सत्तागठबन्धनमा एक्लिँदै माओवादी, सहमति नभए सडक रोज्ने ! – Nepal Press

सत्तागठबन्धनमा एक्लिँदै माओवादी, सहमति नभए सडक रोज्ने !

कैलाली । अमेरिकी सहयोग परियोजना (एमसीसी) टेबल गर्न दिने विषयमा सत्तागठबन्धनका दलहरू सहमति नजिक पुगेको बताइएको छ । तर, यथास्थितिमा एमसीसी टेबुल हुन नहुने अडान राख्दै आएको माओवादी भने चेपुवामा परेको छ ।

यसअघि यथास्थितिमा एमसीसी टेबल गर्न नदिने अडान राख्दै आएको नेकपा एकीकृत समाजवादीको हिजोको स्थायी कमिटी बैठकले एमसीसी टेबल गर्न दिने निर्णय गरेको छ । एमसीसीको खरो विरोध गर्दै आइरहेका झलनाथ खनाललगायतका नेताहरू पनि अन्तिममा एमसीसी टेबल गर्न दिने निर्णयमा पुगेका छन् । नेकपा एकीकृत समाजवादीले निर्णय नै गरेपछि गठबन्धनमा अहिले एमसीसी टेबल गर्न दिने भन्नेमा बहुमत जुटेको छ ।

बहुमत दलले एमसीसी टेबल गर्न दिने निर्णय गरेपछि आजको संसद् बैठकमा एमसीसी टेबल हुने नेकपा एसका सचिव समेत रहेका प्रमुख सचेतक जीवनराम श्रेष्ठले विश्वास व्यक्त गरेका छन् ।

अहिले गठबन्धनको बैठक बस्दै छ’ उनले भने ‘त्यहाँ सहमतिको सम्भावना छ । आजै संसदमा एमसीसी टेबल हुन सक्छ । ’

गठबन्धनमा रहेको जनता समाजवादी पार्टी पनि एमसीसी टेबल गर्न दिने निष्कर्षमा पुगेको छ । जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई एमसीसी पारित गर्नुपर्ने भन्दै आइरहेका छन् । एमसीसीको विपक्षमा देखिएका उपेन्द्र यादव पनि सहमतिनजिक पुगेको बताइएको छ । उनीहरू दुवै एमसीसी टेबल गर्नु पर्नेमा पुगेपछि आजै एमसीसी टेबल हुने सम्भावना बढेको छ ।

तर, गठबन्धनमा माओवादी केन्द्रले भने पुरानै अडान राख्ने दाबी गरेको छ ।

‘आज १० बजे बजे बैठक छ । के गर्ने भन्ने कुरा फाइनल हुन्छ’ माओवादीका नेता लीलामणि पोख्रेलले भने, ‘माओवादी लचक भएको छैन । माओवादी आफ्नो दृष्टिकोणमा प्रष्ट हो । ’

उनले माधव नेपाल पक्षले संसदमा टेबल गर्ने निर्णय गरेपछि केही समस्या भएको बताए । उनले भने ‘जसपा पनि टेबल गर्ने भन्नेमा पुगेका छन् । बाबुराम पास गर्नु पर्छ भन्नेमा थिए । उपेन्द्र टेबल गर्नेमा पुगे पछि गठबन्धन एमसीसीको पक्षमा देखिने सम्भावना बढेको छ ।’

गठबन्धनको बैठक बोलाइएको र उक्त बैठकमा पनि पुरानै अडान दोहोराउने पोख्रेलले बताए । उनले एमसीसी टेबल गर्ने निर्णय गरे माओवादी सरकारमा नरहने समेत प्रष्ट पारे ।

‘गठबन्धनमा माओवादीबाहेक सबै दल पारित गर्ने भन्नमा गएमा हामी त्यसको विरुद्धमा लड्छौँ ’उनले भने, ‘त्यसको विरुद्धमा सरकारबाट फिर्ता भएर जनतामा जानुबाहेक हामी के हुन्छ र ?’

माओवादी केन्द्रको संसदीय दलले यस अघि नै एमसीसी अहिलेकै अवस्थामा टेबल भए सरकारबाट बाहिरिने निर्णय गरिसकेको छ । उनले संसदीय दलले यस अघि गरेको निर्णयमा पार्टी प्रष्ट रहेको बताए ।

संसद् बैठक दिउँसो १ बजेका लागि डाकिएको छ भने सत्ता गठबन्धनको बैठक १० बजे बोलाइएको छ । शुक्रबार नै गठबन्धनको निर्णायक बैठक हुने भनिए पनि नेकपा एसले समय मागेका कारण आजसम्मका लागि स्थगित गरिएको थियो ।

आजको संसद्को सम्भावित कार्यसूचीमा एमसीसीको विषय राखिएको छैन । संसद् बैठकअघि बस्ने कार्य व्यवस्था परामर्श समितिको बैठकले संसद् बैठकको अन्तिम कार्यसूची तय गर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर