अनामनगरमा चाउचाउ बेच्ने ‘फुपू’को साख, आम्दानी महिनामै लाख
नाम : फूलकुमारी लिम्बु । ठेगाना: इलाम ।
फूलकुमारी लिम्बुको यो नाम र ठेगाना आधा बित्ताको नागरिकतामै सीमित छ । उनले भर्खरै किनेको जग्गाको लालपूर्जासँगै चेपिएर बाकसमा थन्किएको छ । वेला वेला सरकारी कामकाज, रेमिट्यान्स लगायत काममा मात्रै प्रयोगमा आउँछ यो नाम । बाँकी समय त नागरिकतासँगै दराजमा थन्किएर बसिदिन्छ ।
वास्वविक नामभन्दा धेरै पर फुलकुमारी लिम्बु सबैको ‘फुपू’ बनेर फैलिएकी छन् । उनलाई चिन्नेको कमी छैन । माया गर्नेको कमी छैन । आफन्त झैं व्यवहार गर्नेको कमी छैन ।
अनामनगरमा फुपूको स्वामित्वमा सानो ग्रीन टी पसल छ । अगाडि लाखौं लगानी भएको बाजेको सेकुवा र पछाडि जम्काभेट रेस्टुरेन्ट छन् । तर, तिनीहरुबाट फुपुलाई कुनै चुनौति छैन । उनको पसलका आफ्नै ग्राहक छन् । मानौं सबै ग्राहकसँग उनको पारिवारिक साइनो छ । पराइ जस्ता लाग्ने ग्राहक फुपूले अहिलेसम्म देखेकी छैनन् ।
गम खाएर हेर्दा फुपूको अर्गानिक ग्रीन टी हाउस देखिन्छ व्यानरमा । भित्र लामा–लामा दुईवटा टेबुल छन् । छेवैमा अर्को सानो टेबुल पनि छ । त्यहाँ आठ–दश कप ग्रीन टी भिजाएर, थालले छोपेर राखिएका छन् । छेवैमा साँघुरो र एउटा ज्यान मात्र अटाउने किचन छ । किचन छेवैमा अकबरे खोर्सानीलाई अचार बनाएर राखिएका बट्टाहरु लहरै छन् । टिम्मुर भरिएका बट्टाहरु छन् । मह भरिएका बट्टाहरु छन् । ग्रीन टीका प्याकेटहरु छन् ।
साँघुुरो एककोठे सटरभित्र सबै व्यवस्थित छन् । साथै सधैंसधैं आधा दर्जन ग्राहक प्रायः यही सटरमा अटाउँछन् । एक जान्छन्, अर्को ग्राहक आउँछन् । भित्र बढी भीड भएको देखेपछि ‘को निस्किएला’ भनेर बाहिरै उभिएर पालो पर्खन्छन् । भित्र ठाउँ खाली हुनासाथ छिर्छन् । ग्रीन टी पिउँछन् । अकबरे, टिम्मुरको स्वादमा बनेको चाउचाउ खान्छन् । ग्रीन टी र चाउचाउको साथमा जाडोमा फुपूको न्याना गफ र हाँसो थपिन्छ । गर्मीमा फुपूका शितल बोली र हाँसो थपिन्छ ।
कला क्षेत्रको ग्राहक भए कलाका विषयमा बोल्छन् । राजनीतिका भए राजनीतिक तर्क–वितर्क गर्छन् । यसरी नै बिहान साढे छ बजे झुल्केको घाम राति नौ बजे अस्ताउँछ फुपूको । ग्रीन टी बेच्नु, चाउचाउ बेच्नु र गीतसंगीत अनि राजनीतिका गफ सुन्नु उनको दैनिकी हो । कहिलेकाहीँ त राजनीतिप्रति आफ्नो तर्क र राय पनि राखिहाल्छिन् ।
झण्डै एक दशक भयो उनले यो पसल सुरु गरेको । एक दशकमा दश प्रकारकै पेशामा आबद्ध आफन्तजस्ता ग्राहकहरु बनाइन्, जो अहिले पनि उनका नियमित ग्राहकभन्दा ज्यादा दुःखसुखमा भलाकुसारी गर्ने साथी सगोत्री हुन् ।
महिनाको आठ हजार भाडा तिर्ने सटरमा अहिले २० हजार तिर्छिन् । एउटा चाउचाउको ७५ रुपैयाँ लिन्छिन् । चाउचाउ खानकै लागि बीसौँ किलोमिटर टाढाबाट पनि ग्राहक आइपुग्छन् । कोही बूढानिलकण्ठबाट आउँछन् त कोही लुभुतिरबाट । चाउचाउ र ग्रीन टीसँग मीठो आत्मीयता साटेर जान्छन् । कोरोनाकालअघि दिनको दुई सयभन्दा ज्यादा जाने उनको ग्रीन टी अहिले सयको हाराहारीमा जान्छ । सयकै हाराहारीमा जान्छ चाउचाउ पनि ।
फुलकुमारी ऊर्फ फुपूको अनुभवले भन्छ, ‘कुनै पनि व्यवसाय चलिरहनका लागि रेगुलर कस्टमरले धेरै असर गर्दोरहेछ ।’
उनको श्रीमान् शिक्षक छन्, उता इलामतिरै पढाउँछन् । दुई छोराछोरी कलेज पढ्छन् । फुपू एक्लैले साँघुरो सटरमा फराकिलो व्यवसाय धानिरहेकी छन् । परिवारका सदस्य कता कता छन्, तर फुपूलाई एक्लो महसुस भने कहिल्यै हुँदैन रहेछ । परिवार जस्ता ग्राहकसँग गफिँदै दिन बिताउँछिन् । सातामा एक दिन मात्रै बन्द गरिन् भने छट्पटीले छोप्छ, पसल आइपुगिहाल्छिन् ।
हाँस्दै सुनाउँछिन् फुपू, ‘बानी परेछ मेरो त । हरेक दिन यहाँ आइनँ भने के नपुगेको के नपुगेको जस्तो हुन्छ । यहाँको माहौल नै त्यस्तै हुन्छ, परिवारसँग गफ गरेर दिन कटाएजस्तो लाग्छ ।’
उनका ग्राहकहरु पेशाले पत्रकारिता, राजनीति, गीतसंगीत–फिल्म क्षेत्रका बढी हुन्छन् । गफ पनि राजनीतिक नै बढी हुन्छ । बितेको एक दशकले इलामकी फुलकुमारी लिम्बुलाई ‘फुपू’ मा मात्रै परिणत गरेन, राजनीतिक चेत पनि थपिदियो । समकालीन राजनीतिक घटनाक्रमप्रति अपडेट गराइरह्यो । एमसीसीदेखि अनेक राय सुनिरहेकी हुन्छिन् ।
‘सबै दलका नेता कार्यकर्ता आउँछन् । देश कसरी बनाउने भनेर गफ गर्छन् । अनि षड्यन्त्र गर्ने खालको पनि छलफल गर्छन्,’ लामो हाँसो हाँस्छिन् फूलकुमारी, अनि विस्तारमा बोल्छिन्, ‘जुन एमसीसी छ नि, त्यहाँ केही न केही हुन्छ भनेर एक खालको मान्छे कुदिरहेका छन् । फेरि नो एमसीसी भन्नेहरुको पनि केही त छ नि !’
फुलकुमारीको चिया पसलमा नेताहरु मनोजमणि आचार्यदेखि खगेन्द्र हमालसम्म, सांसद प्रकाश स्नेही रसाइलीदेखि प्रतिमा गौतमसम्म आइपुग्छन्,– गीन टी र चाउचाउ खान । गायिका ज्योति मगर उनको नियमित ग्राहक हुन् ।
फिल्मी लाइनमा ग्राहक आउँदा कस्ता गीत चलिरहेको छ, कस्ता गीत बढीजसो बनिरहेको छ भनेर छलफल गर्छन् । अनि कस्ता खालका गीत चल्दा रहेछन् त बजारमा ?
फुलकुमारी चलाख जवाफ दिन्छिन्, ‘हामीलाई त पूूर्वेली नै मनपर्छ । तर, यही गीत मन पर्छ भनेर भन्दा पछि मेरो कुरा उनीहरुले सुने भने अरुको गीतको मात्रै नाम लिएछ भन्लान् । एउटाको मात्रै गीत चल्यो भनेर भनिदिनु भएन नि ! एउटा ग्राहकको मात्रै नाम लिएर अरु ग्राहकको किन चित्त दुखाउनु र !’
इलामको अकबरे, त्यसमा टिम्मुर र अचारले स्वादिलो बनाएकाले टाढाटाढाबाट चाउचाउ खानकै लागि ग्राहक आउने गरेको फूलकुमारीको अनुमान छ । साथै चना, केराउ र सागपात हालेकाले पनि स्वादिलो भएको हो कि लाग्छ उनलाई । सुनाउँछिन्, ‘एउटा शब्द हुन्छ नि स्पाइसी भन्ने । त्यही भएर मन पराएको हो । मुख्य चाहिँ खोर्सानी र टिम्मुरले गर्दा पनि हो ।’
पसल सुरु गर्दाताका उनलाई आफ्नै भदाले मात्रै फुपु भन्थे । उनका एक ग्राहक थिए राजनीतिज्ञ खगेन्द्र हमाल । हमालले उनलाई ‘बहिनी’ भन्ने गर्थे । अलि पछि हमालका ज्वाइँ कांग्रेस नेता मनोजमणि आचार्य पनि आउन थाले । आचार्यले पनि बहिनी भन्न थाले ।
‘अनि ससुराले पनि बहिनी भन्ने, ज्वाइँले पनि बहिनी भन्ने । यो त भएन भनेर मनोजमनिलाई फुपू भन्नु भनेँ । त्यसपछि उनले फुपू भन्न थाले । अनि उनले भनेको सुनेर अरुले पनि फुपु भन्न थाले,’ फुलकुमारीले सुनाइन् ।
सबैले फुपू भन्न थालेपछि उनले ब्यानरमै फुपू राखिदिइन् । फुपूको चाउचाउका प्रशंसक धेरै छन् । सबैले स्वादिला्े भन्छन् । तर, स्वादिलो चाउचाउका लागि फूलकुमारीको मिहेनत र प्रयोगको प्रक्रिया पनि लामै छ ।
‘यो चाउचाउ बनाउन काम र कर्मले सिकाएको हो । सुरुमा अकबरे खोर्सानी लगाइयो । त्यसपछि टिम्मुर लगाइयो । स्वादिलो हुँदै गयो र अचार, सागपात पनि हाल्न थालेँ । सबैले मनपराउनुभयो,’ फूलकुमारीको चाउचाउ सबैले मन पराउनुको कारण बताउँछिन् ।
फुलकुमारीकहाँ ग्रीन टी र चाउचाउ मात्रै छैन । घरमै लगेर खानका लागि ग्रीन टीको प्याकेट छ । टिम्मुर पनि बट्टामा राखेर बेच्न राखेकी छन् । अकबरेको अचार पनि बिक्रीमा छ । इलामको मह पनि राखेकी छन् ।
तर, दिनदिनै बिहानदेखि बेलुकासम्म खटिइरहँदा थकाइ लाग्दैन ? ‘बानी परेपछि थकाइ लाग्दैन रहेछ । सबै ग्राहकसँग पारिवारिक सम्बन्ध भएर पनि होला । ग्राहक पनि खुलेर कुरा गर्छन्, म पनि त्यस्तै छु,’ फुलकुमारी सुनाउँछिन् ।
उनको अनुभवले भन्छ, व्यवसाय गर्दा नम्र हुन जान्नुपर्छ । उग्र भएर व्यपार हुँदैन । त्यसरी मान्छे टिक्दैन ।
फुलकुमारीको ग्राहकसँग सापटी लिने–दिने चलिरहन्छ । कोहीलाई सापटी पनि दिइरहन्छिन् । उधारोहरु पनि चल्छ । फुलकुमारीका अनुसार ग्राहकहरु साह्रै इमानदार छन् । बाँकी राखेर महिनौं नआउने खालका छैनन् । महिनामा दुईदेखि अढाइ लाखको व्यापार गर्छिन् । उक्त करोबारबाट उनलाई एक लाख जति बच्छ ।
भन्छिन्, ‘नेट बच्ने भनेको एक जति हो । यही पैसाले छोराछोरी पढाउँछु । घरपरिवार चलाउँछु । जगा किनेको किस्ता तिर्छु ।’
०००
तस्बिर : गौरव पौडेल ।