देशवासीलाई युक्रेनी राष्ट्रपतिको सम्बोधन : रुसले ४८ घण्टाभित्र आक्रमण गर्न सक्छ, तयार रहनू
सम्भावित युद्ध रोक्न जर्मन चान्सलर मस्कोमा
मस्को । रुस र युक्रेनबीचको विवाद उत्कर्षमा पुगेको छ । युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले रुसले फेव्रुअरी १६ मा आफ्नो देशमाथि हमला गर्न सक्ने चेतावनी दिएका छन् ।
दुई मुलुकबीच तनाव चुलिएको बेला युक्रेनी राष्ट्रपतिको यो अभिव्यक्तिलाई महत्वपूर्ण घोषणा र संकेतको रुपमा लिइएको छ । साथै, उनले रुसले आक्रमण गर्न सक्ने भन्दै नागरिकलाई एकताबद्ध हुन र राष्ट्रिय गीत गाउन समेत अपिल गरेका छन् ।
उनको घोषणाअनुसार आगामी ४८ घण्टाभित्र रुसले जतिबेला सुकै आक्रमण गर्न सक्छ । राष्ट्रको नाममा सम्बोधन गर्दै राष्ट्रपति जेलेन्स्कीले सामाजिक संजालमा भिडिओ पोस्ट समेत गरेका छन् ।
उनले पोस्टमा भनेका छन् : रुसले फेव्रुअरी १६ मा हामीमाथि आक्रमण गर्न सक्छ र हामीले एकता दिवस मनाउनेछौं ।’
अमेरिकी खुफिया एजेन्सीले पनि यसअघि नै रुसले युक्रेनमाथि बुधबार हमला गर्न सक्ने चेतावनी दिएको थियो ।
सम्भावित युद्ध रोक्न जर्मन चान्सलर ओल्फ स्कोल्ज मंगलबार मस्को पुगेका छन् । उनले संवादका लागि पश्चिमा मुुलुकहरु खुला रहेको बताउँदै यदि युक्रेनमाथि हमला भए प्रतिबन्धहरु लगाउन सकिने चेतावनी पनि दिएका छन् ।
मंगलबार उनले मस्कोमा राष्ट्रपति पुटिनसँग युक्रेन संकटलाई लिएर वार्ता गर्ने अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।
रुसले पूर्वी युक्रेनमा रहेका आफ्ना नागरिक मारिए हमला गर्ने चेतावनी समेत दिएको छ । अमेरिकाले बेलारुसमा रहेका आफ्ना नागरिकलाई जतिसक्दो चाँडो मुलुक छाड्न भनेको छ ।
अमेरिकाले मंगलबार युक्रेनलाई १ बिलियन ऋण सहायता दिने घोषणा गरेको छ । अर्कोतर्फ जापानले पनि युक्रेनमाथि हमला गरिए रुसलाई प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।