नेपाली संस्कृतिलाई ब्राण्ड बनाउँदै पौवा, देशव्यापी सञ्जालमा व्यवसायलाई जोडिँदै
रुपन्देही । पौवाको नाम नै इतिहास र संस्कृतिसँग जोडिएको छ । नेपाली संस्कृतिलाई विशेष प्राथमिकतामा राखेर नेपालमा पहिलो नेपाली हस्पिटालिटीको थालनी गरेको दाबी गर्दै आएको होटल पौवाले आफ्ना ग्राहकलाई चाडपर्वअनुसारका परिकार खुवाएर ब्राण्ड बनाउन थालेको छ ।
माघीमा थारु र मगर समुदायका परिकार, शिवरात्रिमा भजनसहितका परिकार, तीजमा सांस्कृतिक कार्यक्रमसहितका परिकार बनाएर पौवाले ब्राण्ड बनाउन थालेको छ । नेपाली मौलिकता जोडिएका यस्ता पर्वमा यहाँका कर्मचारीले सोहीअनुसारका पहिरन लगाएर ती पर्वमा खाइने र बनाइने परिकारलाई आफ्ना ग्राहकलाई दिने गरेका छन् । पौवाले नेपालमा मनाइने हरेक पर्व र सांस्कृतिक महत्व राख्ने दिनहरुमा परम्परा र संस्कृतिअनुसार ग्राहकहरुलाई परिकार खुवाएर परम्परागत रैथाने खानाहरुको संरक्षण गर्ने अभियान थालेको हो ।
माघीमा नेपाली परम्परागत नाम र नेपालीपनसहितको सेवा दिने उद्देश्यसहित स्थापना भएको होटलले माघ १ गते माघीको अवसर पारेर माघी स्वादउत्सवसहित सांगीतिक कार्यक्रम गरेर ‘माघी इभ’ मनाएको थियोे । माघी इभमा थारु समुदायको परिकारहरु चखाउनुका साथै विशेष सांस्कृतिक कार्यक्रम गरिएको थियो ।
पौवाका ब्राण्ड विभागका प्रमुख विष्णु भण्डारीका अनुसार माघ १ गतेका दिन मगर समुदायको बाहुल्यता रहेको पाल्पाको तानसेन र रुपन्देहीको तिलोत्तमामा रहेका पौवाका शाखाहरुमा मगर परिकारहरुसहित पाहुनालाई स्वागत गरिएको बताए । मगर पहिरनमा सजिएका पौवाका कर्मचारीहरुले आदिवासी जनजातिका सांस्कृतिक पहिचान प्रदर्शन गर्नेछन् । संस्कृतिको यही झल्को मेटाउन पौवाले शिवरात्रीको विशेष भजन कार्यक्रमसहित आफ्ना शाखाहरुमा ग्राहकलाई सेवा दिने भएको छ ।
शिवरात्रिको अवसरमा होटलमा आउने ग्राहकहरुलाई भजनकीर्तनमा नचाएको छ ।
दौरा सुरुवाल र टोपीमा सजिएका कर्मचारीबाट पाहुनालाई सत्कार अनि किचनमा नेपाली परम्परागत परिकारलाई नै प्राथमिकता दिएकाले पौवाले बेग्लै पहिचान बनाएको ब्राण्डिङ एण्ड मार्केटिङ प्रमुख विष्णु भण्डारी बताउँछन् । ‘हामीले हाइजेनिक परिकार र सत्कार दुवैमा मौलिक नेपालीपन दिन्छौं’ भण्डारीले भने, ‘लाइभ किचन, पहाडी जिल्लाका अर्गानिक तरकारी, सिन्की, मस्यौरा, नेपाली अचारजस्ता हाइजेनिक परिकार पौवाको पहिचान बनेको छ ।’
माघ १ गतेकै अवसरमा रुपन्देहीको भैरहवा, कपिलवस्तुको गोरुसिङ्गे, दाङको घोराही र लमही तथा कैलालीको धनगढीमा थारु संस्कृतिमा आधारित परिकारहरुको प्रदर्शनी तथा स्वाद पस्कने कार्यक्रम गरिएको थियो । त्यसैगरी कर्णालीको जुम्ला र गुल्मीको रेसुङ्गामा स्थानीय परिकारको स्वाद उत्सव गरेर माघ १ गतेको पर्व मनाइएको थियो ।
‘होटल पौवाः जहाँबाट आतिथ्यको शुरुवात हुन्छ’ भन्ने मूुल नाराका साथ स्थापना भएको पौवाले चेन विजनेसका रुपमा विकास गरेर नेपाली खानालाई प्रवद्र्धन गर्दै अन्तर्राष्ट्रियकरण गर्न लागिपरेको छ । विभिन्न संस्कृतिलाई प्रतिनिधित्व गर्ने २० प्रकारका नेपाली रैथाने खानालाई आफ्नो मेनुमा समावेश गरिएको छ ।
पौवाका अनुसार स्थापनाको ६ वर्षमा लुम्बिनी प्रदेशका भालुवाङ, लमही, घोराही, भैरहवा, बुटवल, गोरुसिङ्गे, तानसेन, रेसुङ्गामा शाखा विस्तार भएको छ भने सुदूरपश्चिमको धनगढी र कर्णाली प्रदेशको जुम्लामा पनि पौवाले सेवा दिँदै आएको छ । यसैगरी गण्डकी प्रदेशको राजधानी पोखरामा र बागमती प्रदेशको चितवन टाँडीमा सेवा विस्तारको तयारी भैरहेको पौवाले जनाएको छ ।
प्रबन्ध निर्देशक विष्णु ज्ञवालीका अनुसार लगानीका हिसाबले ३ मोडलमा रहेर अहिलेसम्म ५० करोड रुपैयाँभन्दा बढी लगानी भएको छ । थोरैथोरै पुँजीबाट लगानी गरेर आफै रोजगार सिर्जना गर्ने काम भएको र कामदारहरुलाई आफै मालिक बनाउने अभियानस्वरुप पौवामा रहेका श्रमिकहरु आफै शेयरधनी बनाउने लक्ष्य अनुरुप धेरै कर्मचारी पौवाको लगानीकर्ता बन्दै गएको ज्ञवालीले बताए । पौवामा अहिलेसम्म ४ सय जना जनशक्तिले प्रतक्ष्य रोजगारी पाएका छन् ।
२०७२ सालमा सुरु भएको पौवाले नेपालका १३ वटा शहरमा यसको सेवा संचालनमा रहेको र अन्य स्थानमा पनि विस्तारको चरणमा रहेको पौवाले ‘मिसन हन्ड्रेड’ कार्यक्रम अन्तर्गत शाखा विस्तार गर्दै लैजाने ज्ञवालीले बताए । स्थानीय र कर्मचारीसमेत ४९ जनाको ५० करोडभन्दा बढी लगानी भइसकेको छ ।
प्रालिका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले थोरै थोरै पुँजी भएका धेरै जना मिलेर हस्पिटालिटी र पर्यटन क्षेत्रमा नमूना काम गरौं भनेर पौवामा कर्मचारीलाई समेत सेयर दिएर मालिक बनाएर अघि बढ्दा सफलता मिलेको बताए । ‘होटेलमा क्यारिअर बनाउन चाहने कर्मचारीलाई २ प्रतिशतसम्म शेयर दिएर मालिक बनाएका छौं,अहिलेसम्म २५ जना कर्मचारी लगानीकर्ता भइसके । यसलाई देशमै नमूना बनाएर लैजाने हो ।’ ‘पौवालाई सीमित व्यक्तिको व्यवसाय नभएर धेरैजनाको थोरै थोरै लगानीको सामूहिक सहकार्यको बेग्लै पहिचान दिन चाहेका छौं’ भण्डारीले भने ।
कोरोना महामारीमा सबै कर्मचारीलाई नहटाएर राखेका कारण पनि पौवाले उनीहरुको मन जितेको छ । कर्मचारी नै पौवाका मुख्य मालिक बन्नेछन्, यहाँ उनहीरुलाई पारिवारिक वातावरण छ ।’ उनले भने । यसैयरी होटेल पौवाले सामाजिक क्षेत्रमा योगदान गर्न करिब १० लाखको कुमार कार्की कल्याणकारी कोष स्थापना गरेको र यसै वर्ष यसलाई बढाएर २५ लाख पुर्याउने योजना रहेको अध्यक्ष भण्डारीले बताए ।
कसरी सुरु भयो पौवा ?
सामूहिक लगानीमा नयाँ कामको सुरुवात गरेको पैचो परियोजनाको अनुभवबाट नै पौवा संचालनको योजना बनेको हो । पैचोले पहाडी क्षेत्रमा उत्पादन हुने कृषि उपजलाई आफ्नो क्षेत्र बनाएको छ । यही टिमबाट सिकेको सीप र सिद्धार्थ ग्रुपबाट आएका टिमको सोँच तथा योजनाका आधारमा देशव्यापी होटल संचालनको योजना बनेको हो ।
गुल्मी हुंगाका ध्रुव न्यौपानेले रुपन्देहीको सालझण्डीमा ६ वर्षअघि ८ वटा रुमबाट सुरु गरेको होटेल पौवा हस्पिटालिटी क्षेत्रमा मौलिक ब्राण्डका रुपमा स्थापित बन्दै गएको छ । अहिले तारे होटेल र रिसोर्टसमेत सञ्चालन गर्दै करिब तीन सय स्तरीय रुमसहित सेवा दिइरहेको पौवा लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै शाखा सञ्जाल भएको संयन्त्र यसले बनाएको छ ।
सालझण्डीपछि दाङको लमहीमा १० रुमसहित पौवाको दोस्रो शाखा विस्तार भयो । तेस्रो शाखा भैरहवामा विमानस्थल नजिकै साढे २ बिघा क्षेत्रफलमा बाल उद्यान, २ वटा स्वीमिङ पुल र २० वटा रुमसहित सञ्चालनमा छ । भैरहवामै अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गर्दै थप ५ कठ्ठा जग्गामा एक सय रुमसहितको तारे होटेल सञ्चालनको तयारी छ । चौथो शाखा कपिलवस्तुको गोरुसिंगेमा ८ वटा रुमसहित र पांचौं शाखा जुम्लाको खलंगामा २८ रुमसहित सञ्चालन भए ।
लुम्बिनीको स्थायी राजधानी दाङको भालुबाङमा करिब एक बिघा आफ्नै जग्गामा भवनसहित पौवाको छैठौं शाखा सञ्चालन भयो । त्यहां २ सय जना क्षमताको क्याटरिङ र सेमिनार हलसहित २८ रुम छन् ।
३५ रुम र ५ सय जना क्षमताको सेमिनार हलसहित पौवाको सातौं शाखा बुटवलको योगिकुटीमा सञ्चालनमा छ । पाल्पाको तानसेमा २६ रुमसहित आठौं शाखा छ भने गुल्मीको रेसुंगा डांडामा ३५ रोपनीमा बगैंचासहितको पौवा रिसोर्ट सञ्चालनमा छ । त्यहाँ ११ रुम छन् । १० औं शाखा दाङकै घोराहीमा ७ रुमसहित सञ्चालनमा छ, त्यहाँ ३२ रुम बनाउने योजना छ ।
पोखराको लेकसाइड स्ट्रिट १ मा ४४ रुमसहित ११ औं शाखा एक महिनाभित्र सञ्चालनको तयारी छ । यसबाहेक पौवाले धनगढीको चटकपुरमा र चितवनको टांडीमा एक–एक वटा होटेलको व्यवस्थापन जिम्मा लिएर आफ्नो ब्राण्डमा सञ्चालन गरेका छन् ।
आउँदो ९ वर्षभित्र सात वटै प्रदेशका मुख्य सहरमा शाखा विस्तार गरी सय वटा पुर्याउने र ५ हजार जनालाई प्रत्यक्ष रोजगारी दिने लक्ष्य रहेको होटेल पौवा प्रालिका प्रबन्ध निर्देशक ज्ञवालीले बताए । ‘१५ वर्षभित्र सात वटै प्रदेशका मुख्य सहरमा सेवा विस्तार गरी सय वटा शाखा पु¥याउने र कम्तीमा ५ हजार जनालाई प्रत्यक्ष रोजगारी दिने गरी ‘मिसन १००’ को लक्ष्य छ’ ज्ञवालीले भने, ‘कोरोना महामारीकै बीचमा पाँच सहरमा सेवा विस्तार गर्न सफल भयौं,अबको ९ वर्षमा लक्ष्य पूरा गरेर नेपालको हस्पिटालिटीमा अग्रणी ब्राण्ड बन्छौं, यसलाई नै मुख्य आधार बनाएर अगाढि बढेका छौं त्यसमा हामीले सोचेको भन्दा बढी उपलब्धि पाइरहेका छौं । ’
सबै शाखाको एउटै स्वाद, मूल्य र गुणस्तरमा विशेष ध्यान दिएको पौवाको नेटवर्कको यो व्यवसायले देशका मुख्य शहरमा आन्तरिक तथा बाहय पर्यटकलाई सेवा दिएको जनाएको छ ।