डेढ वर्षपछि लुम्बिनीमा विद्युतीय बस सञ्चालनको बाटो खुल्यो – Nepal Press

डेढ वर्षपछि लुम्बिनीमा विद्युतीय बस सञ्चालनको बाटो खुल्यो

रुपन्देही । डेढ वर्षयता बुद्ध जन्मस्थल लुम्बिनीमा अलपत्र विद्युतीय बस र ट्याक्सीले दर्तासँगै नम्बर प्लेट पाएपछि सञ्चालनको बाटो खुलेको छ ।

लुम्बिनीको वातावरण प्रदूषण कम गर्न गतवर्ष लुम्बिनी ल्याइएका १९ विद्युतीय बस र ट्याक्सी संचालनका लागि यो प्रकृयासँगै संचालनमा सहज भएको हो । ती सवारीसाधन संघीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहत आएका छन् ।

अब मन्त्रालयले कोषलाई दिएपछि संचालनको प्रकृया सुरु हुने लुम्बिनी विकास कोषले जनाएको छ ।

संघीय मन्त्रालय र लुम्बिनी विकास कोषबीच समयमै समन्वय नहुँदा रोकिएका ती साधनले १६ महिनापछि मात्रै ती सवारीसाधनले नम्बर पाएका हुन्  ।

लुम्बिनी प्रदेश यातायात व्यवस्था कार्यालय बुटवलले सवारीसाधन दर्ता गरेर ब्ल्यु बुक दिएसँगै नम्बर प्लेट लगाइएको हा ।

लामो समय खुला आकाशमुनि थन्किएका १४ ट्याक्सी र ५ विद्युतीय बस अब सञ्चालन हुन नसक्दा बिग्रने चिन्ता बढेको थियो ।

विश्व सम्पदास्थलमा सूचिकृत लुम्बिनीमा वातावरण प्रदूषण कम गर्न र पर्यटकलाई सुविधा दिन भन्दै भित्र्याइएका बस र ट्याक्सी संचालनको छाँटकाट नै नदेखिएपछि पर्यटन व्यवसायीहरु चिन्तित बनेका थिए ।

गत बुधबार नम्बर प्लेट जडानसँगै सबै लुम्बिनी विकास कोषका सदस्य–सचिव सानुराजा शाक्यले अबको दुई–तीन सातामा मन्त्रालयले लुम्बिनी विकास कोषको नाममा सवारीसाधन नामसारी गर्ने बताए  ।

लुम्बिनीका लागि आएका बस र ट्याक्सी संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्रालयले टेन्डर गरेर ल्याएको हुँदा सुरुमा उसको नाममा आएको र सवारीसाधन कुन मोडालिटीमा सञ्चालन गर्ने भन्ने छलफल थालेको उनले बताए ।

उनले प्रदेश सरकारसँग समन्वय गरेर छिटै संचालनको मोडालिटी बनाउने जानकारी दिएका छन् ।

एसियाली विकास बैंकको अनुदान सहयोगमा क्लिन इनर्जी प्रोजेक्ट अन्तर्गत १३ करोड रुपैयाँ लागतमा ट्याक्सी र बस भित्रिएका हुन्  ।

सरकारले साढे ३ करोड भन्सार शुल्क व्यहोरेको छ । सवारीसाधनका लागि लुम्बिनीमा बिजुली बस चार्जिङ स्टेसन सञ्चालनमा आइसकेको छ  ।

उक्त प्रोजेक्ट अन्तर्गत १५ करोड लागतमा बनाइएको चार्जिङ स्टेसन गत डिसेम्बारमै सञ्चालनमा आएको हो ।

विश्वलाई लुम्बिनीसँग जोड्न भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट लुम्बिनीसम्म पर्यटक र तीर्थयात्रीलाई ल्याउन÷लैजान प्रयोग गरिनेछ  ।

त्यस्तै लुम्बिनीलाई विभिन्न बुद्धस्थल तिलौराकोट, रामग्राम र देवदहसँग जोड्न र त्यहाँ पर्यटक आवतजावत सजिलो बनाउन बस सञ्चालन गर्न पठाइएको हो । बस र ट्याक्सी अत्याधुनिक छन् । ठूलो बसमा १९ सिट छन् । साना भ्यान ५ सिटे हुन् । एक पटक फुल चार्ज गरे ४ सय किमिसम्म गुड्न सक्ने क्षमताका रहेका छन् ।

मुलुकको प्रमुख पर्यटकीय गन्तव्य रहेको लुम्बिनीमा यसखालका यातायात संचालन हुने खबरले उत्साही भएका यस क्षेत्रका बासिन्दालाई यो खबरले निराश बनाएको थियो ।

खुल्ला आकाशमुनि थन्काएर राखिएका यी सवारी साधन नचलाई राख्दा छिटो बिग्रनसक्ने यातायात क्षेत्र प्राविधिकहरुले बताउँदै आएका छन् ।

यसका लागि आवश्यक चार्जिङ स्टेसन करिब–करिब तयार भए पनि संचालनको मोडालिटी तयार नहुंदा लुम्बिनीमा लामो समयदेखि खुल्ला आकाशमुनी सवारी थन्काएर राखिएको हो ।

पर्यटन व्यवसायीले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट विश्व पर्यटकीयस्थल लुम्बिनीसम्म पर्यटक र तीर्थयात्रीलाई ल्याउन÷लैजान बस र ट्याक्सी प्रयोग गरिने योजना सार्वजनिक भएपछि पर्यटक आकर्षण गर्न सकिने भन्दै खुसी व्यक्त गरेका थिए ।

तर लामो समय नचलाएर खुला आकाशमुनी राख्दा बिग्रने, पाटपुर्जामा समस्या आउने र टुटफुट हुने जोखिम बढेको छ । सुरुमा जाँच गरिए पनि अहिले ती सवारी प्राविधिक रुपमा ठीक छन्÷छैनन् भनेर जाँचपास पनि गरिएको छैन ।

सवारी साधन यत्तिकै थन्काएर राख्दा समस्या आउने यातायात क्षेत्रका प्राविधिक बताउंछन् । विद्युतीय सवारी साधन यहाँ ल्याइएपछि विकास कोषले संचालनको योजना बनाउन थालेको थियो ।

तर संचालनको ठोस मोडालिटी अझै बनाइसकेको छैन । विकास कोष आफैंले विद्युतीय सवारी सञ्चालन गर्नसक्ने अवस्था नरहेको बताउँदै आएको छ ।

कोषले टेण्डर आह्वान गरी सवारी सञ्चालन गर्न निजी कम्पनीलाई दिने मनसाय बनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर