एमसीसीले स्वीकार्‍यो संसदीय अनुमोदन, ‘व्याख्यात्मक घोषणा’ बारे मौन – Nepal Press

एमसीसीले स्वीकार्‍यो संसदीय अनुमोदन, ‘व्याख्यात्मक घोषणा’ बारे मौन

काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मुख्यालयले फागुन १५ गते नेपालको संसदले गरेको एमसीसी अनुमोदनलाई स्वीकारेको छ ।

एमसीसी मुख्यालयले वासिङ्टनबाट मंगलबार एक विज्ञप्ति जारी गर्दै संसदीय अनुमोदन स्वीकारेको जनाएको हो । विज्ञप्तिमा ‘व्याख्यात्मक घोषणा’ का बारे भने केही भनिएको छैन ।

‘मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)ले एमसीसी र नेपाल सरकारबीच भएको ५० करोड डलरको कम्प्याक्टलाई अनुमोदन गर्ने नेपालको संघीय संसदको निर्णयलाई फेब्रुअरी २७ मा स्वीकार गरेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

फागुन १५ गते सत्तारुढ गठबन्धन नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा), नेपालको समर्थनमा ‘व्याख्यात्मक घोषणा’ सहित अनुमोदन गरिएको थियो ।

एमसीसी सम्झौतामा स्पष्ट नभएका बुँदालाई स्पष्ट पारी ‘व्याख्यात्मक घोषणा’ तयार पारिएको थियो । ‘व्याख्यात्मक घोषणा’ नेपालले एकपक्षीयरूपमा तयार गरेको थियो । सो ‘व्याख्यात्मक घोषणा’ का बारेमा भने एमसीसी मुख्यालयले कुनै प्रतिक्रिया जनाएको छैन ।

एमसीसीले विज्ञप्तिमा कम्प्याक्ट अनुमोदन गर्ने निर्णय सधैं सार्वभौमसत्ता सम्पन्न नेपालसँग रहेको जनाइएको छ ।

‘कम्प्याक्टको अनुमोदनले पाँच वर्षे कार्यक्रमलाई कार्यान्वयन गर्ने दिशामा अघि बढाएको छ । यसले बिजुलीको थप भरपर्दो आपूर्ति, कम यातायात लागत र नेपाली जनताका लागि थप रोजगारी सिर्जना गर्न मद्दत गर्नेछ,’ एमसीसीले भनेको छ ।

सन् २०१७ मा नेपालले एमसीसी सम्झौतामा हस्ताक्षर गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर