आर्यघाटका असली पशुपतिप्रसादहरू (भिडिओ) – Nepal Press

आर्यघाटका असली पशुपतिप्रसादहरू (भिडिओ)

काठमाडाै‌ं। पशुपति आर्यघाट पुग्नासाथ जोकोहीको नजर लहरै राखेर जलाइरहेका लाशहरुमा पुग्छ । त्यसपछि लासहरुबाट पुत्पुताइरहेका धुवाँहरुमा। अलि ध्यान दिएर हेर्दा लासलाई हरियो बाँसले कोट्याइरहेका मानिसहरुमा । गम खाएर हेर्दा छेवैमा आफ्नाको वियोगमा रोइरहेका आफन्तहरुमा। आफन्तलाई सान्त्वना दिइरहेका आफन्तका आफन्तहरुमा ।

कोही बाकसमा लमतन्न परेका लास छेउमा रोइरहेका, कोही रोइरहेकालाई थप्थपाइरहेका । कोही एकोहोरो शंख फुक्दै हरियो बाँसमा लास ल्याइरहेका। बिहान होस् या दिउँसो, साँझ होस् या मध्यराती, आर्यघाटको सदावहार दृश्य हुन् यी ।

भर्खरै पोलिसकिएका लासहरुमा आगो निभिसकेको हुँदैन । त्यहाँ पानी खन्याइरहेका हुन्छन् । खरानी र बाँकी रहेको कोइला–काठलाई तल बागमती खोलामा सुत्त फ्याँकिदिन्छन्। लाइनमा बसेको अर्को लास लगत्तै आइपुग्छ । र उही प्रक्रिया सुरु हुन्छ ।

खोलामा धमिलो पानी बगिरहेको हुन्छ। धमिलो पानीमाथि फूलका मालाहरु, टपरीहरु बगिरहेका हुन्छन् । त्यही पानीमाथि लास पोलिसकेपछि पानीमा फालिएका कोइला–काठ तैरिरहेका हुन्छन् ।

घुँडाघुँडाको पानीमा माझी बनेर एक युवा आइपुग्छन् पारी किनारबाट । खुट्टामा गमबुट लगाएका, खैरो ट्राउजर बटारेर घुँडाभन्दा माथि नै पुर्‍याएका, मुखमा मास्क अनि शिरमा टोपी लगाएका र कानमा इयरफोन कोचेका ती युवाको साथमा सानो डुंगा छ । त्यो डुंगाले मान्छे होइन, कोइला–काठलाई नदीको पारी किनारमा तार्छ ।

त्यो रोदन, क्रन्दन र जलिरहेको लास सामुन्ने तिनले कुन गीत सुनिरहेका होलान् कानमा सेतो इयरफोन कोचेर ? वियोगी गीत कि रोमान्टिक ? वा, लोफी कि सुफी ? अथवा, रक कि पप ? उनको जवाफ छ,– ‘जस्तो पनि गीत सुन्छु । गीतले बाहिर के भइरहेको छ केही था दिँदैन । जस्ट काम गरिरहन सजिलो हुन्छ ।’

उनको घर भक्तपुर हो । यता गोठाटारमा तीनजनाको परिवारसहित बस्छन् । राति नौ–दश बजेतिर कोठामा पुग्छन् । बिहान पाँचै बजे उठ्छन् । चिसो पानीमा चोबलिएर त्यही सानो डुंगामा कोइला–काठलाई पारी किनारमा पुर्‍याउँछन् ।

०००

फिल्म ‘पशुपतिप्रसाद’मा एक दृश्य छ । उक्त दृश्यमा मुल पात्र पशुपतिप्रसाद हनुमानकहाँ जान्छ । हनुमानलाई आफूले जागिर पाएको खुसीको खबर सुनाउँछ । ‘कस्तो जागिर’ भनेर हनुमानले सोधेको प्रश्नमा उनको जवाफ छ, ‘ऊ त्यहाँ लास पोलेर फालेका मुढा बटुल्ने काम ।’

फिल्ममा एकातिर पशुपतिप्रसाद छ, अर्कातिर हनुमान र अर्कातिर भस्मे । आर्यघाटमा चार वर्षदेखि कोइला–काठलाई वारीपारी गरिरहेका असली पशुपतिप्रसादले पनि हनुमान देखेका छन् । तर, उनलाई हनुमानसँग बोल्ने, आफ्नो कुरा सुनाउने फुर्सद छैन ।

उनको सपना पनि ठूलो छैन, निरन्तर काम गर्न पाए पुग्यो ।

यता फिल्ममा जस्तै पशुपतिमै बसेर लफडा गर्ने फिल्मी भस्मे भने देखेका छैनन् । खैर, फिल्मको कहानीमा फिक्सनको प्रवेश हुनु नौलो कुरा भएन ।

तर, असली पशुपतिप्रसादले काम गरिरहेको ठाउँमा बेलाबेला असली भस्मे डनहरु आइपुग्छन् । अगाडि क्यामेरा तेर्साउँछन् र लगालग प्रश्न सोध्छन् । फुटेजहरु लिन्छन् । लगेर युट्युबमा हाल्छन् । युट्युबमा अपलोड भएको उक्त भिडियोको हेडलाइनको आशय हुन्छ,– आर्यघाटमा लास पोलेर बाँकी रहेको काठ ठूल्ठूला होटेलमा सेकुवा, मकै पोल्नलाई लगिन्छ ।

युट्युबमा सार्वजनिक भएपछि अनेक कमेन्टहरु आउँछन् । अनेक प्रश्नहरु आउँछन् । पशुपतिका दाउरा मात्रै वारीपारी गर्ने निरीह पशुपतिप्रसादहरुले सबै प्रश्नको जवाफ दिन सक्दैनन् । र अन्ततः कामबाट हात धुनुपर्छ । एकपटक त जागिरबाट हात धोइसकेका पनि छन् ।

हामीले फोटो लिँदा मात्रै पनि आएर अनुरोध गरे, ‘नखिचिदिनुस् । तपाईंहरुले यसरी खिचिदिएर अघिल्लो वर्ष हाम्रो जब छुट्यो । तपाईंहरुले यसरी खिचेपछि हाम्रो रोजीरोटी खोसिन्छ ।’

कानमा इयरफोन कोचेका, रातो टिसर्ट लगाएका अघल्लिो युवकको उमेरले भाइ पर्ने युवक बोले, ‘अहिलेको मान्छे बुझ्दै नबुझी हाम्रो भिडियो हालिदिन्छन् । क्याप्सन चाहिँ यो कोइला लगेर ठूल्ठूलो होटलमा सेकुवा पोल्छ भनेर भन्दिन्छन् । यस्तै भिडियोले हाम्रो जब छुट्यो पहिला पनि ।’

०००

कुरा गरिरहँदा एउटा गाडी कोइला लोड गरेर गयो । गाडीतर्फ इशारा गर्दै भने, ‘ऊ त्यो गाडीलाई पछ्याउनुस् न कहाँ जान्छ । नराम्रो ठाउँमा जाने भए पारी सरकारी अफिस छ, उनीहरुले रोक्ने थिए । विश्वास लागेन भने गाडीलाई सिआइडी बनेर पछ्याउनु न ।’

उनीहरुका अनुसार गाडीमा लोड गरिएका कोइला–काठहरु भक्तपुरका इँटा भट्टामा पुग्छन् ।

‘तर, उनीहरुले होटेलमा सेकुवा, मकै पोल्न प्रयोग हुन्छ भनिदिए । हाम्रो पनि काम हो यो । यसले नै घरपरिवार चलेको छ । नत्र बिहान पाँच बजेदेखि चिसो पानीमा छिर्न कसलाई मन लाग्छ र,’ भाइ चाहिँले भने, ‘नराम्रो काम होइन यो । जो पनि आउँछन्, हेर्छन्, कहाँ जान्छ भनेर प्रश्न गर्छन् । एउटा मान्छेलाई पो जवाफ दिन सकिन्छ, सबैलाई कसरी जवाफ दिनु !’

‘नराम्रो काम भए लुकिछिपी गरिन्थ्यो होला, किन दिउँसो गर्नुपर्‍यो ?,’ उनीहरुका्े प्रश्न छ ।

‘होटेल जान्छ’ भन्ने खालका समाचारले आफूहरुलाई एकदमै अप्ठ्यारो पारेको उनीहरुको दुखेसो छ । सबैले नराम्रो मात्रै भनेको सुन्दा दुःखी हुन्छन्, तर गर्न सक्ने केही होइन । सार्वजनिक गाडीमा चढेर हिँड्दा कसैले ‘के काम गर्छौं’ भनी सोधेको वखत् ‘घाटमा काम गर्छु’ भन्दा नमीठो व्यवहार त उनीहरुले कतिपटक सहे, उनीहरुलाई नै थाहा छैन ।

तिता भोगाइलाई विस्तारमा भन्छन्, ‘बाहिरको मान्छेले मुर्दा घाटमा काम गर्छ भन्छन् । यस्तो हुन्छ, उस्तो हुन्छ भन्छन् । त्यही भएर हामी पहिचान लुकाउँछौं । हामी त काम गर्ने मान्छे हो । यदि कामको सम्मान हुन्थ्यो भने पहिचान खुलाउँथ्यौं होला । तपाईंहरुले पनि हाम्रो नाम नलेखिदिनू ।’

०००

घाटमा काम नगरी पनि उनीहरुलाई सुख छैन । पानीमा काठ धेरै भयो भने ‘फोहोर भयो’ भनेर उनीहरुले नै गाली खान्छन् । काम पनि उनीहरुले नै गर्नुपर्छ, गाली पनि उनीहरुले नै खानुपर्छ ।

जति गालीको वर्षा भए पनि कोइला–काठ टिपेरै महिना मज्जाले मारेका छन् । कहिलेकाहीँ दिनको दुई टिपसम्म लैजान्छ इँटा भट्टीको गाडीले । नत्र दिनको एक टिप जति हुन्छ कोइला–काठ । टिपको हिसाबले पैसा पाउँछन् ।

कहिलेकाहीँ कोइला–काठ बढी नै जम्मा भएको हुन्छ । गाडी लिन आउँदैन । यत्तिकै थन्किएर बस्छ । कहिलेकाहीँ महिना दिन बन्द भइरहेको हुन्छ काम । तर, युट्युबतिर अपलोड भएर मान्छेहरुले गाली गरेको कमेन्ट देख्दा चाहिँ उनीहरुको चित्त दुख्छ ।

‘यो कोइला नराम्रो ठाउँमा जाँदैन । मुर्दा पोलेर हामीले खाँदैन नि ! साधारण मान्छेले जस्तो खान्छन्, हामीले त्यस्तै खाने हो,’ रातो टिसर्ट लगाएका युवक बोले, ‘हामीले के गरिरहेका छौं, हामीलाई थाहा छ । हाम्रो सिद्धान्त हामीलाई थाहा छ । हामीले गलत गरेका छैनौं । मान्छेहरुले केही नबुझी कमेन्ट नगरिदिनू । एउटा कमेन्टले हाम्रो जागिर जानसक्छ ।’

भिडिओ : नविनमुनि स्थापित ।

तस्बिरहरू: गौरव पौडेल  ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *