जलवायु परिवर्तनमा नेपाल पहिलो भल्नरेबल, राष्ट्रसंघमा प्रमाण पेस गरिने !
वन मन्त्रालयमा स्ट्राटेजिक मिटिङ बस्यो । नेपाललाई जलवायु परिवर्तनबाट सबैभन्दा बढी जोखिममा रहेको ‘पहिलो मुलुक’ बनाउने निर्णय भयो । यसबाट वन मन्त्रालयका अधिकारीहरू निकै उत्साही भए । अनवरत ‘सेवा’ गरेर मुलुकलाई प्रथम बनाउन सफल हुन लागिएकोमा खुशी भए, एक–आपसमा बधाई साटे । ‘अलार्मिङ (सनसनीपूर्ण)’ र ‘वन्डरफुल’ आइडियाका लागि मालपानीदाता श्वेतचर्मदेव पालितपोषित नेपाली फण्डितगण, गोष्ठीजिवी र ‘कोप’यात्रीहरूलाई धन्यवाद गरे।
मन्त्रालयका उच्च अधिकारीहरूको टोलीले मन्त्रिपरिषद्मा जलवायु परिवर्तन ‘मालदार’ बिषय भएको र ‘मोष्ट भल्नरेबल’ भनेपछि बर्सेनि अर्बौं डलर आउँछ भनी ‘ब्रिफिङ्ग’ गरे । सिङ्गो मन्त्रिपरिषद् हर्षले पुलकित भयो।
राष्ट्रसंघबाट ‘जलवायु जोखिममा प्रथम’ घोषणा गराउन अकाट्य प्रमाण जुटाउने निर्णय भयो ।
मन्त्रालयले प्रमाण जुटाउन गोष्ठि गर्ने निधो गर्यो । कोपयात्री र गोष्ठीजिवीको उत्साहको सीमा रहेन । वैज्ञानिक समुदायमा आफ्नो फेस भ्यालिडिटि भएको दाबी गर्ने फण्डितहरूको डनले गोष्ठिमा प्रमाणहरूको ‘केस स्टडि रिपोर्ट’ प्रस्तुत गर्ने भयो।
काठमाण्डौंको एक रिसोर्टमा ‘एभिडेन्स् शेयरिङ्ग एण्ड सिन्थेसिस साइन्टिफिक वर्कशप’ आयोजना गरियो ।
०००
डेढ घण्टा लामो ब्रेकफाष्ट सेसनपछि सबै सहभागी वातानुकुलित हलमा जम्मा भए । सहभागीलाई ‘वैज्ञानिक फिलिङ’ दिन हललाई बैंककबाट झिकाइएका फूलहरूले सजाइएको थियो । सबैलाई सजाइएका गोलो टेबल वरिपरीका मेचमा बसाइयो । हरेक टेवलमा युरोपबाट मगाइएका चकलेट, ड्राइ फ्रुटस्, नटस्, जुस आदि राखिएको थियो ।
सबैलाई कन्सन्ट्रेट हुन भन्दै डनफण्डितले हलको भित्तामा केस स्टडी बेस्ड एभिडेन्स डिस्प्ले गर्यो ।
‘… जलवायु परिवर्तनका कारण वनमा डढेलो लाग्यो । डढेलोमा परेर सत्यदेवी घाइते भइन् । उनको उपचार संभव भएन। डा. धन्वन्तरीले पनि निको पार्न सकेनन् । सत्यदेवीको लाइफ लस भयो । विश्वको पहिलो जलवायु शहिद !’ डनफण्डितले विजयी भावमा भन्यो ।
कसैले होइन भनेर भेरिफाइ गर्न नसक्ने प्रमाणले कोपयात्रीको खुशीको सीमा रहेन । अनि एक्कासी हलमा सन्नाटा छायो, अर्थात् सर्पराइज साइलेन्स !
नेपाली जलवायु फण्डित विपद्का घटनाबाट औधी खुशी हुन्छन् । विपद्का रङ्गीचङ्गी कहानी बनाएर विश्वयात्रामा जान पाइन्छ नि ! एकपल्ट हवाइजहाज चढेर उता जान पाए सोझै विज्ञ, वैज्ञानिक जो भइन्छ ! वनमा लागेको डढेलो निभाउनु हुँदैन, त्यसको डकुमेण्ट्री बनाएर कोपयात्रामा जानु पर्छ भन्ने वन मन्त्रालयको मान्यता छ ।
केही बेरको सन्नाटापछि प्रस्तुति कन्टिन्यु भयो । ‘वाइफ लसको पीडा, सुख्खाका कारण भएको अनिकाल, खाने बस्ने ठाउँको अभावमा सत्यदेवीका हस्बेण्ड शिव आकुलव्याकुल भए । एडभर्स कलाइमेटको इम्प्याक्टका कारण उनी ७० वर्षको बुढो शिव भट्टमा चेञ्ज भए’, डनले भन्यो ।
सहभागीले त्यसपछि के भयो होला भन्ने सोच्दै थिए, ‘… शिव भट्ट आफ्नो ओरिजिनल ठाउँमा बस्न नसकेर लावण्य देशमा ‘माइग्रेट’ भए । ‘कलाइमेट माइग्रेशन’! फस्र्ट कलाइमेट रेफुजी इन द वर्ल्ड ! आइ मिनऽ नेपालका शिव भट्ट सन्सारको पहिलो जलवायु शरणार्थी !’ डनफण्डितले जोड दिएर भन्यो ।
अकाट्य प्रमाण पाउँदा वन मन्त्रालयका अधिकारीहरूको खुशीको सिमा रहेन । हलमा फेरि ताली बज्यो ।
डनफण्डितले अगाडि भन्यो, ‘… एक दिन शिव भट्ट भिक्षा माग्दै गोमाको घरमा पुगे। गोमाका बाबुसँग ‘इन्ट्रोडक्सन’ पछि शिव भट्ट ‘सिङ्गल’ भएको थाहा भयो । अनिकालमा परेको गोमाको बाउले ‘यसले मागेर भए पनि मेरी छोरी पाल्छ।’ भन्ने सोचेर गोमालाई शिव भट्टको जिम्मा लगाई पठाए। यसरी ७ वर्षकी गोमाको बालबिवाह भएको थियो, ७० वर्षका शिव भट्टसँग ।’
‘गोमाको बाल विवाह जलवायु परिवर्तनको कारण भएको थियो। त्यो टाइमदेखी नेपालमा बाल विवाह बढेको हो’, डनफण्डितले निष्कर्ष सुनायो ।
‘सो साइन्टिफिक, सो लजिकल, सो स्ट्रोङ्ग एभिडेन्स् बेस्ड !’ सरकारी फण्डितले भने ।
‘एकछिन ब्रेक गरौं डाक्साब ?’, गोष्ठीजीविले सोधे ।
०००
‘विवाहपछि शिव भट्टले गोमालाई शाली नदी पारि लगे । ससुराली गाउँमा मागेर खान हुँदैन भन्ने इन्डिजिनस प्राक्टिस हो हाम्रो । शिव भट्ट साँखुतिर माग्न आएनन् । जसोतसो गरेर ‘लाइफ’ चलाए ।’ डनफण्डितले लामो सास तान्दै भन्यो । ‘… जलवायुजन्य रोगका कारण एक दिन शिव भट्टको मृत्यु भयो ।’
हलमा फेरि सन्नाटा, अर्थात् माउर्निङ साइलेन्स ।
“वाउऽऽऽ ! सेकेण्ड ‘कलाइमेट मार्टिर’ अल्सो नेपाली !” कोपयात्री खुशीले एक्कासी चिच्याया े।
“…एनि वे, गोमाले ‘लाइफ रन’ गरिन् ।” डनफण्डितले भन्यो, “लोकल अड्याप्टेसन !”, डनफण्डितले भन्यो ।
“सो नाइस एक्जाम्पल! बेस्ट अफर टु द वर्ल्ड !” सरकारी कोपयात्रीले हर्ष प्रकट ग¥यो।
०००
डनफण्डितले प्रस्तुती निरन्तर गर्यो । “… केही वर्षपछि लावण्य देशमा फेरि जलवायु परिवर्तनको इम्याक्ट पर्यो । लामो समयसम्म खडेरी परेर पानीका मुहान सुके । शाली नदी सुकेर बगरै बगर भयो ।”
“एक दिन क्विन चन्द्रावती पाल्कीमा बसेर शाली नदीको बगरको बाटो माइत जाँदै थिइन्। एक्कासी ठुलो ‘टोर्नाडो’ आयो। ‘इक्स्ट्रिम इभेण्ट’!” डनफण्डित रोकियो।
“यस्ता इभेण्ट अझै बढ्ने छन्।” सरकारी फण्डितले भने ।
डनफण्डितले भन्यो, “टोर्नाडोले क्विन चन्द्रावतीको पाल्की उडाइदियो, बगरको रकमा ठोकिएर त्यो ड्यामेज भयो। पाल्की बोक्नेहरू अत्तालिएर दौडे। उनीहरू हावाले उडाएको बालुवाले पुरिए। तिनीहरूको लाइफ लस भयो।
त्यो टोर्नाडोमा साँखु एरियामा कैयौंको लाइफ लस भयो। कैयौंका घर, अन्नपात, खेतिपाति ड्यामेज भयो।”
“सो दिस इज लस एण्ड ड्यामेज।” डनफण्डितले आफ्नो कार्यपत्र सकिएको सङ्केत गर्यो।
“सो मच प्रुफ इन इम्प्याक्ट! वोन्डरफुल लस एण्ड ड्यामेज!” कोपयात्रीले भने।
“अब नेपालले यी एभिडेन्स् सहित कोपमा नेगोसिएसन लीड गर्छऽऽऽ!” वन मन्त्रालयका सचिवले घोषणा गरे।
गोष्ठीका सहभागीहरूमा हर्षोल्लास फैलियो । हलमा ताली बजिरह्यो।
ईतिश्री फण्डित पुराणे, श्वेतचर्मदेव माहत्मे, कलाइमेट चेञ्ज प्रुफ खण्डे, डनफण्डितस्य अनन्तगम्य फत्तुर प्रवचने, गोष्ठि अध्याय नमः।