७० वर्षीया गोमाको स्मृतिमा ३७ वर्षका ‘आजाद’ – Nepal Press
सन्दर्भः आजाद स्मृति दिवस

७० वर्षीया गोमाको स्मृतिमा ३७ वर्षका ‘आजाद’

गत जेठमा गोमा देवकोटाले ७० औं जन्मदिनको केक काटिन् । ७० औं केक त स्टिलको चक्कुले काटिन्, तर समयको चक्कुले उनलाई हजारौं ठाउँमा काटेको छ ।

काँक्रो झैं चिरा–चिरा पारेको छ उनको मनलाई । कहिलेकाहीँ बेस्सरी चहराउँछन्, बेस्सरी दुख्छन् पुराना घाउहरु । अहिलेसम्म उनको पहाडको जस्तो धैर्यता र हिम्मत मात्रै ती घाउहरुमा मलमपट्टी भइरहेको छ ।

उनी ७० वर्ष मात्रै पुगेकी छैनन्, आँखाले पावरवाला चश्मा मागेको छ । नेकपा एमालेको विधानअनुसार उनले ७० वर्षे उमेरहदकै कारण पार्टीको कार्यकारी नेतृत्वको पदबाट पनि बिदा लिएकी छन् ।

जिब्रोले चिनी मागे पनि स्वास्थ्यले बन्देज लगाएको छ । सिन्धुली जिल्लादेखि धौलागिरी अन्चलसम्म अक्करको बाटो हिँड्दै पुग्ने उनका गोडा थोरै सिथिल भएका छन् । उनको गति थोरै सुस्त भएका छन् । खाली पेटमा पटुकी बाँध्दा मात्रै पनि साता दिनसम्म ठिङ्ग उभिने उनको ज्यान थोरै कुप्रो परेको छ । हलोको अनौं समात्ने उनका औंलाहरु कमजोर बनेका छन् ।

उनले बिताएको ७० वर्षमा धेरैथोक बदलिएको छ । धेरैथोक भत्किएका छन्, पुनः बनेका छन् । उनी स्वयं धेरै बदलिएकी छन् । कपाल थोरबहुत फुलेका छन् । तर, नबदलिएको एकै चिज छ उनीसित– उनका श्रीमान् तथा शहीद ऋषि देवकोटा ‘आजाद’को हँसिलो मुहार । परिवर्तनको राँको जस्तो लाग्ने त्यो मायालु अनुहार । ख्याउटे र जुँगाको रेखी मात्रै बसेको ‘आजाद’मा चमचमाइरहने समाजवादको सपना ।

गोमाको सम्झनामा उनको श्रीमान्को स्मृति यत्ति नै हो । पंचायती व्यवस्थाले ११ फागुन, २०३७ सालमा पक्राउ गरेर सिन्धुलीको भिमानको जंगलमा १२ गते गोली हानी मारिदिएपछि गोमाको सम्झनामा त्यही ३७ वर्षको आजाद छ, जो युवा थिए । अहिले पनि त्यही युवा आजाद बेलाबेला गोमाको सपनामा आउँछन्, सम्झनामा आउँछन् । शहीद आजादलाई गोली हानी मात्रै मारिएको थिएन, मट्टितेल खन्याएर जलाइएको पनि थियो ।

उता आजादको शरीरमा मट्टितेल खन्याएर सत्ताले आगो लगाउँदै गर्दा तीनजना चिचिला बालबच्चासहित गोमा आफ्नो माइतमा चार महिनाकी सुत्केरी थिइन् । काखमा चार महिनाकी कान्छी छोरी जोशिला थिइन् । छोरा सुवास, सरोज र छोरी कल्पना हुर्कँदै थिए ।

काँक्रो झैं चिरा–चिरा पारेको छ उनको मनलाई । कहिलेकाहीँ बेस्सरी चहराउँछन्, बेस्सरी दुख्छन् पुराना घाउहरु । अहिलेसम्म उनको पहाडको जस्तो धैर्यता र हिम्मत मात्रै ती घाउहरुमा मलमपट्टी भइरहेको छ ।

जग्गा जमिन थिएन, राज्यले सर्वस्वहरण गरिसकेको थियो । शहीद आजादकै टाउकोको मूल्य पाँच लाख तोकेको समय थियो त्यो ।

त्यसबेला गोमाको आजादसँग भेट नभएको १४–१५ महिना भइसकेको थियो । चिठी र खबरहरुका कारण बाँचिरहेका आजादको मृत्युको समाचारबारे यसरी सुनाउँछिन् गोमा, ‘उहाँ पक्राउ परेको दुई दिनपछि थाहा पाएँ । भिमान आउँदा मारिसकेको रहेछ । प्रशासनले भनेकै थिएन । हामीले खोज्दाखेरि गोली हानेर जलाएर मारिएको थियो ।’

गोमा जम्मा २९ वर्षकी थिइन् । शहीद आजाद नेकपा (चौम)मा सक्रिय भएर रामेछाप, सिन्धुलीमा सक्रिय थिए । नेकपा एमालेका हालका अध्यक्ष केपी ओलीलगायत नेताहरु जेलमा थिए । ईश्वर पोखरेलहरु सिन्धुलीमै थिए । पहाडी इलाकामा बसेर कहिले सशस्त्र क्रान्तिको सपना देख्थे त कहिले गाउँ गाउँमा पुगेर जनतालाई जागृत बनाइरहेका थिए । उनी विस्तारै चौमबाट विरक्तिएर तत्कालीन माले र हालको एमालेसँग सम्पर्कमा थिए ।

आजादसँग गोमाको भेट फुपूमार्फत् भएको थियो । उनकी फुपू पनि राजनीतिमा सक्रिय थिइन् । गोमा त पाँच–सात कक्षामा पढ्दै थिइन् । आजाद भने ०२२ सालदेखि नै विद्यार्थी आन्दोलनबाट राजनीतिमा सक्रिय थिए । विहेको प्रसंगबारे गोमा सुनाउँछिन्, ‘उहाँहरु खुर्कोट आएको बेला फुपूले प्रस्ताव राख्नुभएछ । उहाँ हेर्न पनि आउनुभएछ । अनि हाम्रो प्रगतिशील विवाह भएको थियो ।’

विवाहअघिसम्म गोमा राजनीतिक रुपमा उत्तिसाह्रो सक्रिय थिइनन् । विवाहपछि भने आजादले गोमामा पनि समाजवादको सपना भरिदिए । गाउँ सक्रिय दलमा बसिन् । अनेम संघको जिल्ला कमिटी हुँदै अन्चल कमिटीमा पनि काम गरिन् । यता आजादले नेकपा (चौम)मा असहमति राखेर नेकपा एकता केन्द्र खोलेर नेकपा मालेसँग नजिकिएका थिए ।

यहीबीचमा उनको हत्या गरिएको थियो ।

शहीद आजाद कहिले भारि बोकेर भरिया हुन्थे, कहिले कछाड लगाएर मधेसी हुन्थे । भेष बदलेर कहिले ओखलढुंगा, कहिले धनुषा पुग्थे । गाउँलेकहाँ पुग्दा ढिकी, जाँतो गरेर जनतामा जागरण पैदा गराइरहेका थिए ।

गोमासँग भने चिठीमा मात्रै सम्पर्क हुन्थ्यो । कहिलेकाहीँ आउने–जानेहरुले सन्चै छ भनेर खबर ल्याउँथे । गोमा कथा जस्तो लाग्ने भोगाइ सुनाउँछिन्, ‘म आफू सुत्केरी हुँदा पनि उहाँलाई पार्टीको काममा पठाइदिएँ । मैले माइतीले दिएको गहना बेचेर खर्च दिएँ । कहिले क्लिप बेचेर खर्च पठाएँ । मैले उहाँसित गुनासो कहिल्यै गरिनँ । एक डेढ वर्षमा भेट हुँदा भन्नुहुन्थ्यो, मलाई जहिले पनि मार्न सक्छ । आखेरीमा उहाँलाई मारिदियो नै ।’

त्यसबेला गोमाको आजादसँग भेट नभएको १४–१५ महिना भइसकेको थियो । चिठी र खबरहरुका कारण बाँचिरहेका आजादको मृत्युको समाचारबारे यसरी सुनाउँछिन् गोमा, ‘उहाँ पक्राउ परेको दुई दिनपछि थाहा पाएँ । भिमान आउँदा मारिसकेको रहेछ । प्रशासनले भनेकै थिएन । हामीले खोज्दाखेरि गोली हानेर जलाएर मारिएको थियो ।’

‘लाउन पाइनँ, खान पाइनँ’ भनेर कहिल्यै गुनासो नगरेकी गोमाले बरु आदाजले ल्याएका चिनियाँ कथाहरु खुब पढिन् । गंगलालको चिता पढिन् । ती किताबहरुबाट साहस, हिम्मत बटुलेर जग्गा जमिन नहुँदा पनि छोराछोरीलाई हुर्काएको याद ताजा छ गोमाको ।

गोमा यता छोराछोरीसँग जीवनको युद्ध लडिरहेकी थिइन्, उता आजाद स्वतन्त्रताको युद्ध लडिरहेका थिए । अचानक एक दिन सुनिन्, – ‘तराईबाट पहाडतिर संगठनको काम गर्न जाने बेला भिमानको सेल्टरमा राति खाना खाएर हिँड्छु भन्दा पुलिस र गाउँका फटाहाहरुले घेरेर पक्रिए रे । उनीहरु ५२ जना जत्ति थिए रे ।’

गोमा भन्छिन्, ‘उहाँसित बन्दुक पनि थिएन । पहिला चाहिँ थियो । तर, त्यो मसित राख्नुभएको थियो । छ वटा गोली जाने बन्दुकमा गोली सकिएपछि मसित राख्नुभएको थियो । निशस्त्र हुनुहुन्थ्यो । झोलामा कापी कलम मात्रै थियो । मर्ने भएपछि बन्दुक भएको भए पड्काएर भाग्नुहुन्थ्यो पनि होला, तर थिएन ।’

आजादको मृत्युपछि बच्चाहरुलाई पार्टीले विभिन्न स्थानहरुमा लगेर राखिदियो । गोमा सक्रिय राजनीतिमा लागिन् । कहिले भेरी पुगिन् त कहिले गण्डकी । गण्डकीमा मात्रै आठ वर्ष बसिन् । ०४६ सालको आन्दोलनमा धौलागिरीमा थिइन् ।

संघर्षको त्यो समयलाई गोमा कहालीलाग्दो बताउँछिन्, ‘बच्चाहरु कता कता थिए । भनेको बेला भेट्न पाइन्नथ्यो । बच्चालाई भेट्न पार्टीसँग अनुमति लिनुपथ्र्यो । कहिले डेढ वर्ष लाग्थ्यो बच्चा भेट्न, कहिले दुई वर्ष नै लाग्थ्यो । बच्चाको पढाइ, बसाइ जति आफ्नो बाआमासँग हुन्छ, त्यस अनुसार फरक त हुन्छ नै ।’

बल्लतल्ल कोसिस गर्दा पनि भेट नहुँदा गोमाको मन कटक्क हुन्थ्यो । दश महिनाकी शिशु जोशिलालाई छाडेर भूमिगत भएकी थिइन् । बच्चाको पढाइ बिग्रिएको थियो । राम्रो स्कुल, कलेज पढ्न पाएनन् । यस्ता कुरा सम्झँदा मात्रै पनि गोमाको गला अवरुद्ध हुन्छ ।

गोमा यता छोराछोरीसँग जीवनको युद्ध लडिरहेकी थिइन्, उता आजाद स्वतन्त्रताको युद्ध लडिरहेका थिए । अचानक एक दिन सुनिन्, – ‘तराईबाट पहाडतिर संगठनको काम गर्न जाने बेला भिमानको सेल्टरमा राति खाना खाएर हिँड्छु भन्दा पुलिस र गाउँका फटाहाहरुले घेरेर पक्रिए रे । उनीहरु ५२ जना जत्ति थिए रे ।’

तर, श्रीमान्को मृत्युपछि गोमालाई आजादको अधुरो सपना पूरा गर्नु थियो । र लागिपरेकी थिइन् राजनीतिमा । आजादको मृत्युको शोकलाई शक्तिमा बदलेको बताउँछिन् गोमा । थप कारण छ गोमाको– गाउँका दलालले आजादको मृत्युमा खुसी मनाउँदा, भोज गर्दा र अपशब्दले प्रहार गर्दा उनको शक्ति थपिएको थियो । उनले आजादको किरिया पनि गरिनन् । सेतो लुगा पनि लगाइनन् । अहिलेसम्म लगाएकी पनि छैनन् किनभने गोमालाई जीवनको रङ एकै भएको मन पर्दैन ।

आजाद आजको पुस्ताका लागि मिथक लाग्न सक्छन् । नयाँ पुस्ताले उनको योगदानबारे थाहै नपाएको हुनसक्छ । तर विशेषगरि सिन्धुली–रामेछाप क्षेत्रमा आजादका अनुयायीहरु अझै पनि उनको पदमार्गमा हिँडिरहेका छन् । गोमाले पार्टीको कार्यकारी भूमिकाबाट बिदा लिए पनि छोरा सुवासले एमाले केन्द्रीय सदस्यका रुपमा बुबाको पदचिह्न पछ्याएका छन् ।

छोरी जोशिला पनि अनेरास्ववियुको राजनीतिबाट आरआर कलेको स्ववियु सदस्य निर्वाचितहुँदै अघि बढेकी थिइन् । कल्पना र जोशिला दुवै दिदीबहिनी अहिले अमेरिकामा छन् । कान्छो छोरा सरोज राजनीतिकरुपमा सचेत र सक्रिय छन् तर जीवन निर्वाहका लागि पेशा गर्छन् । आजादको बाटो सन्तानले चाहिँ पछ्याएका छन्, यसमा गोमा सन्तुष्ट छिन् ।

शहीद आजाद बितेको पनि अहिले त ४१ वर्ष भइसकेको छ । तर, आजादहरुले बोकेको सपना अझैं पूरा भएको छैन । जनताको अवस्था सधैं उस्तै छ । नेकपा एमालेबाट प्रतिनिधिसभा सांसद रहेकी गोमा सुनाउँछिन्, ‘शहीदका परिवारले पढ्न पाएका छैनन् । खान, बस्न पाएका छै्रनन् । शहीदहरुको त्यो सपना पूरा हुनुपर्छ । त्यसका लागि म स्वयं थाकिसकेकी छैन । अझैं तागत उस्तै छ । कम्रेड आजादलाई राष्ट्रिय शहीद घोषणा गर्न नै ३५ वर्ष लाग्यो । कत्ति शहीद छन्, जसलाई घोषण नै नगरेर अन्यायमा पारिएको छ । आजादहरुलाई लडाइँ अहिले नै टुंगिसकेको छैन, पुग्नु त धेरै टाढा छ नि !’

तस्बिरहरू : नविनमुनि स्थापित ।


प्रतिक्रिया

2 thoughts on “७० वर्षीया गोमाको स्मृतिमा ३७ वर्षका ‘आजाद’

  1. दिदि तपाईंको सहासप्रती उच्छ सम्मान अनि सलाम गर्छु ।सहिद क आजादप्रती हार्दिक श्रदान्जली ।बिचार फरक भए पनि ब्यबहारिक कठिनाई र जटिलता उतार चढाब एकै छ्न ।दिदी अनि छोरा सुबास लाई धेरै सम्झन्छु ।

  2. मननीय संस्मरण। तत्कालीन अवस्थाको चित्रण।

Leave a Reply

Your email address will not be published. Required fields are marked *