रुपन्देहीमा विद्यालयको बसबाट अपहरणमा परेका दुई विद्यार्थीको झापाबाट उद्दार – Nepal Press

रुपन्देहीमा विद्यालयको बसबाट अपहरणमा परेका दुई विद्यार्थीको झापाबाट उद्दार

पारिवारिक रिसइबीमा आफ्नै फुपाजुले गरेका थिए अपहरण

रुपन्देही । रुपन्देही प्रहरीले अपहरणमा परेका दुई विद्यार्थीको सकुशल उद्दार गरेको छ ।विद्यालय बसमा विद्यालय जाँदा अपहरणमा परेका दुई बालकसहित अपहरणमा संलग्नलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

फागुन ५ गते बिहिबार विहान ८ः४० बजेको विद्यालय समयमा सैनामैना ४ मुर्गियामा रहेको प्रभात आवासीय बोर्डिङ स्कुलमा अध्ययनका लागि लु १ ख ६५८६ नम्बरको बसमा पठाइएका आफ्ना छोराछोरी साँझसम्म पनि घर नआएपछि आमा पुष्पा दाहालले तत्काल खोजकार्य पाउँ भन्दै इलाका प्रहरी कार्यालय रन्यौरामा निवेदन दिएका थिइन् ।

दाहालको निवेदन लगत्तै प्रहरील खोजीकार्य तीव्र बनाएको थियो । रुपन्देही प्रहरी प्रमुख मनोजकुमार केसीका अनुसार हराएको खवर पाउने वित्तिकै करिब २ सय प्रहरीलाई सम्भावित क्षेत्रमा खटाइएको थियो ।

उनले भने, ‘साँझ अबेर सूचना पाइपछि रातभर जंगल, होटल सबै स्थानमा खोजियो, नाका सबैमा उच्च सक्रियता राखियो । हाम्रो पहिलो ध्यान नै बच्चाहरुलाई सकुशल उद्दार गर्नु थियो ।’

फागुन ५ गते विहान ९ बजेदेखि सम्पर्क विहीन भएका सैनामैना वडा न.६ बस्ने पुष्पा दाहालका एक छोरी एक छोरा शुक्रबार दिउँसो २ बजे झापाको विर्तामोडबाट उद्दार गरी शनिबार रुपन्देही ल्याइएको छ । घटनामा संलग्न अभियुक्त खिमबहादुर पौडेललाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरी उपरिक्षक केसीले बताए ।

केसीका अनुसार १२ वर्षीय प्रसिद्ध दाहाल र ९ वर्षीय प्रशन्न दाहाल प्रहरीको संरक्षणमा रहेको र अभियुक्त खिमबहादुर पौडेल पनि प्रहरीको नियन्त्रणमा रहेको उल्लेख गरे । अभियुक्त पौडेल नाताले ती बालबालिकाका फुपाजु हुन् ।

परिवारले दिएको निवेदनका आधारमा नेपाल प्रहरी युनिट नै यो घटनामा संवेदनशील भएर लागेको उल्लेख गर्दै उपरीक्षक केसीले वास्तविकता अनुसन्धान पछि थप खुल्ने र सोबारे सार्वजनिक गरिने बताए ।

प्रहरीले खेमबहादुर पौडेल क्षेत्रीले अन्तिम पटक सम्पर्क गरेका व्यक्तिको सम्पर्कबाट अपहरणकारीलाई पक्राउ गर्न र दाजुबहिनीलाई सकुशल उद्दार गर्न सकिएको बताएको छ ।

खेमले ५ गते विहान भाई गुप्तबहादुर पौडेललाई फोन गरी बुटवलमा सुटकेश ल्याइदिन भनेका थिए । त्यहि अन्तिम फोनबाट अनुसन्धान गर्दै जाँदा अभियुक्तलाई पक्राउ गर्न सकियो, प्रहरी उपरीक्षक केसीले नेपाल प्रेससँग भने ।

पुष्पा दाहालले आफनो दुई छोराछोरीलाई आफनो आफन्तीले अपहरण गरेको सूचना पनि प्रहरीलाई दिएकी थिइन् ।

अभियुक्त सैनामैना वडा नं. ५ घमाहा खोला बस्ने खिमबहादुर पौडेलले पारिवारिक रिसिबीका कारण अपरहण गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीको भनाइ छ ।

तर बिहान अपहरणमा परेका दुई विद्यार्थीका बारेमा विद्यालयले समयमा जानकारी नदिएको प्रहरीको गुनासो छ । प्रभात आवसीय बोर्डिङ स्कुलका प्रधानाध्यापक अनन्तराम शर्माले परिवारले स्कुलबाट घर नआएको खवर पाएपछि स्टाफ, बस चालक र सहचालकलाई सोधेको र ती दुई विद्यार्थीको आफन्तीले फोटो खिचाउन लैजान्छु भनेर बसबाट बीच बाटोमा पर्ने मुर्गिया झारेको भन्ने कुरा बताएका छन् । यसरीबीच बाटोमा झारिएका दुई बच्चाका विषयमा विद्यालयले समयमै चासो नराखेर गम्भीर गल्ती गरेको अन्य अभिभावकको भनाइ छ ।

खेमबहादुर पौडेल उपर अपहरण तथा शरीरबन्धक मुद्दामा थप अनुसन्धान भई रहेको प्रहरीको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर