गुल्मीका काकाकुल गाउँमा पानीले ल्याएको खुशी
रूपन्देही । गुल्मीको मुसिकोट नगरपालिका ३ वडागाउँको पेगामा डेढ करोडभन्दा बढीको खानेपानी योजना निर्माण भएपछि स्थानीय खुसी भएका छन् । पाँच किलोमिटरभन्दा लामो पाइपलाइनमार्फत पाउखोला पेगा लिफ्ट खानेपानी योजना निर्माण गरिएको छ ।
योजनाको नेकपा एमालेका सचिव तथा गुल्मी क्षेत्र नं २ का सांसद गोकर्ण बिष्टले उद्घाटन गरे । केही पहिलेसम्म गाउँमा दुध मोहीभन्दा पिउने पानी पाउन मुस्किल पर्ने स्थितिको स्मरण गर्दै काकाकुल गाउँमा पानीको धारा र त्यहाँका दिदीबहिनीको अनुहारमा खुशी देख्न पाउनु नै आफूहरुको उपलब्धि भएको प्रतिक्रिया बिष्टले दिए ।
‘चुनावमा भोट माग्दा जनताले सय मिटर पाइप माग्थे । अहिले करोडौंका खानेपानी योजना निर्माण र घरमै धारा खस्ने अवस्था बनाएका छौ,’ उनले भने, ‘अब योजना व्यवस्थित गरेर प्रयोग गर्ने काममा उपभोक्ताहरु गम्भीर बन्नुपर्छ ।’
खानेपानी योजना ०७५/०७६ सालमा निर्माण सम्झौता भएर ०७७/०७८ मा सम्पन्न गरिएको थियो । यो खानेपानी आयोजना लुम्बिनी प्रदेश सरकारको एक करोड ५९ लाख १८ हजार एक सय २५ र स्थानीयको ४६ लाख पाँच हजार नौ सय ८१ रुपैयाँको जनश्रमदान गरेर दुई करोड ५२ लाख चार हजार एक सय छ रुपैयाँको लागतमा निर्माण गरिएको हो ।
पाउखोला पेगा लिफ्ट खानेपानी तथा सरसफाइ योजनाका अध्यक्ष तुल्सीबहादुर रायमाझीले खानेपानी योजनाबाट एक सय ५१ घरमा एक घर एक धारा सञ्चालन भएको बताए ।
लुम्बिनी प्रदेश सभा सदस्य खड्ग केसीले जनताका मझौला समस्या प्रदेश सरकारले पूरा गरिरहेको बताए ।
समन्वय गरेर जनताका साना योजना स्थानीय सरकार, मझौला योजना प्रदेश र ठूलो योजनाहरु संघिय सरकारमार्फत संचालन गरे प्रभावकारी हुने खड्काको भनाई छ ।
मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले नगरको चुनौती र चुनावी नारा भएकाले पाँच बर्षमा दुई दर्जन बढी साना–ठूला खानेपानी योजना निर्माण गरेर घरघरमा खानेपानीको व्यवस्था गरिएको बताए । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख आदिब हुसैनले उपभोक्ता समिति अध्यक्ष तुल्सी रायमाझीलाई योजना हस्तान्तरण गरे ।
सोही अवसरमा हुसैनले मुसिकोटमा खानेपानीको योजना, योजना कार्यान्वयन र परिणाम निकै उदाहरणीय रहेको बताए ।
उनले अरु ठाउँमा सरकारका सम्यन्त्र एकातिर र स्थानीय तह अर्कातिर हुँदा प्रभावकारी योजना संचालन र सदुपयोगमा समस्या भएको स्मरण गर्दै आगामी दिनका चुनौतीमा सजग हुन आग्रह गरे ।
मुसिकोट नगरपालिका ३ कि बसन्ती जिसीले बिगतको खानेपानीको समस्या निकै कष्टपूर्ण रहेको बताइन् । उनले घण्टौ पानी बोकेर उर्जाशील उमेर बितेकाले घर छेउमा पानी आउँदा खुसीको सीमा नरहेको बताइन् ।