केपी ओलीलाई सही साबित गर्ने प्रचण्ड–माधवका १२ बुँदे व्याख्यात्मक टिप्पणी
नेकपा कालमा प्रचण्ड र माधव नेपालले अध्यक्ष कमरेड केपी शर्मा ओलीका विरुद्धमा जे–जे विषय उठाएर विग्रह सिर्जना गरी पार्टी विभाजनमा भूमिका खेले, समयक्रममा ती सबै विषय छोडेर आफूलाई चरम अवसरवादी भएको प्रमाणित गरे । तर पनि प्रचण्ड र माधव नेपालको साथमा रहनेहरु अझै अध्यक्ष ओलीलाई नै समस्या मान्दैछन् । यी तथ्यहरुले अब त सत्यसँग लड्न सकिँदैन र हुँदैन भन्ने चेतना उनीहरुमा समेत आउनुपर्ने हो ।
१. जनादेश खण्डित भएको अवस्थामा जनतामा जाने कुरालाई प्रतिगमन भन्ने प्रचण्ड र माधव नेपालले स्थानीय चुनावअगावै वैशाखमा प्रतिनिधिसभाको चुनाव गर्ने प्रस्ताव राखे । तर उनीहरुको प्रस्ताव एमाले र नेपाली कांग्रेस दुवैले अस्विकार गरे । पाँच वर्ष नपुग्दै चुनाव गर्नु गलत भए स्थानीय चुनाव रोक्नेगरी वैशाखमै प्रतिनिधिसभाको चुनाव गर्ने प्रचण्ड प्रस्ताव पनि त गलत हुन्थ्यो होला नि !
२. केपी ओली प्रधानमन्त्री हुँदा ४० प्रतिशत संसदीय दलका सदस्य भए दल विभाजन गर्न पाउने गरी ल्याएको अध्यादेशको विरोध गरे । नेपाली कांग्रेससमेतको विरोध भएपछि अध्यादेश फिर्ता गरियो । तर पछि २० प्रतिशतले नै दल विभाजन गर्न पाउने गरी अध्यादेश जारी गरे । एमाले पार्टीको विभाजनसंगै उक्त अध्यादेश फिर्ता लिए ।
३. पार्टी एकताका लागि प्रधानमन्त्री र पार्टी अध्यक्षमध्ये एक पद छोड्नु पर्ने मागसहित एक व्यक्ति, एक पदको कुरा गरे । तर पार्टी विभाजनपछि प्रचण्ड र माधव नेपाल दुवै आफैंले अघि सारेको मान्यताविपरीत पार्टी र दल दुवैको एकसाथ नेता बन्न पुगे ।
४. नेकपाकालमा सभामुखमार्फत संसदमा एमसीसी टेबल गर्नमा रोक लगाए । तर कांग्रेसले दबाब दिनेबित्तिकै सभामुखमार्फत संसदमा टेबल गर्न लगाए ।
५. एमसीसीमार्फत सहायता पाउनका लागि आफू सरकारमा रहँदा पत्राचार गरे । सरकारमै रहेका बेलामा संझौता समेत गरे । तर एमसीसी राष्ट्रघाती संझौता हो भन्दै कार्यदल बनाउनेदेखि सडक आन्दोलन गर्नेसम्मको रमिता देखाए । तर अहिले सत्ताबाट बाहिरिने त्रास बढेपछि एमसीसी पास गर्न तयार भए ।
६. नेकपा गठनपछि आफैंले छाडेको र पार्टीले अस्वीकार गरेको आलोपालोको कुरा गरेर आफ्नै पार्टी नेतृत्वको सरकार ढाल्ने अनुचित काममा लागे । तर पछि सरकारमा आफ्नो नेतृत्वको दाबी छोडेर संसदमा आफ्नो हाराहारीमा रहेको कांग्रेस नेतृत्वको सरकारमा निशर्त सहभागी भए ।
७. नेकपाकालमा सबै सूचकहरुले सरकारको काम राम्रो रहेको देखिँदा देखिँदै पनि सरकारले कुनै राम्रो काम गर्न नसकेको आरोप लगाएर नेतृत्वको विरोध गरे । तर अहिलेको गठबन्धन सरकारले अर्थतन्त्र नै तहसनहस बनाउँदा पनि चुप लागेर सरकारको प्रतिरक्षा गरिरहेका छन् ।
८. माधव नेपालले सदैव आफूलाई विधि र पद्धतीको पक्षमा रहेको दाबी गरे । तर अन्त्यमा नेपालको संसदीय इतिहासमा सबैभन्दा धेरै विधि र पद्धती उलंघन गर्ने नेताका रुपमा आफूलाई प्रस्तुत गरे ।
९. अदालतमा सेटिङको आरोप केपी शर्मा ओलीमाथि लगाउने काम गरे । तर अदालतमा चलिरहेको आन्दोलनका क्रममा परमादेशी सरकार नै सेटिङबाट निर्माण भएको पुष्टि हुन पुग्यो । अनि अदालतमा विचाराधीन मुद्दा र स्थानीय निर्वाचन सार्नका लागि प्रधानन्यायाधिशमाथि महाअभियोग लगाउने काम गरे । निर्वाचन रोक्ने उद्देश्यले मुद्दा दर्ता गर्न लगाए ।
१०. नेकपाको रक्षा आफ्नो नेतृत्वमा मात्र सम्भव हुने कुरा गरे । एकताको मर्म र भावनाविपरीत महाधिवेशनको सम्प्रभुतालाई समेत कुल्चँदै केपी शर्मा ओलीलाई अध्यक्ष, दलको नेता र पार्टीको साधारण सदस्यबाट समेत हटाए । तर अदालतमा नेकपाको नाममा विचाराधीन मुद्दामा ऋषि कट्टेलका पक्षमा फैसला भएपछि एकताको कुरा गर्न नै छोडे । यतिबेला माधव नेपाल र प्रचण्ड दुवै अलग–अलग पार्टीको मुखिया बन्न पुगेका छन् ।
११. हिजो नेकपा भएको समयमा केपी ओलीको नेतृत्वमा रहेर चुनावमा जानै नसकिने अवस्था छ भनेर भ्रम सिर्जना गरे । तर आज केपी ओलीको नेतृत्वको पार्टीलाई हराउन पाँच दलीय गठबन्धन अपरिहार्य रहेको बताउन थालेका छन् । चुननवमा जान खुट्टा कमाइरहेका छन् ।
१२. नेकपा भंग भएपछि नेकपा(एमाले)संग कुनै प्रकारको सहकार्य गर्न सकिँदैन भन्दै घृणाको राजनीति गरे । जब एमसीसी प्रकरणमा कांग्रेसले सरकारबाट हटाउने कुरा गर्न थाल्यो, तब नेकपा(एमाले)संग वामपंथी सहकार्यको प्रस्ताव राख्न पुगे ।
यी तथ्यहरुले विगतमा अध्यक्ष केपी शर्मा ओलीका विरुद्धमा लगाइएका सबै आरोपहरु कुण्ठाग्रस्त मानसिकताका उपज थिए । अनि उनीहरु दुवैबाट संचालित अभियानहरु सत्तास्वार्थबाट प्रेरित दक्षिणपंथी अवसरवादमा आधारित अभियान थिए भन्ने पुष्टि हुँदै गएको छ ।
यस्तो अवस्थामा प्रचण्ड र माधव नेपालको साथमा रहेकाहरुले नयाँ ढंगले सोच्ने बेला भएन र ?
दलालहरू र देश बेचुवाहरूलाई सटिक प्रहार ।