कांग्रेस बनेका गुण्डा नाईके शुक्रले गरे कांग्रेसकै नेतामाथि सांघातिक आक्रमण – Nepal Press

कांग्रेस बनेका गुण्डा नाईके शुक्रले गरे कांग्रेसकै नेतामाथि सांघातिक आक्रमण

काठमाडौं । आपराधिक पृष्ठभूमीबाट नेपाली कांग्रेसको राजनीतिमा प्रवेश गरेका गुण्डा नाईके शुक्र तामाङले दोलखा स्थित भीमेश्वर नगर कांग्रेसका नेता नारायण ठकुरीमाथि सांघातिक आक्रमण गरी गम्भीर घाइते बनाएका छन् ।

आईतबार बेलुकी चरिकोट–तामाकोसी सडक खण्डको मेलघुम्ती नजिक मोडमा बाटो ढुकेर बसेका तामाङ सहित १० जनाको समूहले ठकुरीलाई आक्रमण गरी गम्भीर घाईते बनाएको हो ।

टाउको र शरीरका विभिन्न भागमा चोट लागेका ठकुरीको अवस्था गम्भीर छ । ठकुरी वैत्येश्वर गाउँपालिका १ का कांग्रेस कार्यकर्ता सुवास लामाको घरमा आयोजित धार्मिक कार्यक्रमबाट चरिकोट फर्किदै थिए ।

ठकुरीसँगै कांग्रेसका महाधिवेशन प्रतिनिधिहरु जयराम श्रेष्ठ, सुनिता नेपाली जिल्लाकी कांग्रेस नेतृ भगवती शाही एउटै गाडीमा थिए ।

‘चरिकोट फर्कदै गर्दा सडक खण्डको किरातीछाप आईपुगेका थियौं’ ठकुरीले भने, ‘दुई ओटा मोटरसाईकल ‘रफ’ तरिकाले चलाउदै आईपुगे, मैले त्यसरी मोटरसाईकल नचलाउ भनेर सम्झाएको मात्र हुँ ।’

ठकुरीका अनुसार दुई ओटा मध्ये एउटा बाईकमा सवार युवाले हामीलाई सम्झाउने तँ को होस भनी धम्क्याएर अघि बढेका थिए । केही माथि मेलघुम्ती भन्दा तल्लो मोडमा पुगेपछि उक्त बाईक सडकमा तेर्साएर बसेका तिनै युवा र त्यसको अघिल्तिर रहेको गाडीबाट केही युवा निस्किएपछि आफूलाई प्रहार गर्न थालेको ठकुरीले सुनाए ।

उक्त गाडीबाट निस्किने समुहमा कांग्रेसका क्षेत्रीय सभापति गुण्डा नाईके तामाङ समेत थिए ।

रातभरी अस्पताल बसेका ठकुरी सोमबार दिउँसो घर फर्किएका छन् । गम्भीर रहेका उनी घरिघरि आत्तिने र कराउने गरेको भाई पुरुषेतमले बताए ।

नेपाली कांग्रेस दोलखाको प्रदेश महाधिवेशन प्रतिनिधि रहेका ठकुरी २०७४ को स्थानीय तह निर्वाचनमा भीमेश्वर नगरपालिका ५ बाट वडाध्यक्षका उम्मेदवार बनेका थिए ।

गुण्डागर्दी पृष्ठभुमीका शुक्र तामाङ गत असोजमा सम्पन्न अधिवेशनबाट कांग्रेस क्षेत्रीय सभापति बनेका थिए ।

ज्यान मुद्धामा लामो समय जेल बसेर फर्किएका उनी जेलमा छदा समेत समुह परिचालन गरेर ठेकेदार तथा व्यवसायीको अपहरण गर्ने, उठौती धन्दा चलाउने लगायतका आपराधिक क्रियाकलाप गर्दै आएका थिए ।

उनीसँगै हिड्ने पारस तामाङ, ङावा शेर्पा, प्रविण खड्का, मधुसुदन चौलागाई, यम कुमार तामाङ, आशिष खड्का, आयुस भुजेल, सुमितजंग खड्का, ओम भन्ने सुमन तामाङ प्राय सबै आपराधिक पृष्ठभूमीका हुन् । ठकुरीलाई आक्रमण गर्दा दशै जनासँगै रहेको जिल्ला प्रहरी स्रोतले बताएको छ ।

सोमबार दिउँसो ठकुरीले शुक्रे सहित १० जना विरुद्ध ज्यान मार्ने अभियोगमा जिल्ला प्रहरी कार्यालयमा मुद्धा दर्ता गराएका छन् । मुद्धा दर्ता नगर्न र मिल्न ठकुरीलाई जिल्लाका कांग्रेस नेताले दबाब दिईरहेका छन् ।

गुण्डा नाईके पृष्ठभुमीका रहेका अर्का कांग्रेस नेता गणेश लामा मार्फत गृहमन्त्री बालकृष्ण खाँडसँग सिधै उठबस गर्न थालेका शुक्रले पछिल्लो समय आफू गृहमन्त्री निकटको व्यक्ती रहेको र जे सुकै हुन सक्ने भन्दै जिल्लामा कांग्रेस नेता कार्यकर्तालाई धम्क्याउदै आएको कांग्रेस नेताहरु बताउँछन् ।

जिल्लाको मैनापोखरीमा गत असोजमा क्षेत्रीय अधिवेशन हुँदा उनी सर्वसम्मत बनेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर