जनआन्दोलनमा हटाइएको त्रिभुवनको सालिक मेयरले ठड्याएपछि नेपालगन्जमा तनाव – Nepal Press

जनआन्दोलनमा हटाइएको त्रिभुवनको सालिक मेयरले ठड्याएपछि नेपालगन्जमा तनाव

साम्प्रदायिक द्वन्द्वको खतरा बढेको भन्दै स्थानीयको चिन्ता

रुपन्देही । जनआन्दोलनपछि हटाइएका सालिकहरु पुनः ठड्याउन थालेपनि नेपालगञ्जमा राजनीतिक दलहरुबीच दुरी बढ्दै गएको छ ।

त्यहाँ रहेका केही पुराना राजाका सालिक राख्ने र हटाउने विषयमा दलहरु विभाजित हुँदा साप्रदायिक घटनाहरु दोहोरिनसक्ने चिन्ता बढ्न थालेकाे छ ।

त्यहाँका विभिन्न दलका नेताहरु तथा सराेकारवाला मात्रै हाेइन् । देशकै नेतृत्व गरेका दल तथा सञ्चार माध्यमले सहजीकरण गरिदिनुपर्ने सुझाव दिन थालेका छन् ।

आफूहरुले मात्रै आवाज उठाउँदा आफै असुरक्षित भइने त्रासमा रहेकाले उनीहरुले आन्तरिक हिसाबले नै यस्तो आग्रह गर्न थालेका हुन् ।

नेपालगन्जको विभिन्न चोकमा पहिले हटाइएका राजाका सालिक राप्रपाले बनाउन थालेको छ भने मधेस केन्द्रित दल, माओवादी केन्द्रलगायतका दलले जसरी पनि ती सालिक हटाउने गरी तयारी थालेको छ ।

नेपालगन्जस्थित त्रिभुवनचोकमा राजा त्रिभुवनको सालिक राखिएपछि सत्तारुढ कांग्रेसबाहेका दल र स्थानीय सरकारको नेतृत्व गरेको राप्रपाबीचको दुरी बढेको छ ।

नेपालगन्ज उपमहानगरको नेतृत्वमा राप्रपाका महामन्त्री डा. धवलशमशेर राणा रहेका छन् । जनआन्दोलनपछि हटाइएको सालिक राखिएपछि कांग्रेसबाहेकका सत्तागठबन्धनका ४ दलले गम्भीर आपत्ति जनाउँदै आएका छन् ।

बाँकेमा रहेका नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत) समाजवादी, राष्ट्रिय जनमोर्चा नेपाल, जनता समाजवादी पार्टीले प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीलाई ज्ञापनपत्र बुझाउँदै सालिक स्थापनाप्रति आपत्ति जनाएका हुन् । यो भन्दा पहिले पनि यी दलले सालिक राख्न नपाइने माग गर्दै आएका थिए ।

दलहरुले बुझाएको ज्ञापनपत्रमा विगतमा भएको सर्वदलीय सर्वपक्षीय, सहमति विपरीत एकलौटी ढंगले चुनावी फाइदाका लागि समुदायमा सम्प्रदायिक द्वन्द्व सिर्जना गर्ने उद्देश्यले जनआन्दोलनमा फालिएका पूर्व राजा त्रिभुवनको सालिक राखेकोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

मधेस केन्द्रीत दलहरुले सालिक राखिएको स्थानमा मधेस आन्दोलनमा २ जनाको ज्यान गएकाले मधेसी चोक राख्ने प्रस्ताव राखेपछि त्यस स्थानका विषयमा थप विवाद उत्पन्न भएको थियो ।

फागुन ७ गते प्रजातन्त्र दिवसका दिन उपमहानगर प्रमुख धवलसम्सेर राणाकै नेतृत्वमा राष्ट्रिय प्रजातन्त्र पार्टी बाँकेले सालिक पुनः स्थापना गरेको थियो ।

त्रिभुवन चौकमा तत्कालीन राजा त्रिभुवनको सालिक स्थापना हुनुपूर्व जुद्धसम्सेरको सालिक रहेको थियो । यसअघि पनि राजाको सालिक राख्ने विषयमा विवाद उत्पन्न भएपछि नेपालगन्ज उपमहानगरपालिका प्रमुख धवलसम्सेर जबराको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले विवादित स्थानमा राष्ट्रिय झण्डा राख्ने सहमति भएको थियो ।

सत्ता गठबन्धनका ४ दलले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएपनि सत्ता गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले भने ज्ञापनपत्र बुझाउने कार्यमा संलग्न देखिएको छैन । सो स्थानमा सालिक स्थापना गरिएकोप्रति सामाजिक सञ्जालमा कतिपय कांग्रेस कार्यकर्ताहरुले समर्थन जनाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर