प्रजातन्त्रसँग जोडिएको राष्ट्रिय भावना – Nepal Press
सन्दर्भः प्रजातन्त्र दिवस

प्रजातन्त्रसँग जोडिएको राष्ट्रिय भावना

मूलतः लोकतन्त्र जीवन्त जीवनशैलीको एक अनुपम उपहार हो । लोकतन्त्र एउटा चम्किलो तारा हो । जसले आफ्नो भूगोललाई सधैभरि चमक प्रदान गरिरहन्छ । अझ भनौँ लोकतन्त्र खुल्ला आकाशमा निष्फिक्री उडिरहेको बादल पनि हो । जसले कसैलाई पनि विभेद, अन्याय र अत्याचारको भुमरीमा लैजाँदैन । बरु समान दृष्टिकोण, समान हेराइ र समावेशीकरणलाई आत्मसात गर्दछ । यो नै लोकतन्त्र भित्रको आत्मा हो । आवधिक निर्वाचन, कुशल जनप्रतिनिधिमूलक संस्थाहरु नै लोकतन्त्रको स्वाभिमानी मेरुदण्ड हुन् ।

लोकतान्त्रिक अभ्यास र त्यसको प्रयोगका आफ्ना–आफ्नै विधि, पद्धति र चरण छन् तर सबैको साझा उद्देश्य भनेको जनउत्तरदायी हुने र जनता केन्द्रित रहनु हो । लोकतन्त्रको अर्थ जनताद्वारा अनुमोदित हुने शासन व्यवस्था हो । प्रजातन्त्र शासनको त्यो स्वरुप हो, जसमा कुनै पनि देशको शासनसत्ता जनताको हातमा रहन्छ ।

मानव जीवन प्रणालीको एउटा अभिन्न पाटो चेतना हो । सही र असल चेतनाले मात्र मानिसलाई सत्मार्ग र सत्कर्ममा हिड्न अभिप्रेरित गर्दछ । असल समाज निर्माण, दीगो विकास, समावेशीता, स्वतन्त्रता लगायत अन्य विविध लोकतान्त्रिक मूल्य मान्यतालाई सही गन्तव्यमा पु¥याएर त्यसको अनुभूत प्रदान गर्ने कुरा असल चेतनाले मात्र प्रदान गर्दछ । त्यसैले पनि असल चेतनाको निर्माण गर्नको लागि लोकतान्त्रिक शिक्षा र उपयुक्त ज्ञानको सर्कुलेसन अपरिहार्य रहन सक्छ ।

हामी नेपालीको लोकतन्त्रप्रतिको आस्था, विश्वास र भरोसा एक अदम्य शाहस, त्याग, बलिदान एवम् योगदानबाट प्राप्त भएको उपलब्धि हो, जसलाई निरन्तरता दिँदै अझै उन्नत, सुदृढ, विकसित र विश्व परिवेश सुहाउँदो परिस्कृत गर्नु हामी सारा नेपालीको कर्तव्य हो ।

हरेक नेपाली जब लोकतन्त्रप्रति कटिबद्ध भएर अगाडि देखिन थाल्छन्, तब लोकतन्त्र अझ बलियो र समय सापेक्षित हुँदै गएको भान हुन्छ । लोकतन्त्र त्यो पूर्ण व्यवस्था हो जसमा कुनै कुराको समस्या देखिएको छैन, मात्र यसको असल र सुव्यवस्थित प्रयोग आवश्यक रहन्छ ।

हरेक कुराको प्रयोगले नै त्यसको परिणाम लेखाजोखा गर्दछ । हामीले जुन किसिमको लोकतन्त्रलाई प्रयोग गर्दछौँ, सोही अनुरुप हाम्रो देशको विकास, भविष्य र सुनिश्चितताको निर्धारण हुन्छ । नेपालमा प्रजातान्त्रिक अभ्यासको इतिहास खासै लामो देखिँदैन । राणाशासनको क्रुरता र बर्बरताबाट २००७ साल फागुन ७ गते प्रजातन्त्रको प्राप्तिपछि नेपाल विभिन्न कालखण्डमा अनेक आरोह, अवरोह पार गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा आइपुगेको छ । यो एउटा नपालीहरुको स्वतन्त्रताको निमित्त स्वर्ण कालखण्ड हो ।

हामी नेपालीको लोकतन्त्रप्रतिको आस्था, विश्वास र भरोसा एक अदम्य साहस, त्याग, बलिदान एवम् योगदानबाट प्राप्त भएको उपलब्धि हो, जसलाई निरन्तरता दिँदै अझै उन्नत, सुदृढ, विकसित र विश्व परिवेश सुहाउँदो परिस्कृत गर्नु हामी सारा नेपालीको कर्तव्य हो ।

कहिले राजाको दमन, कहिले कु जस्ता गैरसंवैधानिक हमलाले पनि नेपालीहरुको मनमनमा बसेको लोकतन्त्रप्रतिको निर्भिक चेतनालाई दबाउन सकेन । अन्ततः वि.सं. २०६३ वैशाख ११ गते देशमा लोकतन्त्र प्राप्त भएरै छाड्यो । यो महान् उपलब्धीका निमित्त धेरै नेपालीहरु शहीद हुनुप¥यो, कयौँ अंग–भंग, घाइते भएर पीडादायक जीवन बिताइरहेका छन् । उनीहरुप्रति राज्यले उचित र न्यायपूर्ण व्यवहार गरेको देखिँदैन । जुन लोकतन्त्रप्रतिको घात हो, जनताको बलिदान र योगदानप्रतिको अवज्ञा हो भन्दा फरक नपर्न सक्ला ।

लोकतान्त्रिक आन्दोलनको निमित्त कतिको काँख रित्तिय, कतिको सिन्दुर पुछिए, कतिको सधैंको लागि पारिवारिक सम्मिलन, माया, मोह र स्नेहको अभाव प्रकट भइरह्यो । तैपनि यो एउटा आन्दोलनको माग हो भन्दै होमिएको नेपाली समाज आज गणतान्त्रिक भएको छ । जुन एउटा गौरव र आत्मशानको विषय पनि हो । लोकतन्त्रको प्राप्ति र त्यसको अभ्यासले संविधानसभाको निर्वाचन र संविधानसभा मार्फत् नेपालको संविधान २०७२ जारी भएको छ । जसलाई एउटा लोकतन्त्रप्रतिको सुन्दर सफलता र नेपाली जनताको भाग्य भविष्यको फाष्टट्र्याकको रुपमा ग्रहण गर्न सकिन्छ ।

लोकतन्त्र र संघीयता

नेपालको संविधान २०७२ ले नेपाललाई संघीय मुलुकको रुपमा परिभाषित गरिसकेको छ । संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको निर्धारण गरिसकेको अवस्था छ । सात प्रदेश मार्फत् देशलाई संघीयता तर्फ मोडिदिएको छ । विकेन्द्रिकृत स्थानीय तहको निर्माण भएको छ । पर्याप्त अधिकारसहित स्वावलम्ब स्थानीय तहको आकांक्षा संविधानले संघीयतालाई आत्माको रुपमा स्वीकार गरेको छ । यी हरेक कोण र आयामबाट नियाल्दा संघीयता र लोकतन्त्र एक आमाका दुई सन्तानको रुपमा हुर्कदैँ, बढ्दै परिपक्व हुने चरणमा पुगेका छन् ।

लोकतन्त्र र समावेशीताले सम्पन्नता र सुखीपनको अपनत्व प्रदान गर्नेछन् । जुन कुराको प्राप्ति असल लोकतान्त्रिक चेतना र राष्ट्रिय भावनाबाट मात्र प्राप्त भएको छ । संविधानद्वारा प्रद्धत्त हक, अधिकारको सही पालना र अभ्यासले संघीयतालाई अझ दीगो, भरपर्दो, सरल र समय सापेक्षित बनाउन सकिन्छ । जसरी एउटा घर बलियो बनाउनका निमित्त उपयुक्त जमीनसहित उपयुक्त कच्चा पदार्थको सन्तुलित मिश्रण र दक्ष प्राविधिकको सही मार्गनिर्देशन आवश्यक छ त्यसैगरी संघीयता र लोकतन्त्रलाई सही बाटो र मार्गमा हिडाउन नागरिक खबरदारी, सचेतना, छलफल, बहस, विमर्श र परामर्शका अनेकन विधि, पद्धतिलाई अवलम्बन गर्न आवश्यक छ ।

जति धेरै विचार र चेतनाको मन्थन हुन्छ, त्यति नै धेरै मात्रामा लोकतन्त्र सुन्दर र जनअपेक्षित हुँदै जान्छ । फलस्वरुवः लोकतन्त्र सबै नेपाली जनताको जीवनचक्रको रुपमा विकास हुन्छ । जसले निश्चित समय पार गर्दै हर उमेर समूहलाई आत्मसम्मान र स्वाभिमानको आवाज गुञ्जायस गर्न अभिप्रेरित गर्दछ ।

लोकतन्त्र र त्यसको आयाम

समावेशीता, समानता, स्वतन्त्रता, आवधिक निर्वाचन, बालिग मताधिकार, पूर्ण प्रेस स्वतन्त्रता जस्ता मानव अधिकारको साझा अधिकार नै लोकतन्त्रको असल आयाम हुन् । यी हरेक आयाममा लोकतन्त्रको स्वरुप वा आस्था देखिनुपर्छ । अनि मात्र लोकतन्त्र सरल, सहज र सहस बन्न पुग्दछ ।

कागजी लोकतन्त्रलाई साँच्चै व्यवहारिक र व्यवहारवादी बनाउने हो भने यसको प्रयोग र त्यसपश्चात् प्राप्त हुने उपलब्धीलाई सही किसिमले जनता माझ लैजान आवश्यक रहन्छ । जनताको आवाजलाई आवश्यक अधिकारमार्फत् प्रतिउत्तर दिन लोकतन्त्र र लोकतान्त्रिक शासन व्यवस्था तयार हुनुपर्दछ । लोकतन्त्रको आयाम मार्फत् निर्वाचित भएका जनप्रतिनिधि त अझ जनताको समस्या, माग र आवश्यकता प्रति कटिबद्ध हुँदै अगाडि बढ्नुपर्दछ ।

लोकतन्त्र र नागरिक चेतना

नागरिक चेतना नागरिकलाई अधिकार, कर्तव्य र जिम्मेवारीप्रति सजग गराउने प्रक्रिया हो । यो एउटा स्वशासनको शिक्षा पनि हो । नागरिक चेतनाको लोकतन्त्रसँग घनिष्टतम् सम्बन्ध रहन्छ । देशको आर्थिक, सामाजिक, सांस्कृतिक तथा राजनैतिक क्षेत्रमा नेतृत्व प्रदान गर्न र आदर्श नागरिक तयार गर्न नागरिक चेतनाको स्तर अब्बल रहन आवश्यक हुन्छ । एक असल नागरिकमा चाहिने ज्ञान, सीप, दक्षता, उर्जा, शाहस, त्याग, धैर्यता, सेवाभाव लगायतका विचारले नागरिक चेतना निर्धारित हुन्छ । समग्रमा असल नागरिक निर्माण गरी लोकतन्त्र र व्यक्तिगत स्वतन्त्रताको संरक्षण, सम्बद्र्धन र प्रवद्र्धनमा नागरिक चेतना चाहिएको हो ।

नागरिक शिक्षाले आफू, आफ्नो समाज र राज्यप्रति प्रत्येक व्यक्तिको अधिकार र कर्तव्यको कुरा गर्दछ । सर्वप्रथम व्यक्तिले आफ्नो अधिकार, जिम्मेवारी, उत्तरदायित्व, कर्तव्य, आचरण र जवाफदेहीता बुझ्नु आवश्यक हुन्छ । दोश्रो अन्य व्यक्तिको सम्मान, हित, सद्भाव, नैतिकता, अनुशासन, आपसी विविधता लगायतका कर्तव्यको विषय पनि बुझ्नुपर्छ । त्यसैगरी तेश्रो राज्यप्रति रहने कर्तव्यहरु जस्तो राष्ट्रियता, राष्ट्रिय एकता प्रति गौरववोध, कानुन निर्माणमा सहभागिता र सोको पालना, लोकतन्त्रप्रतिको निष्ठा, कला, साहित्य, संस्कृति संरक्षण आदि लगायतका विषयले स्थान पाउँछन् । अतः यिनै अधिकार र कर्तव्यको वोध गराउने विषय नागरिक चेतना हो ।

जति धेरै विचार र चेतनाको मन्थन हुन्छ, त्यति नै धेरै मात्रामा लोकतन्त्र सुन्दर र जनअपेक्षित हुँदै जान्छ । फलस्वरुवः लोकतन्त्र सबै नेपाली जनताको जीवनचक्रको रुपमा विकास हुन्छ । जसले निश्चित समय पार गर्दै हर उमेर समूहलाई आत्मसम्मान र स्वाभिमानको आवाज गुञ्जायस गर्न अभिप्रेरित गर्दछ ।

प्रविधिको तीव्र विकासले समाजमा जागरण ल्याएको छ । नागरिक चेतनास्तर तीव्र वृद्धि भएको छ । तर आज कताकता बहकिन थालेको छ । यसले समाज र समग्र राज्य प्रणालीमा नै नकारात्मक प्रभाव पारेको आभास मिल्दछ । आज सचेत नागरिक राज्यले अवलम्बन गरेको संविधान ऐन, कानुनको पालना नगरी किन कानुनको अपव्याख्या गर्न तल्लीन छ ? किन राज्यप्रति नै विष वमन गरिरहेको छ ? के नागरिकले अधिकारको प्राप्ति र उपयोगसँगै राज्यप्रतिको अपनत्व वोध गर्नु पर्दैन ? विधि र कानुनको शासन, नागरिक स्वतन्त्रता, मानव अधिकारको प्रत्याभूतिसहित कानुनी सर्वोच्चताबाट सञ्चालित हाम्रो राज्य प्रणाली र संविधानको यही मार्गनिर्देशलाई स्वीकार गर्न हामी किन हिच्किचाउँदै छौँ ?

कमजोर देखिएका विषयहरु जस्तै इमान्दारिता र नैतिकताको विषय, अधिकारमुखी प्रवृत्ति, कसैको अन्यायमा मौन रहने प्रवृति, मताधिकारको महत्ववोध नहुनु, सभ्य संस्कार विकास नहुनु, राज्य दोहोन र कमाउ प्रवृत्तिमा सुधार ल्याउनका निमित्त पनि नागरिक चेतना एक अचुक सूत्रको रुपमा रहन सक्छ ।

लोकतन्त्र कहाँ खोज्ने ?

हामीले माथिल्लो अग्रभागबाट लोकतन्त्र र लोकतान्त्रिक चरित्रको प्रसंग व्याख्या गर्दै त आयौँ तर लोकतन्त्र कहाँ छ ? कहाँ खोज्ने ? यो एउटा गम्भीर सवालको रुपमा रहन सक्छ । हाम्रो प्रत्येक जीवनशैलीमा लोकतन्त्र हुनु आवश्यक छ । लोकतन्त्र केवल एउटा नीति मात्र नभएर हामीलाई नियन्त्रित गर्दै अनुशासनमा हिडाउने पथप्रदर्शक हो । त्यसैले पनि दैनिक जीवनमा लोकतन्त्रलाई पछ्याउन आवश्यक छ । हाम्रा क्रियाकलाप, व्यवहार र कर्म जति धेरै पारदर्शी र खुल्ला रहन्छ ,त्यति नै हामी गौरवका साथ निर्भिक भएर अगाडि बढ्न सक्छौँ ।

लोकतन्त्र हामीले हाम्रा जनप्रतिनिधिमा, कर्मचारीतन्त्रमा, सरकारमा, अदालतमा, विकासमा, समृद्धिमा, समुन्नतीमा खोज्नु आवश्यक छ । जसले कोही कतै प्रभावित हुने वा बाटो बिराउने विरासतबाट मुक्त भएर जनताको आशा, अपेक्षा पुरा गर्न तल्लीन हुन सक्छन् । लोकतन्त्र हाम्रो राज्य व्यवस्थाको मुटु हो । यसलाई उचित श्वास दिएर गतिशिल बनाउनु हरेक नेपाली नागरिकको प्राथमिक दायित्व हो । यसमा हामीले विकल्प खोज्न थाल्यौँ भने हामी आफै अभाव, पीडा, गरिबी, पछौटेपन र उत्पीडित हुने बाटोतर्फ लाग्नेछौँ । जुन अत्यन्तै दुखद र वियोगान्त हुनेछ ।

फलस्वरुपः सबैको मेहनत, त्याग, बलिदाबाट प्राप्त लोकतन्त्रको बचावट,सञ्चालन र त्यसको लाभ प्राप्त गर्ने कुरामा सबै अग्रसर भएर अगाडि बढ्नु आवश्यक छ ।

शासन व्यवस्था र राष्ट्रिय भावना

मानिसहरुले जे भोग गर्छन्, त्यसलाई आत्मसात गर्छन् र त्यसैलाई आफ्नोपन ठान्छन् । यो नै एउटा मानव चक्रको सुन्दर पक्ष हो । देशको शासन व्यवस्था र स्वरुप अनुरुप देशका नागरिकले व्यवहार र आफ्ना क्रियाकलापको निरन्तरता राख्दछन् ।

हिजो जहानियाँ राणाशासन, पञ्चायती व्यवस्था र आज लोकतान्त्रिक शासन व्यवस्था हुँदा फरक फरक कालखण्डमा नागरिकको भूमिका भिन्न भिन्न देखिए तापनि देशप्रतिको माया, मोह, स्नेह सदैव अब्बल रह्यो । राष्ट्र एउटा निश्चित भुगोल, सीमाना र परिधिमा नियन्त्रित हुने भए तापनि राष्ट्रियता मन–मनमा जागृत हुने कुरा हो । राष्ट्र प्रेम हरेक नागरिकको अविच्छिन्न अनुभूति हो । यो वृहत अनुभूतिबाट अलि पर सर्ने प्रयास सायद कुनै नागरिकबाट हुन सक्दैन । लोकतान्त्रिक परिपाटी मार्फत् समावेशीता, समावेशीकरण गर्दै राष्ट्रिय भावनालाई अझ बढी वृहत् बनाउन सकिन्छ ।

राष्ट्रियता एउटा आन्तरिक भावना हो । जसले मानिसलाई एउटा सुत्रमा बाँध्ने काम गर्दछ । यसको पछाडि भावनात्मक तत्त्वको भूमिका रहन्छ । भावनात्मक तत्व भित्र भाषा, रीतिरिवाज, सभ्यता, रहनसहन, संस्कृति आदि पर्दछन् । राष्ट्रियता एउटा राजनीतिक प्रश्न मात्र नभएर आध्यात्मिक प्रश्न हो ।

राष्ट्रियता धर्म जस्तै आन्तरिक भावना हो । सबै देशको आफ्नो आफ्नो इतिहास हुन्छन् । नेपाल एक अविच्छिन्न रुपमा स्वतन्त्र राष्ट्रको रुपमा अस्तित्व जोगाएको मुलुक हो । हाम्रो इतिहास गौरवमय छ । यसलाई कसैले तोड्न खोज्दा हामी सबै नेपाली एक भई आवाज उठाएको मात्र होइन लडेका पनि छौँ । जुन देशको जनतामा राष्ट्रवादको भावनामा कमी आउँछ त्यस्ता देश कहिल्यै शान्त रहँदैनन् र अन्ततः गृहयुद्धमा फस्छन् ।

जहाँ–जहाँ गृहयुद्ध भएको छ त्यहाँ राष्ट्रियताको कारणले नै भएको छ साथै अहंकारले जरा गाडेको छ । नेपालमा जनताबाट चुनिएका प्रतिनिधि नै शासक रहन्छन् । जनप्रतिनिधि राष्ट्रवादको भावनाले एकताबद्ध छन् । देशभित्र भिन्न भिन्न भौगोलिक, सामाजिक, सांस्कृतिक तथा परम्परागत समूहमा बसे पनि राष्ट्रको बारेमा एउटै स्वर देखिन्छ ।

देशको सीमा थिचोमिचो पर्दा नेपालले देखाउने गरेको व्यवहार एउटा सर्वोत्तम उदाहरण हो । त्यसैगरी राष्ट्रवादको एउटा ठूलो उदाहरण प्रतिनिधिसभामा पनि प्रकट भयो । नेपालको भुभाग कालापानी, लिपुलेक र लिम्पियाधुरामा भारतीय हस्तक्षेप हुँदा संसदमा एकमतले चुच्चे नक्सा पारित भएको थियो । यसले राष्ट्रवादलाई प्रखर रुपले व्यवहारमा प्रमाणित गर्दछ ।

अन्त्यमा लोकतन्त्र समग्र रुपमा एउटा यस्तो मानवीय सभ्यता पनि हो, जसको सामाजिक व्यवस्थाको जग, मानवता, समानता, न्याय र स्वतन्त्रता जस्ता मूल्य मान्यताले बनेको हुन्छ । जहाँ हरेक नागरिकले स्वतन्त्रताको श्वास फेर्छन्, सम्मानको जिन्दगी जिउँछन् र समानताको अनुभूति गर्दछन् ।

जब अवला, अबोध र निर्दोषको रक्षा गर्न सकिदैन तब लोकतन्त्र अर्थहीन बन्न पुग्छ । विशेषतः लोकतन्त्र भनेको जनताको लागि केन्द्रीत हुने शासन व्यवस्था भएकोले यसले आफ्नो मार्गमा कहीकतै जनतालाई त्यागेर हिड्न, डुल्न र सञ्चालन हुन सक्दैन ।

लोकतन्त्रको छाती तथा हृदय नै जनताको लागि बनेको हुन्छ । लोकतन्त्रको मुटु भनेको जनताको हाँसो र खुसी हो । लोकतन्त्रको रगत भनेको जनताको इच्छा, आकांक्षा, सपना र कल्पना हो । जसको पूर्ण अंग अर्थात् सिंगो रुप भनेको नै जनताको खुसी, सुख, सम्पन्नता, सम्वृद्धि र वैभवता हो भन्दा अत्युक्ति नहोला ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *