गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ६ गते क्यालिब्रेसन फ्लाइट (भिडिओसहित) – Nepal Press

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ६ गते क्यालिब्रेसन फ्लाइट (भिडिओसहित)

रुपन्देही । रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा फागुन ६ गतेदेखि क्यालिब्रेसन फ्लाइट हुने भएको छ । क्यालिब्रेसन दिउँसोको समयमा हुने भएपछि नियमित उडान तालिका केही दिनको लागि प्रभावित हुने भएको छ । फागुन ६ गतेदेखि १५ गतेसम्म विमानस्थलबाट ४ बजेपछि मात्र उडान हुने भएको हो ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालका अनुसार ६ गतेदेखि क्यालिब्रेशन फ्लाइट हुने भएकोले नियमित रुपमा हुने आन्तरिक उडान ४ बजेपछि मात्र हुने भएको हो ।

क्यालिब्रेशन फ्लाइटको लागि मौसम सफा चाहिने र त्यसैले ४ बजेसम्म नियमित उडान रोकेको उनको भनाइ छ । गौतमबुद्ध विमानस्थलको भौतिक निर्माण तथा उपकरण जडानसम्बन्धी कार्य सम्पन्न भइसकेको छ । उडानका समयमा गौतमबुद्ध विमानस्थलमा उडान तथा अवतरण समय ढिलो हुने भएकाले सम्बन्धित वायुसेवा कम्पनी तथा यात्रुलाई पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमा मागेको छ । परीक्षण उडानपश्चात यो विमानस्थमा व्यवसायिक उडान गर्ने तयारी गरिएको छ ।

भैरहवाबाट आन्तरिकतर्फ काठमाण्डौं, पोखरा र भरतपुरका लागि नियमित उडान हुने गरेको छ । दैनिक रुपमा अहिले २५ वटासम्म हुने उडान क्यालिब्रेशन फ्लाइटको समयमा प्रभावित हुने भएका छन् ।

विमानस्थल आयोजना प्रमुख इन्जिनियर प्रवेश अधिकारीका अनुसार क्यालिब्रेसन फ्लाइटका लागि सबै तयारी भएको र प्राविधिक चेकजाँचका लागि पनि आइसकेको बताए ।

लामो समयको प्रतीक्षापछि भैरहवास्थित निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन फ्लाइट हुन लागेको हो ।

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको उक्त विमानस्थलमा १० दिनसम्म सो उडान सञ्चालन हुन लागेको हो । प्राधिकरणले आज सार्वजनिक सूचना प्रकाशित गरी ‘क्यालिब्रेसन फ्लाइट’ हुन लागेको जानकारी दिएको छ ।

उडानको जिम्मेवारी एरोनटिकल रेडियो अफ थाइल्याण्ड (एरो थाई)ले पाएको छ । एरो थाइको जहाज फागुन ५ गते काठमाडौँस्थित त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *