एमसीसीबारे बोले गगन- ओली सरकारले ल्याएको प्रस्ताव संसदले अनुमोदन गर्नुपर्छ (भिडिओ) – Nepal Press

एमसीसीबारे बोले गगन- ओली सरकारले ल्याएको प्रस्ताव संसदले अनुमोदन गर्नुपर्छ (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमसीसी प्रकरणमा मुख खोलेका छन् ।

लामो समय एमसीसीबारे सार्वजनिक अभिव्यक्ति नदिएका थापाले संसद भवनमा पत्रकारहरूसँग कुराकानी गर्दै अमेरिकी सहयोग सम्झौता अनुमोदन गर्नेबारे केपी शर्मा ओली नेतृत्वको सरकारले संसदमा दर्ता गरेको प्रस्ताव पारित हुनुपर्ने बताए ।

एमसीसी सम्झौता तत्काल नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको सरकारले नै संसदमा पेस गरेको भन्दै महामन्त्री थापाले हालको एमाले, माओवादी वा समाजवादी पार्टीसमेत एमसीसीको पक्षमा उभिनुपर्ने बताएका हुन् ।

‘२०७५ साल माघ २५ गते नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट निर्वाचित सांसद एवं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले एमसीसी संसदबाट अनुमोदन गराउने र दातृ निकायलाई त्यसबारे जानकारी गराउने निर्णय गरेको रहेछ । सोहीअनुसार एमसीसी सम्झौता २०७६ असार ३० गते संसदमा दर्ता भएको देखिन्छ । कांग्रेसले प्रतिपक्षमा हुँदै २०७६ मा एमसीसी सम्झौता संसदमा टेबुल हुनुपर्ने निर्णय गरेको सन्दर्भलाई समेत स्मरण गरी अबको संसद बैठकमा सो सम्झौता टेबुल हुनुपर्छ’, थापाले भने ।

उनले एमसीसीलाई संसदसम्म पुर्‍याउने नेताहरू आफ्नो जिम्मेवारीबाट भाग्न नमिल्ने समेत बताए ।

‘हिजो एउटै पार्टीमा हुँदा उहाँहरूकै नेतृत्वको सरकारले एमसीसी सम्झौता संसदबाट अनुमोदन गराउने निर्णय गरेको देखिन्छ । त्यसप्रति आज जुनसुकै पार्टीमा भएपनि उहाँहरुले प्रतिबद्धता पूरा गर्नुहुने विश्वास छ’, थापाको भनाइ छ ।

उनले कांग्रेसले प्रतिपक्षमा छँदै एमसीसी अनुमोदनको पक्षमा निर्णय गरिसकेको भन्दै सरकारमा पुगेपछि कांग्रेसको धारणा नबदलिएको बताए ।

महामन्त्री थापाले संसदीय दलको बैठकमा बोल्ने क्रममा पनि एमसीसीमा सबै दलहरुको संलग्नता पुष्टी भइसकेकोले एमाले, माओवादी वा समाजवादीले उन्मुक्ति नपाउने बताएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर