५ कविका ५ प्रेममय कविता
कविहरू नै हुन्, जसले शब्दलाई कोमल तरिकाले स्पर्श गर्छन्, महसुस गर्छन् र शब्दको सामर्थ मानिसलाई अवगत गराउँछन् ।
कविहरू नै हुन्, जसले शब्दको शक्ति प्रयोग गरेर सम्बन्धहरूलाई जोड्छन्, हाँसो/आँसुहरूलाई अर्थ्याउँछन् ।
आज प्रणय दिवसको अवसर पारेर प्रेमानुभूतिको गहिरो प्रतिध्वनी महसुस गराउने पाँच कविका पाँच प्रेम कवितालाई प्रस्तुत गरेका छौं :
१.
दिपा मेवावहाङ राई
आगमन
एक साँझ
दूर-दूरबाट यसरी आयौ
अग्लो सपनाको पहाडमाथि उभ्याएर
सुस्त-सुस्त बतास भई स्पर्श गर्यौ
मन-मस्तिष्क विभोर बन्यो
तर,
पुनः गयौ उसैगरी दूर-दूर….
चढ्नुजतिको सजिलो
सायद झर्नुमा कदापी थिएन
नत्र सदियौंबाट लगातार-लगातार
तलतिर बगिरहेको त्यो खोलालाई पनि
फर्किएर मुल भेट्ने चाहना कसो थिएन होला ?
जसरी म राख्छु
तिमीसँग सुन्दर भेटको चाहना
तिमीले छोडिगएपछि
तिम्रा पैतालाका डोबहरुलाई
कहिले बादलसँग बर्सिएर
कहिले चिसो हिउँ भई पग्लिएर
कहिले उजाड मरुभूमि भई उजाड बनेर
पछयाइरहेँ,
पछ्याइरहेँ निरन्तर-निरन्तर…
पदचापका गन्तव्यहरूमा
केही आशा-भरोसाका
मिठो अठोट लिएर अगाडि बढेका थिए
अचानक,
यात्राहरूको घुमाउरो घुम्तीमा पुग्दा नपुग्दै
पाइलाहरु अन्तै मोडिन खोजेपछि
टुङ्गिनु स्वभाविक थियो
एक निश्चित गन्तव्यको यात्रा…
एक साँझ
तिमी यसरी आयौ
खुशी बोकेर आउनु पर्ने तिमी
बादलमाझ उग्र बतास लिएर आयौ
प्रिय मानव !
मलाई तिम्रो खुशीको आगमन मन पर्छ ।
२.
अन्जान प्रदीप
चिठ्ठीभित्र…
बाफिला सम्झनाहरूले
सिसाजस्तो हृदयमा
म यौटा चिठ्ठी लेखिरहेछु
म स्वर हुँ –
तिम्रो विद्रोहको
म संगीत हुँ –
तिम्रो ढुकढुकीको
म निद्रा हुँ –
तिम्रो छटपटीको
म शब्द हुँ –
तिम्रो अनुभूतिको
म रहस्य हुँ –
तिम्रो हृदयको
म पर्दा हुँ –
तिम्रो झूठको
म ताप हुँ –
तिम्रो चिस्याहटको
म दाग हुँ –
तिम्रो शुष्क घाउको
म परिपूर्णता हुँ –
तिम्रो शून्यताको
म आवाज हुँ –
तिम्रो मौनताको
म अन्त्य हुँ –
तिम्रो आरम्भको
म छाती हुँ –
तिम्रो दरिलो दम्भको
म विरह हुँ –
तिम्रो आँखाको
म मुस्कान हुँ –
तिम्रो कुटिलताको
म आकार हुँ –
तिम्रो अनुहारको
प्रिय अपरिचित !
तिम्रो बेठेगान ठेगानामा
पुगेको यो बेबारिसे चिठ्ठीभित्र
मैले आफ्नो परिचय पठाएको छु
जसलाई तिमीले –
अक्षरहरु पग्लिएर नसकिँदै पढेर च्यातिदिनु छ ।
३.
शकुन आँसु
हजुरसँग
आफैंलाई हराइरहेको थिएँछु
बेठेगान बतासहरूमा
हजुर आउनुभयो
र फेरि भेट्टाएको छु आफूलाई
हजुरको उपस्थिति भएदेखि हो
बगिरहने यी आँखाहरु ओभानो भएको
एक थुंगो रातो गुलाब ओंठमा आई फुलेको
हृदयमा प्रेमाङकुर उम्रिन थालेको
र बाँचिरहनका लागि लोभ जागेको
बिस्तारै हिँड्दै जाउँला
हतारले पुग्न कहिँ मन लागेको छैन
जसरी कुलोहरू कुदेर खेतमा पुगिजान्छन्
र भरिएर पोखिँदै-पोखिँदै सकिन्छन्
त्यसै पनि दौडिँदा-दौडिँदा थाकेको यायावर म
हजुर चौतारो भई बसिदिनु एकछिन
जीवनका कैयौँ थकानहरू यहीँ मेट्न चाहन्छु
संसारका स्वर्णिम सुखहरू यसैमा समेट्न चाहन्छु
आँखा चिम्म गर्दा
देखिने प्रतिबिम्ब पनि हजुरकै छ
सपनामा बर्बराउने नाम पनि हजुरकै छ
दुख्दा रुने पनि हजुरसँगै हो
खुसी हुँदा उफ्रिने पनि हजुरसँगै हो
आफैंलाई त बिर्सेको बेला मैले
कसरी सम्झिन सक्छु र मेरा वरिपरिकालाई !
र उनीहरूका सवाललाई
‘प्रेम अन्धो हुन्छ’को कथन
ठीक यतिबेला यहिँनेर घुमिरहेको छ सायद
हेरिरहन्छु दुनियाँ
तर, देख्दिनँ केही, अन्धो छु म
बोकेर हिँडौला अब
एक ब्रहमाण्ड माया
पृथ्वी भई घुमिरहने दुश्मनहरू घुमिरहुन्
खुल्ला आकाश भई आफ्नाले हेरिरहुन्
पर्खिनेहरूले चुपचाप धरती भई पर्खिरहुन्
जित्नु कसैलाई छैन
हार्नु कसैसँग छैन
बस् हामी भएर एकजोर यात्रा हिँड्नु छ
हिँड्दाहिड्दै पुग्नु त कहिँ न कहिँ छँदैछ ।
४.
देव व्रत
संसारबाहिर
खचाखच थिए उदासी, तडप र छटपटीहरू
अटाइनँ म आफ्नै कोठामा
सडकमा निस्किएँ
हिँडिरहेका थिए केही एक्लाएक्लै मान्छेहरू
टाढा गैजाने विलाप गरिरहेका थिए बच्चु कैलाश
अँध्यारा कोठाबाट भित्ता चर्किनेगरि
सुनिन्थ्यो बब डिलनको रोदन
अन/अफ/अनको तालमा नाचिरहेका थिए बत्तीहरू
सुनसान थियो चोक
बन्द थिए किराना पसल र कफी सपहरू
पर मधूरो बत्ती बालेर
स्वगातार्थ उभिएको थियो भट्टी
त्यहाँ केही नयाँ मान्छेसित परिचय भयो
हामीले देशका कुरा गर्यौं
प्रेमका कुरा गर्यौं
सराप्यौं युनिभर्सिटीका प्रोफ्रेसरहरूलाई
एकअर्कालाई गाली गर्यौं
जौन एलिया गुन्गुनायो कसैले
अंकमाल गर्दै रोयौं पनि
निस्किने बेला
पुगेन अलिकति दाम
साहूले सोधेन ठेगाना
पुर्ख्यौली थलो
उठायो खाता र चढाइदियो नाम
(उहिल्यै खै कुन्नि कता भेट भएथ्यो एकपल्ट)
गल्लीका कुकुरहरूसँग बसेर
खाएँ टुटफुट बिस्कुट
केही प्रोस्टिच्युटहरू आए,- जो तिमी जत्तिकै राम्रा थिए
हामीले सम्बन्धका कुरा गर्यौं
सपनाका कुरा गर्यौं
जिन्दगीका कुरा गर्यौं
पुगें गजल साँझ
पुछिदिएँ जगजित सिंहका आँसु
गल्लीहरूले गरे वार्ता मसित
बागमतीले गाइरह्यो गीत
चुरोटको धुवाँसँगै बुकावस्कीहरू
ओझेल पर्दै गए अँध्यारोमा
तिम्रो वियोगमा
निस्किएँ कोठाबाट
र थाहा पाएँ मैले
संसार त दुःखीहरूको पनि सुन्दर हुँदो रहेछ ।
५.
पुष्कर विष्ट
यादहरुको कारागार
उडेर गएपछि केही थान हावाका फूलहरू
तिमी हिँडेको बाटो
फर्किएका हुन् मेरा आँखाहरु
क्षित्तिजको धूमिल धूमिल दृश्य हेर्न
कयौं पथिकका पैतालाले मेट्दै गए होलान्
हाम्रो मुटुका छापहरू
जहाँ हामीले जोडी हातले लेखेका थियौं हाम्रो नाम
म यसरी हेरिरहेछु तिमी गएको अन्तिम दृश्य !
कुन्नी खेै कताबाट आएको छ एउटा विरह धून
ठिक यही बखत मेरो कानसम्म
यस्तो लाग्छ मुटु रेटिएर आएको छ आवाज
आँखा बर्सिएर बजेको छ सरगम
तिमीले छोडेर गएदेखि त हो !
मेरा आँखाहरुले कुनै करुण संगीतको साधना गर्न थालेको
र त हाम्रा जोडी पैतालाका डोबहरूमा आज पनि प्रेमिल गीत बज्ने गर्छ तिम्रा पाउजुका झंकारसँगै
ओ मान्छे !
मलाई यसरी नै हेरिरहनु छ तिमी गएको अन्तिम दृश्य र लेखिरहनु छ दिल टुटेका शब्दहरु
बनाउनु छ यादहरुको एउटा कारागर
जहाँ थुन्न सकुँ म हाम्रो सम्बन्धको अनौठो रहस्य ।