भाडामा बसेर सादा जीवन बिताएको छु। मैले उच्च क्रान्तिकारी भाषण गर्दै हिँड्दा किन कर्णप्रिय मानेर नसुनी नुवाकोट र नगरकोटको बाटोको ठेक्का लिएर काम नगर्ने ठेकेदारको डेरावाला भनेर उडाउने ? यसो गर्न मिल्छ ?

४. मेरो परिवारका सबै सदस्य (छोरी, ज्वाइँ र बुहारी)लाई एकएक वटा राजकीय नियुक्ति र जिम्मेवारी मात्रै त दिएको हो, विरोधीहरूले त्यसलाई दाहालतन्त्र भनी बेकारमा खेदो खन्ने गर्छन्, जनयुद्ध मेरो नेतृत्वमा भएको हो, जसको नीति उसको नेतृत्व र मौरी काढ्नेले नै मह चाट्छ भन्ने पनि नबुझ्ने ? उत्तर कोरियामा किम इल सुङले क्रान्तिको नेतृत्व  गर्नुभयो, आज नातिले राष्ट्रपति र महान् नेता भएर नेतृत्व गरिरहेका छन्। प्रकाश गइहाले, नत्र यहाँ पार्टीको भावी नेतृत्व उनैले सम्हाल्नसक्ने प्रचूर संभावना देखिरहेको थिएँ।हामीले राजतन्त्र फालेर स्थापना गरेको लोकतान्त्रिक गणतन्त्रमा बिना मन्त्री नभएर हिमानी त हुने होइन नि ! हाम्रो यति सुन्दर अभ्यासको पनि साथीहरूले प्रशंसा नगर्ने ?

५. एमसीसी संझौता २०७४ मा देउवाजीलाई मैले प्रधानमन्त्री बनाएपछि महराले वार्ता गरी टुंग्याएर हाम्रै सल्लाहमा ज्ञानेन्द्रबहादुर कार्कीले अमेरिकामा सही गरेको हो। अहिले फेरि ओलीलाई हटाएर मैले देउवाजीलाई नै  प्रधानमन्त्री बनाएपछि ४–५ महिनाभित्र संसदबाट अनुमोदन गराउने भनी लिखित कबुलियतनामा पठाएको हो । मने, त्यसबापत हामीले के पाउने हो ? यतिका समय लिंदा पनि कुरा प्रष्ट नभनिदिएपछि यहाँ राँके जुलुश निकाल्न र विरोध गर्न त मैले नै लगाएको हो ! जनताको भावनालाई बुझ्ने म जस्तो अत्यन्त भावुक र विशेष संवेदनशील नेतृत्वलाई उल्टै प्रहार गर्ने ? युद्ध अपराधमा कारबाही नगर्ने भनी अमेरिकीहरूले हामीलाई लिखित कबुल गर्नुपर्दैन त ?

६. सर्वोच्च अदालत र त्यसका प्रधानन्यायाधीशले त गठबन्धनको लाचारछायाँजस्तै बनेर पो काम गर्नुपर्छ। हामीले जेजे भन्छौं, परमादेशजस्तै सोसो पो फैसला गरिदिनुपर्छ। ‘मैले दीपक कार्कीलाई प्रधानन्यायाधीश बनाउने र माधवजीले आफ्ना मावली ईश्वर खतिवडा’लाई भावी प्रधानन्यायाधीशको लाइनमा राख्ने, त्यसको लागि चोलेन्द्र श्रीमानले राजीनामा दिने वा घरबिदामा बस्ने मात्र त भनेको हो, त्यति पनि नमानेपछि अदालतमा अराजकता, विकृति र बेथिति बढाएको दोषमा उनीमाथि महाअभियोग दर्ता गर्नु परेन ? यसका निम्ति देउवाजीलाई शनिबार कुन दुःखले मनाइएको छ भनेर नबुझिदिने ?

७. हामी (मोहनजीसमेत)ले जीवनभरि कम्युनिष्ट पार्टीको पसल थापेर अहिले देउवाजीको नेतृत्वमा समाजवादको आधार तयार गर्ने क्रान्तिकारी काम गरिरहेको सामान्य कुरा समेत नबुझ्ने हो त ? यति कुरा पनि नबुझेकाहरूले के राजनीति गर्नु ? कति मेहेनतले यसमा माधवजी, झलजी, विक्रमजी, केसीजी र दुर्गाजीहरूलाई समेत सहमत गराइएको छ । हामीले सकेनौं र सक्दैनौं, ओलीलाई त दिनै भएन, उनी हामीले भनेभन्दा भिन्न देश बनाउने प्रतिगमनको बाटोमा पो लागे ! अब तपाईंले हाम्रो नेतृत्व गरेर कम्युनिस्ट सत्ता र समाजवादचाहिं ल्याउनैपर्यो भनेर देउवाजीलाई सहमत गराएर सात महिनादेखि उहाँको छत्रछाँयामा हामी छौं ! यस तथ्यको आधारमा सत्यमा पुग्न नसक्ने पनि वामपन्थीहरू हुन्छन् ?

८. अब अग्निप्रसादजीले एमसीसी प्रतिनिधिसभामा टेबुल गर्नुपर्छ। ओलीलाई सताउन र असफल बनाउन उहाँहरू (महरा र अग्निजी)ले विशेष जिम्मेवारी पूरा गरिसक्नु भयो। देउवाजीलाई तर्साएर महाअभियोग दर्ता गर्ने ठाउँमा ल्याउन पनि सफल भूमिका खेलिसक्नुभयो, यसको पार्टीले उच्च मूल्यांकन गर्दै दीपक कार्की नेतृत्वको सर्वोच्चबाट युद्धकालीन विचाराधीन मुद्दामा उन्मुक्ति र सफाइ दिलाउने फैसला छिटोभन्दा छिटो गराइने छ।

तर अब एमसीसी ओलीले भोट हालेर पारित गराइदिनुपर्छ, त्यसका निम्ति म सानो बनेर बालकोट जान पनि तयारै छु । राजनीतिमा यस्तो गर्न सक्नुपर्छ। अनि देउवाजीले उहाँको नेतृत्वको गठबन्धन कायम राखी चुनावमा लगेर हामीलाई जिताउने जिम्मेवारी पनि पूरा गर्नुपर्छ। नत्र त हामी न क्रान्तिकारी रहन्छौ न त चुनाव जितेर संसदमा आउनसक्ने अवस्थामै छौं । उहाँहरू दुवैजनाले त्यसो नगरे त हामी चुनावमा जाँदैनौं, फेरि जंगल जान्छौं।

यसपालि जंगल जाँदा माधवजी र विक्रमजीसहित उहाँहरूका सबैलाई साथमै लैजाने कोशिस गर्छौं ! अनि हेर्नुहोला !


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *