प्रहरीमा तीन एआईजीको दरबन्दी थप
काठमाडौं । सरकारले नेपाल प्रहरीमा तीनजना अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजीपी) को दरबन्दी थप गरेको छ । विहीबारको मन्त्रिपरिषद् बैठकले यसबारे निर्णय गरेको शिक्षामन्त्री देवेन्द्र पौडेलले जानकारी दिए ।
मन्त्री पौडेलले भने,‘आजको बैठकले विभिन्न निर्णय गरेकामध्ये नेपाल प्रहरीमा तीन एआईजीपीको दरबन्दी थप गर्ने पनि हो । ’
प्रहरी प्रधान कार्यालय, नक्सालले तीन वटा दरबन्दी थप गर्नका लागि संगठन संरचना तथा व्यवस्थापन सर्भे (ओएण्डएम) गरेर गृह मन्त्रालयमा प्रस्ताव पठाएको थियो । गृहमन्त्री बालकृष्ण खाँणले एआईजी दरबन्दी थपको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरेका थिए ।
प्रशासनतर्फ तीन एआएजीपीको दरबन्दी थपिएसँगै नेपाल प्रहरीमा प्रशासनतर्फको एआईजीपीको संख्या प्रशासनतर्फ ८ पुगेको छ भने प्राविधिकतर्फ एकजना गरेर जम्मा एआईजीपीको संख्या नौ पुगेको छ ।