देशभरका मूर्तिकार बुटवलमा : १५ दिनसम्म कला प्रदर्शनी – Nepal Press

देशभरका मूर्तिकार बुटवलमा : १५ दिनसम्म कला प्रदर्शनी

फूलबारी बन्ने भयो ‘मुना–मदन’ बाटिका

रुपन्देही । अंग्रेजलाई हराएको ऐतिहासिक स्थल बुटवलको मणिमुकुन्द सेन उद्यानमा देशभरका १७ जना कलाकारहरुले आफ्नो कला प्रदर्शनी सुरु गरेका छन् ।

१६ दिनसम्म चल्ने यो कला प्रदर्शनीमा उद्यानमा बनाइएको मुनामदन बाटिका उनीहरुले सजाउने छन् ।

ऐतिहासिक, धार्मिक तथा प्राकृतिक सम्पदाहरुको संरक्षण गरी नेपालकै नमुना उद्यानको रुपमा विकास गर्न खोजिएको यो स्थानमा बनाइएको मुनामदन बाटिकामा विभिन्न आकृतिहरु दिएर प्रेमको प्रतिक झक्किने गरी नयाँ क्षेत्र निर्माण गर्न लागिएको हो ।

कार्यशालामा त्यहाँ उपलब्ध रहेका ढुङ्गा तथा वस्तुहरुको प्रयोग गरी विभिन्न आकृतिहरु निर्माण गरिने भएको छ । नेपाल ललितकला प्रतिष्ठान काठमाडौंबाट आएका राष्ट्रियस्तरका कलाकारहरुले फूलबारी पार्कभित्र मुख्य आकर्षकको रुपमा स्थापित हुने गरी बाटिका सजाउने छन् ।

नेपाल ललितकला प्रतिष्ठान काठमाडौंबाट आएका राष्ट्रियस्तरका मूर्तिकारहरुले फुलबारी पार्कभित्र आकर्षक मूर्तिहरु निमार्ण गर्ने प्राज्ञ यमबहादुर थापाले बताए ।

होटल तथा रेष्टुरेन्ट व्यवसायी महासंघका पूर्व केन्द्रीय अध्यक्ष माधव नेपालले आन्तरिक तथा बाह्य पर्यटनको प्रमुख गन्तव्य बनेको फुलबारीमा आउने पर्यटकको संख्या बढाउन झोलुङ्गे पुल निर्माणका लागि डिपीआर तयार भएकोमा खुसी लागेको बताए ।

विदेश र विशेषगरी भारतबाट नेपाल घुम्न आउने पर्यटकहरुले झोलुङ्गे पुल मन पराउने भएकाले विदेशी पर्यटकलाई लक्षित गर्दै झोलुङ्गे पुल निर्माणले यहाँको पर्यटन विकासमा बल पुग्ने उनको भनाइ थियो ।

बुटवल उपमहानगरपालिका–२ स्थित फुलबारी पार्कलाई लुम्बिनी प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने लक्ष्य लिइएको उद्यानका अध्यक्ष खेमप्रसाद लुइँटेलले जानकारी दिए ।

लुइँटेलले प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा विकास भएको ऐतिहासिक फुलबारी क्षेत्रको विकासका लागि तीन तहकै सरकारले सहयोग गर्नुपर्ने बताए । २ वर्ष पहिले नै मूर्तिकला कार्यशाला सुरु गर्ने तयारी गरिएको भएपनि कोरोना महामारीका कारण स्थगित गरिएको उनले बताए ।

पाँच सय वर्ष पहिला सेन वंशीय राजाको दरबार रहेको साथै दुई सय पचास वर्ष पहिले स्वामी नारायण बसेको ठाउँ समेत रहेकाले फुलबारी क्षेत्रको विकास गरी नेपाल आउने बिदेशी पर्यटकहरुको प्रमुख आकर्षणको केन्द्र बनाउने योजनासहित अगाडि बढेको लुइँटेलको भनाइ छ ।

२ वर्ष अगाडि तय गरिएको मूर्तिकला कार्यशाला अहिले संक्रमणमा केही कमी आएपछि संचालन गरिएको हो । समितिले २०७६ चैत्रमा तय गरेको कार्यशाला र राष्ट्रिय पार्क सम्मेलन कोरोनाका कारण स्थगित गरिएको थियो ।

पर्यटन क्षेत्रको विकासका लागि मूर्तिकला कार्यशालाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास गर्दै स्थानीय विकासको काममा दलीय तथा निहीत स्वार्थ नराख्न उनले आग्रह गरे ।

नेपालमा रहेका प्रमुख पर्यटकीय गन्तव्यहरु भन्दा छुट्टै ऐतिहासिक पहिचान बोकेको फुलबारी क्षेत्रको विकासका लागि तीन तहकै सरकारले सहयोगको खाँचो रहेको लुइँटेलको भनाइ छ । उनले अंग्रेजलाई पराजित गरेको जितगढी किल्ला र पाँच सय वर्ष पहिलाका सेन वंशीय राजाको दरबार रहेको पार्क बिदेशी पर्यटकहरुका लागि पनि प्रमुख आकर्षणको केन्द्र रहेको दावी गरे ।

उद्यानका संस्थापक सदस्य तथा संविधानसभा सदस्य नेत्र पन्थीले शहरको विकास सँगसँगै मनोरञ्जनका क्षेत्रहरुको पनि बिकास गर्न आवश्यक रहेको उल्लेख गर्दै शहरको विकाससँगै पर्यटकीय क्षेत्रको विकास र विस्तारलाई अबको योजनमा राखेर अगाडि बढ्नुपर्ने बताए । ‘हाम्रा वरिपरी रहेका पार्क तथा ऐतिहासिक क्षेत्रहरुलाई पहिचान गरी संरक्षणसँगै नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नुपर्छ ।’ उनले भने ।

उद्यानका संस्थापक अध्यक्ष तथा लुम्बिनी प्रदेश सांसद भोजप्रसाद श्रेष्ठले यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकहरूलाई पुनः आउले बनाउनका लागि यस क्षेत्रमा रहेका स्रोतसाधनहरुको प्रयोग गर्दै नयाँ सोचका साथ काम गर्नुपर्ने बताए । कोरोना महामारीले थला परेको पर्यटन क्षेत्रलाई उकास्नका लागि सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने श्रेष्ठले बताए । पर्यटकीय पार्कहरूको विकास र प्रवद्र्धन गर्न आफूले सहयोग गर्ने प्रतिवद्धता जनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर