चन्दा नदिएपछि विप्लवका कार्यकर्ताले कालोमोसो दलेः मल्लरानी गाउँपालिका
रूपन्देही । चन्दा रकम नदिएपछि विप्लव नेतृत्वको नेकपाका युवाहरुले नेतृत्वलाई कालोमोसो दल्नेजस्ता अमानवीय व्यवहार गरेको भन्दै प्युठानको मल्लरानी गाउँपालिकाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
पालिका अध्यक्ष अमरध्वज राना, प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापा, शिक्षा शाखा प्रमुख ठाकुरप्रसाद आचार्य, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख शिवराज पण्डितमाथि विप्लवनिकट पार्टीका युवाहरुले सोमबार कालोमोसो दलेका थिए ।
भूमी विकास आधारभूत विद्यालय सरङकोटमा छलफल चलिरहेका बेला एक्कासी ती युवाहरुले चन्दा नदिएकै कारण कालोमोसो दल्ने सम्मको अमानवीय व्यहार गरेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले उक्त कार्यको निन्दा गरेको छ । सुनियोजित रुपमा विप्लवका कार्यकर्ता परिचालित भएको गाउँपालिकाले विज्ञप्ती मार्फत जनाएको छ ।
विप्लवका कार्यकर्ता बताउने गोपीलाल सुनार, होमबहादुर पुन, शिवराज मल्ल, केशव घर्ती, नारायण मल्ल र सूर्य विकले लगाएतले उदण्ड र अमानवीय काम गरेको गाउँपालिका प्रवक्ता गिरिराज पौडेलले विज्ञप्तीमार्फत जानकारी गराएका छन् ।
अराजक समूहमाथि कानुनी कारवाही गर्नसमेत गाउँपालिकाले माग गरेको छ । विप्लव समूहले गाउँपालिकामाथि लगाएका सवै आरोपहरु हास्यास्पद र झुट्टा भएको विज्ञप्तीमा भनिएको छ । विप्लव नेकपाले गाउँपालिकासँग माग गरेको चन्दाको पुष्टि गरेर देखाउन चुनौती दिँदै पालिकाले कुनै आधार र स्रोतबिना कसरी चन्दा दिने भन्दै प्रश्न गरेको छ ।
विप्लवकाे पछि किन केटाहरू लागेका छन् भने पार्टीकाे नाममा चन्दा उठाउने, अलिकति पार्टीलाई दिने बाँकी आफैं झ्वाम पार्ने । कमाउनु परेन, दुःख गर्नु परेन । एकैपटक धनी भईयाे । सिकाउने गुरु प्रचण्ड हाे । उनी लुटेकै पैसाले माेज गर्दैछन् ।