बौद्ध विश्वविद्यालय बेरुजु फर्छ्यौटमा तेस्रो पटक पनि उत्कृष्ट – Nepal Press

बौद्ध विश्वविद्यालय बेरुजु फर्छ्यौटमा तेस्रो पटक पनि उत्कृष्ट

रुपन्देही । लुम्बिनी बौद्ध विश्वविद्यालय बेरुजु फर्छ्यौटमा लगातार तेस्रो पटक उत्कृष्ट बनेको छ । बेरुजु फर्छ्यौटमा  मुल्यांकन तथा अनुगमन समितिले बेरुजु फर्छ्यौटमा निर्धारण गरेका लक्ष्य पुरा गर्दै विश्वविद्यालय उत्कृष्ट बनेको हो । उत्कृष्ट बनेको विश्वविद्यालयलाई अनुगमन समितिले पुरस्कृत गरेको छ ।

महालेखा परीक्षकको कार्यालयबाट भएको लेखा परीक्षणमा कूल अंकको १ प्रतिशतभन्दा कम बेरुजु कायम गर्ने र विगतको वेरुजु फर्छ्यौटमा उत्कृष्टता कायम गर्ने निकायलाई समितिले पुरस्कृत गर्ने गर्दछ ।

लुम्बिनी बौद्ध विश्वविद्यालयको आर्थिक वर्ष ०७६/०७७ को लेखा परीक्षणमा शून्य दशमलव ४० प्रतिशत मात्रै बेरुजु देखिएको छ । महालेखाले ५८ करोड २५ लाख ६४ हजारको लेखा परीक्षण गर्दा २३ लाख ४ हजार बेरुजु देखिएको छ ।

त्यस्तै विगतका वर्षहरुमा बेरुजु रहेको ३० लाख ८१ हजारमध्ये २२ लाख ४२ हजार फर्छ्यौटमा भएको विश्वविद्यालयले जनाएको छ । यो ७२ दशमलव ७७ प्रतिशतहो ।

अनुगमन समितिका अध्यक्ष एवं मुख्यसचिव शंकरदास बैरागीले विश्वविद्यालयका रजिष्टार डा. तिलकराम आचार्यलाई १० हजारबाट पुरस्कृत गर्न सिफारिस गरेका छन् । अनुगमन समिति मुख्य सचिवको अध्यक्षतामा हुने व्यवस्था छ ।

विश्वविद्यालयले यसअघिका दुई आर्थिक वर्षमा पनि लक्ष्यअनुरुप बेरुजु फर्छ्यौटमा गरेको थियो ।

०७५ साउनदेखि ०७६ असारसम्मको बेरुजुमध्ये विश्वविद्यालयले ७८ दशमलव शून्य ३ प्रतिशत फर्छ्यौटमा गरेको थियो । आर्थिक वर्ष ०७४/०७५ को स्रेस्ता लेखा परीक्षणबाट शून्य दशमलव शून्य ८ प्रतिशत बेरुजु कायम गरेको भन्दै बेरुजु फर्छ्यौटमा मुल्यांकन तथा अनुगमन समितिले पुरस्कृत गरेको थियो ।

विश्वविद्यालयको लेखा परीक्षणमा बेरुजु २ करोड ९२ लाख ३८ हजार रहेको थियो । बेरुजु फर्छ्यौटका क्रममा विश्वविद्यालयकै पदाधिकारीबाट समेत असुल उपर गरिएको रजिष्टार डा. तीलकराम आचार्यले बताए ।

बौद्ध विश्वविद्यालय मुलुककै धरोहर र आस्थाको केन्द्र हो, यस्तो संस्थामा बेरुजु हुनु अशोभनीय हुन्छ, उनले भने,‘बेरुजु शून्य प्रतिशतमा झार्ने गरी आर्थिक पारदर्शिताको नीति हामीले अबलम्बन गरेका छौं ।’ विश्वविद्यालयले करोडौंका भौतिक पूर्वाधार निर्माणका योजनामा काम गरिरहेको छ ।

विश्वविद्यालयमा १० वर्ष अघिदेखिको बेरुजु कायम थियो । पदाधिकारीहरुले नै मनपरी सुविधा लिने गरेका थिए । उक्त रकम असुल नै गरिएको रजिष्टार आचार्यले बताए ।

०७४/०७५ को लेखा परीक्षणमा बेरुजु २ लाख ११ हजार मात्रै कायम भएको थियो । त्यसअघिको बेरुजु करिव ३ करोडबाट ६६ लाख ३६ हजारमा झारिएको थियो । एक वर्षको अवधीमा विश्वविद्यालयले २ करोड २८ लाख १३ हजार फर्छ्यौटमा गरेको थियो ।

विश्वविद्यालयसग नयाँ र पुरानो गरी फर्छ्यौटमा गर्नुपर्ने बेरुजु ३१ लाख ४३ हजार रहेको छ । उक्त बेरुजुमध्ये धेरै नियमित गर्नु पर्ने बेरुजु हो । जसलाई चालु आर्थिक वर्षमा फर्छ्यौटमा गरिने रजिष्टार आचार्यले जानकारी दिए । असुल गर्नुपर्ने बेरुजु पनि असुलउपर गरिने उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *