माग पूरा नभएसम्म वेल घेराउ र नाराबाजी जारी रहन्छ : एमाले – Nepal Press

माग पूरा नभएसम्म वेल घेराउ र नाराबाजी जारी रहन्छ : एमाले

काठमाडौं । नेकपा एमालेले आफ्ना मागहरु पूरा नभएसम्म संसदको अवरोध कायमै रहने बताएको छ ।

आइतबार संसदमा अमेरिकी सहयोग परियोजना एमसीसी टेबल भएपछि प्रतिक्रिया दिँदै एमालेले आफूहरु कुनै पनि प्रक्रियामा सहभागी नभएको प्रष्टिकरण दिएको छ ।

संसद बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै एमाले प्रमुख सचेतक विशाल भट्टराईले आफ्ना माग पूरा नभएसम्म कुनै पनि प्रक्रियामा पार्टी सहभागी नहुने बताए ।

उनले भने, ‘हामी कुनै पनि प्रक्रियामा सहभागी छैनौँ । हाम्रा माग पूरा नभएसम्म वेल घेराउ र नाराबाजी कायम रहन्छ ।’

नेकपा एमाले सभामुखको अन्याय अत्याचार र विभेदका कारण कामकारबाहीमा विमुख भएर बसेको उनको भनाई छ ।

एमसीसी टेबल हुनुअघि एमाले सांसद भीम रावलले समय लिएर बोलेको प्रति उनले गम्भीर आपत्ति जनाए । पार्टी प्रक्रियामा सहभागी नहुँदा नहुँदैपनि सभामुखले दलको अनुमति बिना बोल्न समय उपलब्ध गराएको भन्दै उनले आपत्ति जनाएका हुन् ।

सभामुखले दलीय अनुमतिबिना बोल्ने समय दिएर दलीय व्यवस्थाविपरित काम गरेको उनको भनाई छ । सभामुखलाई यो विषयमा ध्यानाकर्षण गराएको पनि उनले बताए ।

उनले सत्ता गडठबन्धनका दलहरुले सडक र सदनमा नाटक प्रदर्शन गरिरहेको टिप्पणी पनि गरे ।

उनले भने, सडकमा द्वन्द्व सिर्जना गरेर हिंसा निम्त्याउने । सरकारमा पनि बस्ने, संसदमा पनि उपस्थित हुने । कोही नारा लगाउने कोही मुसुमुसु हाँस्ने नाटक देखिएको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर