ब्लु इनर्जीको बिजनेस भिसामा याक एण्ड यतीको महाप्रबन्धक, वर्क परमिटबिना काम गरिरहेको खुलासा – Nepal Press

ब्लु इनर्जीको बिजनेस भिसामा याक एण्ड यतीको महाप्रबन्धक, वर्क परमिटबिना काम गरिरहेको खुलासा

काठमाडौं । राज्यलाई ४२ करोड राजश्व नबुझाएको तथा पाँचतारेस्तर ३ वर्षदेखि नवीकरण नगरेको भन्दै पर्यटनमन्त्री प्रेम आलेले बन्द गराएको होटल याक एण्ड यतीले गैरकानूनीरूपमा महाप्रबन्धकलाई जागिरमा लगाइरहेको खुलेको छ ।

हाल पाँच महिनाको बिजनेस भिसामा नेपालमा रहेकी अष्ट्रियाकी नागरिक याक एण्ड यति होटलकी महाप्रबन्धक मोनिका पेट्रा सेइब्लाउर वैधानिकरूपमा ब्लु इनर्जी प्रालिको व्यापारिक साझेदार विदेशी कम्पनीको नेपाल प्रतिनिधि हुन् ।

होटलको महाप्रबन्धकको हैसियतका काम गर्न पर्यटन विभागको सिफारिसमा श्रम विभागले वर्क परमिट दिनुपर्छ । यसअघि नै उनको ३ वर्षको वर्क परमिट सकिएको छ भने उनी अहिले पाँचौ वर्षमा याक एण्ड यतिको महाप्रबन्धकको रुपमा कार्यरत छिन् ।

मोनिका सन् २०१७ देखि नेपालमा पर्यटक भिसामा रहँदै याक एण्ड यतिको व्यवस्थापन सम्हालिरहेकी थिइन् । पटक-पटक पर्यटक भिसा नविकरण गर्दै बसेकी उनले सन् २०१९ को नोभेम्बरमा एक वर्षको लागि कामदार भिसा प्राप्त गरेकी थिइन् ।

वर्किङ भिसा सकिएपछि पुनः पर्यटक भिसामा रहेकी मोनिकालाई याक एण्ड यति होटलका सञ्चालक राधेश्याम सर्राफले ब्लु इनर्जी प्रालिसँग व्यापारिक साझेदारी गर्ने डोमिनियन इन्भेस्टमेन्ट लिमिटेडको तर्फबाट विदेशी लगानीकर्ताको नेपाल प्रतिनिधिको हैसियतमा मनोनयन गरी बिजनेस भिसा दिलाएको खुलेको छ ।

ब्लु इनर्जी प्रालिको सञ्चालकमा शेखरकुमार राणा र विश्वरत्न शाक्यको नाम राखिएको छ भने डोमिनियन इन्भेस्टमेन्ट लिमिटेडको सञ्चालकमा राधेश्याम सर्राफ र रत्नादेवी सर्राफको नाम छ । उनीहरुले बिजनेस भिसा प्रयोजनका लागि मात्र उनलाई नेपाल प्रतिनिधि बनाइ भिसा दिलाएर याक एण्ड यतीको महाप्रबन्धमा राखेको बताइन्छ ।

ब्लु इनर्जी प्रालिको पत्रका आधारमा उद्योग विभागले २०७८ मंसिर ९ गते मोनिका र उनका छोरा एन्टोनलाई विजनेस भिसाको लागि सिफारिस गरेको थियो । विदवेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन बमोजिम विदेशी लगानीकर्तालाई दिइने व्यवसायिक भिसाको ब्लु इनर्जी र याक एण्ड यतीले दुरुपयोग गरेको विभाग स्रोतले जनाएको छ ।

मोनिकालाई वर्क परमिटको लागि पर्यटन विभागमा प्रयास भएको थियो । तर, विभागले होटलको रोयल्टी नबुझाएको, तीन वर्षदेखि पाँचतारे नवीकरण नगरेकोलगायतका कारण देखाउँदै श्रममा स्वीकृतीका लागि प्रस्ताव अघि बढाउन नमानेपछि चोरबाटोबाट बिजनेस भिसा लिइएको हो ।

मोनिका र उनका छोराको नाममा अध्यागमन विभागले दिएको ६ महिनाको बिजनेस भिसाको अवधि आगामी मे महिनाको २६ तारिखमा सकिँदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *