क्यालिब्रेसन फ्लाइटका लागि एरो थाईको विमान गौतमबुद्ध विमानस्थल अवतरण – Nepal Press

क्यालिब्रेसन फ्लाइटका लागि एरो थाईको विमान गौतमबुद्ध विमानस्थल अवतरण

रुपन्देही । क्यालिब्रेसन फ्लाइटका लागि एरो थाईको विमान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको छ ।

थाइल्याण्डबाट आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएको सो विमान साँझ ५ बजे गौतमबुद्ध विमानस्थलमा ल्याण्ड गरेको हो । विमानस्थलमा जडान भएका उपकरणले काम गरे-नगरेको जाँच गर्नका लागि क्यालिब्रेशन फ्लाइट गर्ने गरिन्छ । उडानको जिम्मेवारी एरोनटिकल रेडियो अफ थाइल्याण्ड (एरो थाई) ले पाएको थियो ।

क्यालिब्रेशन फ्लाइट फागुन १५ गतेसम्म चल्ने विमानस्थल आयोजनाले जनाएको छ । त्यसपछि परीक्षण उडान हुनेछ । उडानको जिम्मेवारी एरोनटिकल रेडियो अफ थाइल्याण्ड (एरो थाई) ले पाएको थियो ।

आयोजनाले प्राधिकरणलाई दिएको जानकारीअनुसार बिहान र साँझ गरी दैनिक पटक क्यालिब्रेशन उडान हुनेछन् । सो उडानका क्रममा बिहान १० देखि साँझ ५ बजेसम्म आन्तरिक उडान बन्द रहनेछन् ।

यसबाट यात्रुलाई पर्न जाने समस्यालाई मध्यनजर गर्दै प्राधिकरणले मौसमले साथ दिए सो अवधिका लागि बिहानैबाट १० बजेसम्म र साँझ ५ बजेपछि उडान भर्ने सुविधा दिने जनाएको छ ।

विमानस्थल आयोजना प्रमुख इन्जिनियर प्रवेश अधिकारीले शुक्रबारदेखि परीक्षण उडान गर्न एरो थाईको जहाज आएको बताए ।

धावनमार्ग सफाइ सकिएको छ । आईसीवी-टुका व्यवस्थापक तथा राष्ट्रिय गौरव आयोजनाका उपनिर्देशक प्रविन न्यौपानेले रनवेमा विद्युतीय र चुम्बकीय वस्तु भए नभएको हेरिएको र उडानका क्रममा खटिने कर्मचारी व्यवस्थापनको काम भइरहेको बताए ।

आगामी जेठबाट विमानस्थलबाट नियमित उडानको तयारीमा प्राधिकरण रहेको छ । यसअघि विमानस्थलको ‘ग्राउन्ड चेकिङ’लगायत प्राविधिक परीक्षणका काम भएका थिए ।

परीक्षण उडान र विमानस्थल स्थायी सञ्चालनका लागि नेपाली इन्जिनीयर सहितको प्राविधिक टीमका लागि भैरहवामा २ महिने तालिम सञ्चालन गरिएको थियो । तालिममा अमेरिका, अस्ट्रिया र थाइल्याण्डका प्रशिक्षक रहेका थिए । भैरहवा, काठमाडौं, नेपालगञ्ज र चन्द्रगढी विमानस्थलका गरी १२ जना नेपाली इन्जिनियर तालिममा सहभागी भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर