कांग्रेसले जस नपाएको ‘प्रजातन्त्र घोषणा’ – Nepal Press
सन्दर्भः प्रजातन्त्र दिवस

कांग्रेसले जस नपाएको ‘प्रजातन्त्र घोषणा’

इटहरी। २००७ साल फागुन ७ गते दिउँसो तीन बजे नारायणहिटी दरबारबाट नेपालमा प्रजातन्त्रको औपचारिक घोषणा भएको थियो । १९०३ साल भदौ ३१ गते कोतपर्व मच्चाएर सत्ता हातमा लिएका जंगबहादुर राणाको वंशबाट भएको १०४ वर्षको शासन त्यहीं दिनबाट अन्त्य भएको थियो ।

तत्कालीन राजा त्रिभुवनले भद्र भाषमा राणा शासन अन्त्य भएको घोषणा गरेका थिए । २००७ साल कात्तिक २१ गते भारतीय दूतावासमा शरण लिन गएका राजा त्रिभुवनको परिवार कात्तिक २६ गते दिल्ली उड्यो । भारतबाट २००७ फागुन ३ गते नेपाली कांग्रेसका नेताहरुसँगै राजा त्रिभुवन नेपालको गौचरन विमानस्थलमा सपरिवार अवतरण भए ।

त्यसको चार दिनमा उनले प्रजातन्त्र घोषणा गरे । घोषणामा रोचक पक्ष यो छ कि, नेपाली कांग्रेसलाई कतै जस दिइएको छैन । नेपाली कांग्रेसले गरेको भनेको क्रान्तिबारे उक्त घोषणामा एक शब्द पनि परेको छैन । प्रजातन्त्र स्थापनामा राजतन्त्रको भूमिका मात्रै भएको जस्तै घोषणा गरिएको थियो । राणालाई दिइएको सत्ता पुनः राजाको भागमा आएको जस्तै तर्क घोषणामा आएको थियो ।

घोषणाको एक ठाँउमा भनिएको थियो, ‘सम्वत् १९०३ मा श्री ५ महाराजाधिराज सुरेन्द्र वीर विक्रम शाहदेवले धेरै गम्भीर र महत्वपूर्ण कारणले आफ्नो र आफ्ना उत्तराधिकारीहरुका तर्फबाट यो मुलुकको शासनभार श्री ३ महाराजा जंगबहादुर राणालाई सुम्पिबक्सेको हुनाले, जंगबहादुर राणाका उत्तराधिकारीहरुले हाम्रा पूर्वजहरुका तर्फबाट मौसूफका प्राइमनिस्टिरहरुका हैसियतमा यो राज्यको शासन चलिआएकाले वर्तमान समयमा श्री ३ महाराज मोहन शमशेर जंगबहादुर राणाले हाम्रोतर्फबाट औ हाम्रा नाममा यो राज्यको शासन चलाइआएको हो ।’

प्रजातन्त्र स्थापनामा पनि राजाकै कृपा महत्वपूर्ण भएको भन्दै प्रजातन्त्र घोषणाको अर्को ठाँउमा उल्लेख छ । ‘हाम्रा प्रजाको शासन अब उप्रान्त निजहरुले निर्वाचन गरेको एक वैधानिक सभाले तर्जुमा गरेको गणतन्त्रात्मक विधानको अनुसार होओस् भन्ने अहिले हाम्रो इच्छा र निर्णय भएकोले’ भन्दै प्रजातन्त्र र मन्त्रिमण्डल एकै दिन घोषणा गरिएको थियो ।

राजा, राणा, कांग्रेस र विदेशी कूटनीतिक अधिकारीहरु सहभागी भएको समारोहमा नेपालमा प्रजातन्त्र आउनुमा पार्टी योगदानको एक शब्दमा पनि व्याख्या नहुँदा पनि नेपाली कांग्रेस नेतृत्वले विरोध गरेन । कांग्रेसलाई कुनै जस नै नदिइकन शाही घोषणा भएको प्रजातन्त्र घोषणामा नेपाली कांग्रेस नेतृत्वको फरक मत वा विरोध नहुनु रहस्यमय भएको नेपाली कांग्रेसको इतिहास लेख्नेहरुकै तर्क छ ।

‘गणेशमान सिंह र नेपालको प्रजातान्त्रिक आन्दोलन’ पुस्तकमा लेखक डाक्टर बद्री नारायण गौतम लेख्छन्, ‘लामो कष्टकर लडाइँमा होमिएर बलिदानको अध्याय बनाउने नेपाली कांग्रेसले यो घोषणाका विपक्षमा कुनै आधिकारिक धारणा बाहिर नल्याएको तथ्य पनि रहस्यमय नै लाग्दछ ।’

तत्कालीन समयमा नेपाली कांग्रेसदेखि भारतले राजालाई आफ्नो बसमा ल्याएर राणा शासन ढाल्न खोजेका थिए । राजतन्त्रप्रति आमनागरिकको अत्यधिक सम्मानले दुवै शक्तिले राजालाई प्रयोग गरेर राणा शासन ढाल्ने सोचाइ भएको बुझिन्छ । यो खेलमा भारत सफल भयो । राजा त्रिभुवनको परिवार काठमाडौंस्थित भारतीय दूतावासहुँदै भारतमा शरण लिन गएर राणासँग वार्ता भएको थियो । त्यहीं वार्ताको सफलताको योगफल थियो, प्रजातन्त्र । राणा ढालेर प्रजातन्त्र स्थापना गर्न राजालाई साथमा लिनुपर्ने कटुसत्य बीपी कोइरालाको आत्मकथामै उल्लेख छ ।

‘हिन्दुस्तानको पनि सम्पर्क त खुब थियो राजासँग’, बीपी कोइरालाको आत्मबृतान्तमा लेखिएको छ, ‘राजा कसको नियतन्त्रणमा हुन्छन् भन्ने कुरा बडो महत्वपूर्ण थियो ।’ राजा भारतीय दूतावासमा प्रवेश गरेपछि नेपाली कांग्रेसलाई लागेको झड्काका बारेमा बीपीले आत्मबृतान्तमा भनेका छन्, ‘हामीले वायरलेस चालु राखेका थियौं । त्यतिकैमा के खबर दिन्छ भने– राजाले भारतीय राजदूतावासमा प्रवेश गरे र आफ्नो पूरा परिवारका साथ शरण लिए । त्यसपछि मैले भनें– अब हाम्रो हातबाट गयो ।’

नेपाली कांग्रेसको हतियार संघर्षको बारेमा बीपी कोइरालाको आत्मबृतान्तदेखि मातृकाप्रसाद कोइरालाको ‘अ रोल इन अ रिभोलुसन’मा कांग्रेसलाई राणाहरुको अवमूल्यन गरेको भनेका छन् । बीपीले मोहन शमशेरपुत्र विजय शमशेरले ‘नेपाली कांग्रेसको बन्दुकभन्दा धेरै भारतीय अखबार पड्किने’ भनेको सन्दर्भ सुनाएका छन् । मात्रिकाप्रसादले केशर शमशेरले गनको आवाजभन्दा समाचारको आवाज ठूलो भएको प्रतिक्रिया दिएको उल्लेख गरेका छन् ।

सात सालमै घोषणा भएको ‘गणतन्त्रात्मक विधान’

राजतन्त्र बलियो बनेर गरिएको घोषणामा ‘गणतन्त्रात्मक’ कुरा गरिएको थियो । प्रजातन्त्र स्थापनामा नेपाली कांग्रेसलाई कुनै स्थान नदिएको राजतन्त्रले कसरी गणतन्त्रात्मक कुरालाई शाही घोषणामा स्थान दियो त ? प्रश्न रोचक छ ।

नेपाली कांग्रेसको नाम र काम प्रजातन्त्र घोषणामा नआएको बारेमा उतिसारो चर्चा भेटिँदैन । तर, राजा त्रिभुवनले प्रजातन्त्रको घोषणामा बोलेको ‘गणतन्त्रात्मक’ विधानका बारेमा भने बीपी कोइरालाले आफ्नो आत्मकथामा प्रष्ट पारेका छन् ।

‘गणतन्त्र’ जोडिनुमा भाषाको नेपाली अनुवादको समस्या भएको बीपीले लेखेका छन् । उनले आत्मबृतान्तमा भनेका छन्, ‘.. डेमोक्रेसीको अनुवाद गर्दा कसैले के भन्यो, कसैले के भन्यो । मैले लोकतन्त्र भन्न खोजेको थिएँ । लोक मैले बिर्सें, गणतन्त्र मैले भनें । सबैले ठीक छ भने र त्यस घोषणामा डेमोक्रेसीको अनुवाद गणतन्त्र हुन गयो । त्यो गणतन्त्र भनेको रिपब्लिक होइन । त्यहाँ एउटा कुरो फेरि भनिएको छ, जब दुई भनाइ बाझिए भने अंग्रजी भनाइ कायम रहने छ भनेर पास भएको छ ।’

साइत कुर्दा लम्बिएको घोषणा कार्यक्रम

अहिले पनि साइत जुराएर प्रधानमन्त्री देउवाले कार्यक्रम गरेको हल्ला चल्छ । यस्तै हल्ला चलेको थियो २००७ सालको प्रजातन्त्र घोषणा र मन्त्रिमण्डलको सपथग्रहणमा पनि । राजा, राणा, कांग्रेस र भारत तथा बेलायती कूटनीतिज्ञ अनि विदेशी पत्रकारहरु सहभागी कार्यक्रममा सबैले आसनग्रहण गरेपछि पनि कुरेर मात्रै घोषणा भएको गणेशमान सिंहले आफ्नो पुस्तक ‘मेरो कथाका पानाहरु (खण्ड २)’मा भनेका छन् ।

प्रजातन्त्र घोषणा र नयाँ मन्त्रिमण्डलको सपथग्रहणमा आफ्नो २४ घण्टे सुरक्षा दस्ता बिजुली गारतसँगै आएका थिए, प्रधानमन्त्री मोहन शमशेर । उनी आएको देखेपछि त्रिभुवन आत्तिएको गणेशमान सिंहले उल्लेख गरेका छन् ।

१९४२ सालमा दोस्रो राणा प्रधानमन्त्री रणेद्वीप सिंहको हत्या नारायणहिटीमै गरेर वीर शमशेरले सत्ता कब्जा गरेको जानकार राजा त्रिभुवन कतै मोहन शमशेरले पुनः बल प्रयोग गर्ने हुन् कि भन्ने भयमा देखिएको गणेशमानसिंहले ‘मेरो कथाका पानाहरु (भाग २)’मा उल्लेख गरेका छन् । गणेशमान भन्छन्, ‘उनको चेहराको रंग एकाएक रातो भइसकेको थियो । राजा त्रिभुवनको त्यो छटपटाहट र व्यग्रता हातहतियारको सुजज्जित बिजुली गारतको उपस्थितिले उत्पन्न भएको थियो ।’

गणेशमान सिंहका अनुसार समारोहमा उपस्थित भारतीय राजदूत सिपिएन सिंहले बिजुली गारत दस्ताको उपस्थिति मोहन शमशेरको सुरक्षाको लागि मात्रै भएको बताएपछि राजा त्रिभुवन शान्त भएका थिए ।

प्रजातन्त्रपछिको सरकारमा बीपी तेस्रो वरीयता स्वीकार्न तयार

२००७ सालमा नेपाली कांग्रेसले गरेको सशस्त्र क्रान्तिका कमाण्डर मातृकाप्रसाद कोइराला थिए । वैचारिक र कूटनीतिक कमाण्डर बीपी कोइराला थिए । र, प्रजातन्त्र घोषणासँगै घोषणा भएको थियोः राणा–कांग्रेस सरकार । सरकारमा बीपीको वरीयता तेस्रो थियो । जुन सत्ताविरुद्ध आन्दोलन भएको थियो, त्यहीं सत्ताका दुई हस्तीलाई आफूभन्दा अग्रज दर्जा दिएर बीपी कोइराला तेस्रो वरीयतामा बस्न तयार भएका थिए ।

प्रजातन्त्र घोषणासँगै गठन भएको राणा–कांग्रेस मन्त्रिमण्डलको घोषणामा वरीयता मिलाएर भनिएको थियो, ‘..हामीबाट यो घोषणाद्वारा हामीलाई हाम्रो कार्यको सम्पादनमा मद्दत गर्न हाम्रा अतिविश्वासपात्र र प्रिय श्री ३ महाराज मोहन शमशेर जंगबहादुर राणा हाम्रो प्राइमिनिस्टर र पररास्ट्रमन्त्री, श्री मिनिस्टर बबर शमशेर जंगबहादुर राणा रक्षामन्त्री, श्री विश्वेश्वरप्रसाद कोइराला गृहमन्त्री, श्री सुवर्ण समशेर अर्थमन्त्री, श्री चूडाराज शमशेर वन विभागका मन्त्री, श्री गणेशमान सिंह उद्योगमन्त्री, श्री नृपजंग राणा शिक्षमन्त्री, श्री भद्रकाली मिश्र यातायातमन्त्री, श्री यज्ञबहादुर बस्न्यात स्वास्थ्य स्वायत्त शासनमन्त्री, श्री भरतमणि शर्मा खाद्य र कृषिमन्त्री समेत अरु मन्त्रीहरु सम्मिलित भएको एक मन्त्रीमण्डल गठन र नियुक्ति गरिबक्सेका छौँ ।’

दुई पक्षको गठबन्धन सरकारमा एक पक्ष प्रधानमन्त्री भएपछि अर्को पक्ष दोस्रो वरीयतामा हुने सामान्य कुरा नै हो । तर, बीपी तेस्रो वरीयतामा बस्न तयार भए । यसको अन्तर्य बीपीले आत्मकथामा भावुक व्याख्या गरेका छन् । मोहन शमशेरलाई प्रधानमन्त्री मानेका बीपीले मोहन शमशेरपछिका बबर शमशेरलाई किन दोस्रो वरीयातामा मानेर आफू तेस्रोमा हुन तयार भए ?

यसबारेमा बीपीले आत्मबृतान्तमा भनेका छन्, ‘मनेर बबर शमशेर आयो । उसले मेरो हात समात्यो । भन्यो– विश्वेश्वर बाबु, म केवल एक इज्जतको निम्ति गरिरहेको छु यो । म एकचोटि मात्रै क्याबिनेटमा उपस्थित हुन्छु र त्यसपछि म गएकै गएकै हुन्छु । म बम्बई जान्छु । त्यसपछि तपाईं नै हुनुहुन्छ । त्यति मलाई गरिदिनुस् त्यति । मलाई उसले हात समाएर भन्यो । मैले भनें– ल हुन्छ ।’

बीपीको आत्मबृतान्तको कुरालाई गणेशमान सिंहको ‘मेरो कथाका पानाहरु (भाग २)’ले पनि पुष्टि गर्छ । बीपी तेस्रो वरीयतामा बस्न राजी हुनुको कारण खुलाउँदै सिंह भन्छन्, ‘कोइरालाजीले सत्ता हस्तान्तरणको महत्वपूर्ण कामलाई प्रोटोकलको विवादले अप्ठेरो पार्नु बुद्धिमानी ठान्नुभएन । त्यसैले त्यो विवाद त्यहीं टुंगियो ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर