एमसीसी नेपालको आन्तरिक मामिला हो, वाकयुद्ध जरुरी छैन : प्रवक्ता महत (भिडओ) – Nepal Press

एमसीसी नेपालको आन्तरिक मामिला हो, वाकयुद्ध जरुरी छैन : प्रवक्ता महत (भिडओ)

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेपालको आन्तरिक मामिलाबारे शक्ति राष्ट्रहरूले वाकयुद्ध गर्न जरुरी नरहेको बताएका छन् ।

पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका प्रवक्ता महतले नेपाललाई आवश्यक विकास सहयोगबारे नेपाल सरकार, राजनीतिक दल र सार्वभौम संसदले आवश्यक निर्णय लिने बताए । एमसीसी सम्झौतालाई नेपालका वामपन्थी दलहरूले अति राजनीतिकरण गरेका कारण अमेरिका र चीनजस्ता राष्ट्रहरूको प्रतिक्रिया सार्वजनिक भएको महतको दावी छ । यद्यपि एमसीसी पारित गर्न सरकारलाई कसैको दबाब नरहेको उनले बताए ।

‘एमसीसी अनुदान अमेरिकी जनताको करको पैसा भएकोले स्वीकार गर्ने वा नगर्ने निधो छिटो दिनुस् भनेर अमेरिकाले भन्नु अस्वभाविक होइन । हामीले यसलाई दबाबका रूपमा लिएका छैनौं । हामीमाथि कसैको दबाब नरहेकोले शक्ति राष्ट्रबीच वाकयुद्ध हुनु राम्रो होइन’, महतले भने । उनले नेपालको विकासका लागि एमसीसीजत्तिकै अनुदान सम्झौता जुनसुकै मित्रराष्ट्रले दिएपनि स्वीकार गरिने बताए ।

‘हामी राष्ट्रहरूबीचको सम्बन्धलाई महत्व दिन्छौं । कुन देशमा कस्तो विचारको पार्टीले शासन गरेको छ, कस्तो प्रणाली छ भन्ने आधारमा हामी व्यवहार गर्दैनौ । मुलुकको हितमा हुने जस्तो सुकै विकास सहयोग जुनसुकै मित्रराष्ट्रबाट स्वीकार गर्नुपर्छ’, महतले भने ।

उनले आफू परराष्ट्रमन्त्री भएकै बेला चीनसँग बीआरआई परियोजनमा सहभागी हुने सम्झौता भएको स्मरण गराउँदै नेपालको विकासका लागि अमेरिका, चीन, भारतलगायत जुनसुकै देश वा बहुपक्षी सहयोग निकायसँग सहकार्य गर्न कांग्रेस तयार रहेको बताए ।

एमसीसीबारे भ्रमपूर्ण प्रचार गरिएकोमा विस्तारै भ्रमको पर्दा खुल्दै गएको महतको दाबी छ । ‘एमसीसीबारे झुठो प्रचार भएको थियो । अब विस्तारै भ्रमको पर्दा खुल्दैछ । कांग्रेस एमसीसीबारे गरिएको भ्रमलाई चिर्दै अगाडि बढ्छ’, महतले भने ।

पत्रकाररूसँगको भेटमा उनले एमसीसी निर्णयार्थ पेस हुने बेलासम्म सत्तारुढ गठबन्धनका दलहरूले लिने निर्णयका आधारमा मात्रै गठबन्धनको भविष्यबारे बताउन सकिने बताए ।

‘गठबन्धनको भविष्यबारे बोल्ने बेला भएको छैन । भर्खर विषय संसदमा पुगेको छ । निर्णय गर्ने बेलासम्म सबै थाहा हुन्छ । अहिले अनुमान नगरौं’, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर