भर्चुअल प्रेमको पासोमा परेर ठगिँदै युवतीहरू – Nepal Press

भर्चुअल प्रेमको पासोमा परेर ठगिँदै युवतीहरू

घटना-१

अस्मिता कार्की (नाम परिवर्तन) को दिनचर्या सामान्य चलिरहेको थियो । फेसबुक चलाइरहने अस्मितालाई एक दिन एक विदेशी नामबाट ‘फ्रेन्ड रिक्वेस्ट’ आयो । अमेरिकी आर्मीको ड्रेस लगाएर प्रोफाइल पिक्चर राखेका ती व्यक्तीसँग केही नसोची उनी फेसबुकमा जोडिइन् ।

उनीहरूबीच कुरा हुन थाल्यो । भर्चुअल दुनियामै अस्मिता ती पुरुषको प्रेममा डुबिन् । आफूलाई अमेरिकी भनेर चिनाएकी ती व्यक्तिले अस्मितालाई चाँडै अमेरिका लैजाने आश्वासन दिन थाले । एक दिन उपहारस्वरूप हिरा र डलर पठाइदिन लागेको भन्दै फोटोसमेत पठाएपछि अस्मितामा खुसीको कुनै सीमा रहेन ।

केही दिनमा भारतबाट कर अधिकृतले भन्सार तिर्नुपर्ने भएकाले सामान रोकिएको भन्दै अस्मितालाई सम्पर्क गरे । विभिन्न ठाउँमा तिर्नुपर्ने करको रकमबापत अस्मिताले खोजखाज गरेर चर लाख रूपैयाँ पठाइन् । त्यसपछि आफूलाई अमेरिकन आर्मी बताउने ती पुरुष र कर अधिकृत बताउने अर्का व्यक्ति पनि सम्पर्कबाहिर भए । त्यसपछि अस्मिता रुँदै गत मंसिरमा प्रहरी कार्यालय पुगिन् ।

घटना-२

संगीता मगर (नाम परिवर्तन) एक दिन विदेशी पुरुषसँग सामाजिक सञ्जालमा जोडिइन् । आफूलाई अफ्रिकी मूलको बताउने ती पुरुष बेलायतमा बसिरहेको भन्दै संगीतालाई विभिन्न प्रलोभन दिन थाले । उनका प्रेमिल शब्दहरूमा संगीता डुब्दै गइन् । नेपालमै आएर विवाह गर्ने र यहीँ व्यापार गरेर बस्ने उनी संगीतालाई बताउँथे ।

एकदिन उनले आफूसँग धेरै पैसा भएको तर बोकेर ल्याउन नमिल्ने भन्दै संगीताको बैंक खाता मागे । तर, त्यो रकम भारतबाट मात्र झिक्न मिल्छ भने । प्रेममा लठ्ठ भएकी संगिताले उनलाई अह्राएबमोजिम आफ्नो एटीएम कार्डसमेत कुरियर गरेर भारत पठाइन् ।

त्यसपछि अन्य नेपालीहरूले पठाएको रकम आफ्नो खातामा जम्मा भएको र झिकिएको पाइएपछि संगीता झस्किइन् । त्यतिबेलासम्म उनलाई प्रेम गर्ने व्यक्ति सम्पर्कबाहिर भइसकेका थिए । माघमा उनले प्रहरीमा उजुरी दिएकी छिन् ।

घटना-३

आफूलाई चिकित्सक बताउने बेन्जामिन फ्रान्कलिन नाम गरेको फेसबुक आईडीबाट सुरक्षा गिरी (नाम परिवर्तन) लाई फ्रेन्ड रिक्वेस्ट आयो । उनीहरूबीच ह्वाट्सएपमा समेत कुरा हुन थाल्यो । आफू रोमानियामा रहेको, श्रीमतीको सवारी दुर्घटनामा मृत्यु भएको बताउँदै उनले सुरक्षालाई प्रेम जालमा पार्न सुरू गरे ।

बेन्जामिनको प्रत्येक झूटमा सुरक्षाले विश्वास गर्न थालिन् । एक दिन उनले आफू मेडिकल कोर्स गर्न मलेसिया जान लागेको बताए । सुरक्षाले त्यो पनि पत्याइन् । मलेसियामा पुगेको भने, त्यो पनि पत्याइन् । अनि मलेसियामा आफू स्थानीयबाट लुटिएको बताउँदै उनले सुरक्षासँग पैसा माग्न थाले । सुरक्षालाई विभिन्न नेपालीको अकाउन्ट नम्बर दिइएको थियो । आश्चर्य त के छ भने उनले ९ जना नेपालीको बैंक खातामा एक करोड २२ लाख रूपैयाँ जम्मा गरिन् ।

सुरक्षाले आफन्त र साथीभाइहरूसँग मागेर त्यो रकम जम्मा गरेकी थिइन् । एकै व्यक्तिको नाममा उनले ७८ लाख रुपैयाँसम्म जम्मा गरेकी थिइन् । यसरी सुरक्षाले पैसा जम्मा गरेका नेपाली खाताका होल्डरहरूमध्ये धेरैलाई थाहा पनि थिएन कि अन्य नेपालीबाट ठगिएको रकम उनीहरूको खातामा जम्मा भएको थियो ।

०००

सामाजिक सञ्जालमार्फत ‘फेक लभ’ नेपाली युवतीहरू ठगिएका यी तीन प्रतिनिधिमुलक घटना मात्र हुन् । यस्तै प्रकृतिका घटनाहरू हरेक दिन भइरहेका छन् र नेपाली युवतीहरू विदेश जान पाउने आश, महँगा गरगहना र डलर पाउने आशामा ठगिइरहेका छन् । सामाजिक सञ्जालमा विश्व जोडिएको यो समयमा धेरै सम्बन्धहरू ‘यही प्लेटफर्म’ बाट अगाडि बढेका पनि छन् । तर, आपराधिक मानसिकता भएकाहरूले सामाजिक सञ्जालमा कसरी दुरुपयोग गरिरहेका छन् भन्ने पनि बुझ्न जरुरी हुन्छ ।

‘ठगी गर्ने गिरोहले नेपाली युवतीको मनोविज्ञान बुझेर उनिहरूसँग खाता नम्बर माग्ने कि पार्सल पठाइदिएको छु भनेर पैसा माग्ने भन्ने निर्णय लिने गरेको पाइन्छ’, काठमाडौं प्रहरी परिसरका प्रवक्ता दिनेश मैनाली भन्छन् ।

नेपालीबाट ठगिएको पैसा जम्मा गर्न विभिन्न बहाना बनाएर अन्य नेपालीको बैंक खाता फुत्काउने र त्यसबाट पैसा निकाल्न लगाएर गन्तव्यसम्म पुर्‍याइने गरिएको अनुसन्धान अधिकारी बताउँछन् ।

‘यस्ता गिरोहमा नेपाली र विदेशी दुवै संलग्न रहेको देखिन्छ। विदेशीले आफू बच्न नेपालीलाई प्रयोग गर्ने गरेको पाइएको छ’, एसपी मैनालीले भने । उनी जस्तोसुकै प्रलोभन देखाएपनि कसैलाई पनि आफ्नो बैंक खाता नदिन आग्रह गर्छन् ।

‘यस्ता गिरोहसँग कसरी फकाउन सकिन्छ भन्ने मास्टर माइन्ड हुन्छ। उनीहरू विश्वासको जालमा पार्न हदैसम्म प्रयास गर्छन्’, मैनाली भन्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *