बालक अपरहण, प्रहरीको सफलता र सन्देश – Nepal Press
ब्लग

बालक अपरहण, प्रहरीको सफलता र सन्देश

रुपन्देहीमा घरबाट विद्यालय जान स्कुलबसमा हिँडेका बालबालिका झोलासहित बीच बाटोबाटै अपहरणमा परे । साँझ बालबच्चा घर नफर्केपछि अभिभावकले सोधखोज गर्दा विद्यालय नपुग्दै बीच बाटोबाटै हराएको पत्ता लाग्यो । विद्यालय प्रशासन, बसमा रहेका विद्यालयका कर्मचारी, शिक्षक तथा अन्य विद्यार्थीलाई उनीहरु अपहरणमा परेपछि मात्रै थाहा भयो ।

फागुन ५ गते बिहानै दुई छोराछोरीलाई विद्यालय पठाएकी रुपन्देहीको सैनामैना नगरपालिका– ६ की पुष्पा दाहाललाई यस्तै विपत्ति आइलाग्यो । तर उनको विपत्तिमा रुपन्देही प्रहरीले साथ दियो ।

घटना सार्वजनिक भएको २४ घन्टा नबित्दै प्रहरीले अपहरणमा परेका ती दुई बालबालिकालाई पूर्वी नेपालको झापाबाट सकुशल उद्दार मात्र गरेको छैन, अपहरणकारीलाई पक्राउ गर्न प्रहरी सफल भएको छ । विद्यालय हिंडेका दाहाल दाजुबहिनीलाई २४ घण्टा नबित्दै झापाबाट सकुशल उद्दार गरी अपहरणकारीलाई पक्राउ गरी अनुसन्धान सुरु प्रहरीको यो सफलतालाई सम्मान गर्नुपर्दछ ।

हाम्रो समाजमा सधैं नकारात्मक विषयलाई मात्र प्राथमिकताका साथ दिने र गरेका सफल कामलाई उत्साह, प्रेरणा दिने, साथ दिने कमै भएको छ । यस्ता काम गर्नेलाई स्यावासी दिन सकिएन भने उनीहरुको ऊर्जा कमजोर हुन्छ, गलत काम गर्नेहरुको मनोबल बढ्छ ।

त्यसो त यो प्रहरीको दायित्व नै हो भनेर पनि बहस हुनसक्छ । तर यो विषय अन्य विषयजस्तो सामान्य छँदै थिएन । अपहरणकारीले प्रहरीको पहिलो मोबाइल सम्पर्कमै आफू मार्न र मर्न तयार भएकाले यस्तो काम गरेको बताएकाले पनि प्रहरी अधिकृतहरुलाई ती बच्चालाई सकुशल उद्दार कसरी गर्न सकिएला भन्ने चिन्ताले पोलेको अनुभव सुनाउँदा पनि झसंग बनाउँछ ।

फागुन ५ गते बिहीबार बिहान ८ः४० बजेको स्कुल समयमा सैनामैना ४ मुर्गियामा रहेको प्रभात आवासीय बोर्डिङ स्कुलमा अध्ययनका लागि लु १ ख ६५८६ नम्बरको बसमा पठाइएका आफ्ना छोराछोरी साँझ अबेरसम्म घर नआएपछि आमा पुष्पा दाहालले तत्काल खोजकार्य पाउँ भन्दै मुर्गियास्थित इलाका प्रहरी कार्यालय रन्यौरामा निवेदन दिएपछि प्रहरी तत्काल यसमा खटिएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी मनोजकुमार केसी आफै यस्तो घटना यो क्षेत्रमा धेरै नभएकाले बडो जटिलताका साथ अनुसन्धान थालिएको बताउँछन् । कम उमेरमा पीएचडी अध्ययन गरेका सफल प्रहरी अधिकृतमा नाम दर्ज गराएका केसीलाई अपहरणकारीले बच्चा आफ्नो कब्जामा लिएपछि खोजिएका सिसिटिभीमा ठूलो सुटकेस गुडाएर हिंडेको तर बच्चा साथमा नभएको भिडियो देखेपछि धेरै शंका उत्पन्न भएको उनी बताउँछन् ।

घटनाको सूचना पाएपछि प्रहरीले तत्काल आफ्नो संयन्त्रमा यो सूचना पुर्यायो र करिब २ सय प्रहरीलाई संभावित क्षेत्रमा खटायो । साँझ अबेर सूचना पाएपछि रातभर जंगल, होटल सबै स्थानमा खोजियो, नाका सबैमा उच्च कतर्कता अपनाइयो । ‘हाम्रो पहिलो ध्यान नै बच्चाहरुलाई सकुशल उद्दार गर्नु थियो, सैनामैना, बुटवलका जंगल, होटलमा राती ३ बजेसम्म हामी खटियौं’, प्रहरी प्रमुख केसीका यी भनाइले पनि प्रहरीको संवेदनशीलतालाई प्रष्ट पार्दछ ।

अहिले अपहरणमुक्त १२ वर्षीय प्रसिद्ध दाहाल र ९ वर्षीय प्रशन्न दाहाल प्रहरीको संरक्षणमा रहेको र अभियुक्त खिमबहादुर पौडेल पनि प्रहरीको नियन्त्रणमा छन् । त्यसो त अपहरणका मुख्य अभियुक्त पौडेल नाताले ती बालबालिकाका फुपाजु हुन् । बालबालिकाकी आमा पुष्पा दाहालले बच्चाहरु बसबाटै हराएपछि उनीमाथि शंका गरेको प्रहरीलाई जानकारी दिएकी थिइन् ।

अभियुक्त पौडेललाई खोज्न उनकै बुवाले पनि साथ दिएकाले प्रहरीलाई सजिलो भएको थियो । भारतको दार्जिलिङमा लामो समय बसेका अभियुक्त पौडेलले नेपालबाट भारत पुर्याएको भए बच्चाहरुलाई उद्दार गर्न समस्या हुने थियो । उनले आफूलाई उतै सहज हुने भएकाले भारत जाने नजिकका नाका प्रयोग नगरी बसबाट झापा पुर्याएका थिए ती बच्चालाई । प्रहरी सुनौली, कृष्णनगरका नाकामा एलर्ट बसे पनि उनले पूर्वबाट आफूले जानेको बाटो लगेर छलेका थिए ।

प्रहरीले खेमबहादुर पौडेल क्षेत्रीले अन्तिम पटक सम्पर्क गरेका व्यक्तिको सम्पर्कबाट अपहरणकारीलाई पक्राउ गर्न र दाजुबहिनीलाई सकुशल उद्दार गर्न सकिएको बताएको छ । खेमले ५ गते बिहान भाइ गुप्तबहादुर पौडेललाई फोन गरी बुटवलमा सुटकेश ल्याइदिन भनेका थिए । त्यहीं अन्तिम फोनबाट अनुसन्धान गर्दै जाँदा अभियुक्तलाई पक्राउ गर्न सकिएको प्रहरीले जानकारी दिएको छ ।

अभियुक्त सैनामैना वडा नं. ५ घमाहा खोला बस्ने खिमबहादुर पौडेलले पारिवारिक रिसइवीका कारण अपरहण गरेको प्रारम्भिक अनुसन्धानमा प्रहरीले भेटाए पनि यस्तो वास्तविकता सार्वजनिक गरी सबै अभिभावक तथा विद्यार्थीलाई सचेत बनाउनुपर्दछ । यसमा विद्यालय प्रशासनको पनि गम्भीर लापरबाही प्रष्ट देखिएकाले सचेत बनाउँदै अन्य विद्यालय प्रशासनले पनि यो विषयमा सजगता अपनाउनु पर्दछ ।

बिहान विद्यालय आउने बसबाट अपहरणमा परेका दुई विद्यार्थीका बारेमा विद्यालयले समयमा जानकारी नदिएको प्रहरीको गुनासो र अभिभावकको गुनासोलाई सामान्य मान्न सकिँदैन । बीच बाटोमा झारिएका बच्चाका विषयमा विद्यालयले समयमै चासो नराखेर गरेको गल्तीको क्षमायाचना गर्दै यसबाट आगामी दिनमा सजगता अपनाउनुपर्ने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *