कार्यव्यवस्था परामर्श समिति बैठकमा एमाले अनुपस्थित – Nepal Press

कार्यव्यवस्था परामर्श समिति बैठकमा एमाले अनुपस्थित

काठमाडौं । सभामुख अग्नि सापकोटाले बोलाएको कार्य व्यवस्था परामर्श समितिको बैठकमा प्रमुख प्रतिपक्ष नेकपा एमाले अनुपस्थित भएको छ । सम्भावित कार्यसूची तय गर्न बसेको बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा एक घण्टादेखि जारी छ ।

एमालेले कारबाही गरेका १४ जनालाई पदमुक्त नगरेको भन्दै एमालेले सदन अवरुद्ध गर्दै आइरहेको छ । पार्टी फुटाउन सभामुखले भूमिका खेलेको भन्दै एमालेले निरन्तर विरोध गरिरहेको छ ।

आफूहरूको माग सम्बोधन नभएको हुँदा बैठकमा नगएको एमाले प्रमुख सचेतक विशाल भट्टराईले नेपाल प्रेसलाई बताए । ‘यही अवस्थामा संसदीय गतिविधिमा भाग लिँदैनौं’, उनले भने ।

गठबन्धनबीचका दलमा मत बाझिएपछि प्रधानमन्त्रीले पेस गर्न चाहेको एमसीसी आजको बैठकमा टेबल नहुने भएको छ । जबरजस्ती गरिए आफूले सरकार छाड्ने र गठबन्धन भत्किने माओवादी संसदीय दल बैठकले निर्णय गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफलमा एमसीसीबारे गठबन्धनभित्र निर्णायक छलफल गर्ने सहमति भएको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर