एमालेको वक्तव्यमा सभामुखको आपत्ति, पूर्वाग्रहबाट प्रेरित कूप्रचार नगर्न आग्रह – Nepal Press

एमालेको वक्तव्यमा सभामुखको आपत्ति, पूर्वाग्रहबाट प्रेरित कूप्रचार नगर्न आग्रह

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले जारी गरेको प्रेस वक्तव्यप्रति आपत्ति जनाएका छन् । सभामुख सापकोटाको सचिवालयले बुधबार एक प्रेस नोट जारी गर्दै आफूले बोल्दै नबोलेको कूप्रचार गरेको आरोप लगाएको छ ।

एमालेले एमसीसीलगायतका विषयमा स्पष्ट पार्न मंगलबार जारी गरेको वक्तव्यमा ‘एमसीसीसम्बन्धी प्रस्ताव टेबल गर्नुपरेमा आत्महत्या गर्छु भन्नेजस्ता आवेगपूर्ण अभिव्यक्ति’ सभामुखले दिएको आरोप लगाएको थियो ।

यसलाई सभामुख सचिवालयले अफवाह फैलाउन खोजिएको र राजनैतिक पूर्वाग्रहबाट प्रेरित प्रचार गरेको भन्दै आपत्ति जनाएको छ । सभामुखले बोलेको भनेर प्रचार गरिएका विषयको पुष्टि गर्न समेत एमालेलाई सभामुखले चुनौती दिएका छन् ।

‘देशको जिम्मेवार राजनीतिक दलको लेटरहेडमा उहाँले बोल्दै नबोलेको विषयमा काल्पनिक कथ्य बनाई सोही विषयलाई जोडेर गलत भाष्य निर्माण गर्न खोजिएकोप्रति सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ सभामुख सचिवालयले जारी गरेको प्रेस नोटमा भनिएको छ, ‘लोकतन्त्र र संवैधानिक सर्बोच्चताको पक्षमा उभिन भएका सम्माननीय सभामुखलाई जोडेर गरिएको प्रचार राजनैतिक पूर्वाग्रहबाट प्रेरित देखिन्छ ।’

नेपालको संविधान, प्रतिनिधि सभा नियमावली र कानूनले तोकेको परिधिभित्र रहेर संवैधानिक दायित्व र जिम्मेवारी सभामुखले गर्दै आएको भन्दै सचिवालयले आफ्ना विरुद्ध ‘कपोलकल्पित एवं भ्रमपूर्ण विषयको उठान र दुस्प्रचार खेदजनक’ रहेको बताएको छ।

सभामुखबारे एमालेले के भनेको थियो वक्तव्यमा ?

संसद्मा माननीय सदस्यहरूको अवरोधलाई अनदेखा गर्दै बलमिच्याइँ गर्ने सभामुखको व्यवहार झनै आपत्तिजनक छ । सरकारले दिएको बिजनेस सदनमा प्रस्तुत नगर्नेजस्ता पदीय दायित्व प्रतिकूल व्यवहार गर्दै आउनुभएका सभामुखले कुनै समय एमसीसीसम्बन्धी प्रस्ताव टेबल गर्नुपरेमा आत्महत्या गर्छु भन्नेजस्ता आवेगपूर्ण अभिव्यक्ति दिनुभयो । षड्यन्त्रको पटकथा तयार भएपछि भने ‘सभामुख भनेको अम्पायर हो’ भन्नेजस्ता शब्दावली प्रयोगमा ओर्लिनु भयो । यसले उहाँको यो व्यवहार पदीय कर्तव्यको पालनाभन्दा पनि दल विशेषको आज्ञापालन गर्ने देखिन्छ । उहाँ नै दलहरूले कारबाही गरेका अनुशासनहीन सांसदलाई जोगाएर दल विभाजनको मतियार बन्नुभयो । अहिले राष्ट्रिय राजनीति लिकबाट बाहिरिएको छ । संसदभित्र वा बाहिरको हाम्रो जारी लडाइँ लोकतन्त्रको आधारभूत मूल्य, मान्यता र दलीय प्रणालीको मर्मलाई स्थापित गर्न र त्यसलाई अझ सुदृढ गर्नका लागि हो । संसद् जननिर्वाचित प्रतिनिधिमार्फत् लोकतन्त्रको अभ्यास गरिने थलो हो । चार वर्षअघिको जनादेश अहिले खण्डित भएको छ । त्यसैले संसद् प्रभावकारी हुन सकिरहेको छैन । त्यसमाथि सभामुखको भूमिकाले थप गतिरोध सिर्जना भएको छ । यी सबै घटनाक्रमले सभामुख यस गरिमामय पदका लागि योग्य हुनुहुन्न भन्ने थप पुष्टि भएको छ ।


प्रतिक्रिया

One thought on “एमालेको वक्तव्यमा सभामुखको आपत्ति, पूर्वाग्रहबाट प्रेरित कूप्रचार नगर्न आग्रह

  1. तिम्राे काम, कुरा र व्यवहारले गर्दा भनेकाे हाे । अझ एमालेले त सभ्य भाषामा भनेछ । तिमी यति सभ्य भाषामा भन्न लायक मानिस नै हाेईनाै ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर