‘घोस्ट राइटिङ’ को बगैंचामा फुलेका कमल ! १० हजार मानिसको जीवनी उधिन्ने लक्ष्य (भिडिओ) – Nepal Press

‘घोस्ट राइटिङ’ को बगैंचामा फुलेका कमल ! १० हजार मानिसको जीवनी उधिन्ने लक्ष्य (भिडिओ)

आजभन्दा १२ वर्षअघि कमल ढकालको दिमागमा एउटा सपनाको भ्रुण छिर्‍याे, अरुको कथा लेखिदिने र पुस्तकको आकार दिने । घोस्ट राइटिङ गर्ने, पारिश्रमिक लिने ।

कोही मान्छे कथा लिएर आउनेछन्, कमलहरुले त्यो कथालाई हिलोमा फुलाउनेछन् । कोही मान्छे जीवनको आरोह-अवरोह लिएर आउनेछन्, कमलहरुले पुस्तकका बास्नादार पानामा सिलसिलेबर बनाइदिनेछन् । कोही मान्छेको जिन्दगी आउनेछ, उक्त जिन्दगी रेकर्ड हुनेछ, वर्ड फाइलमा उतारिनेछ, सम्पादन हुनेछ र त्यो जिन्दगीको पोट्रेट अक्षरहरुमा उतारिनेछ ।

१२ वर्षअघि कमलको दिमागमा खसेको सपनाको भ्रुणको विशेषता ठ्याक्कै यही थियो ।

त्यो भ्रुण अहिले आइपुग्दा जन्मिएर पनि वयस्क भइसकेको छ । एक सय ६७ मानिसका जिन्दगीको कथाले त छापखाना पुगेर पुस्तकको आकार लिइसकेको छ । अहिलेसम्म पाँच सय ६७ जिन्दगीका दुःखम्/सुखम्, सफलता/असफलताका कथा लेखिरहेका छन् कमलहरु । कति कथाहरु रेकर्डलाई उतारिरहेको चरणमा छन् । कतिपय कथाहरु सम्पादनका चरणमा छन् । कतिपय कथाहरु प्रेसको मेसिनमा पिसिइरहेका छन् । कतिपय कथाहरु पाठकहरुको हातहातमा पुग्न तम्तयार छन् । एक सय ६७ कथा त पाठक र पुस्तकालयमा पुगिसके ।

कमलको सपना छ, ‘मेरो एउटा मानव चोला दश हजार मानिसहरुको कथा लेखिसकेपछि पूरा हुनेछ ।’

कमललाई एउटा जिग्दगीमा धेरैथोक गर्नुछैन । एउटा सपनाको सफरमा छन् । दश हजार पुस्तक लेख्ने रफ्तारमा छन् । कमलहरु गाउँ-गाउँमा छन्, सहर-सहरमा छन् । जहाँ जहाँ कथा छन्, त्यहाँ त्यहाँ छन् कमलहरु ।

कमलको भनाइ छ, ‘एउटा मानिस सभ्यता हो । एउटा मानिस सपना हो । एउटा मानिस संघर्ष, दुःख, प्रयत्नहरु हो । एउटा मानिस संस्कृति, कला, इतिहास होे । र ती मानिसहरुलाई दस्तावेजीकरण गर्न लागिपरेको छु ।’

कथा लिएर मान्छे आउँछन् घोस्ट राइटिङको अफिसमा । कथा सुनाउँछन् । जान्छन् । अलि पछि पुस्तक पाउँछन् । सम्झौता अनुसारको पैसा तिर्छन् र जान्छन् । कति मानिसहरुबारे भने घोस्ट राइटिङले आफैं पुस्तक लेखिदिन्छ, लगानी गरिदिन्छ । कति पुस्तकहरु लेखाउन एड्भान्स दिन्छ र लेख्न सुरु गर्छ ।

०७१ सालबाट कमलले नेपालमा घोस्ट राइटिङ सुरु गरे । घोस्ट राइटिङकै इतिहास कोट्याउँदा पौने तीन सय वर्षअघिदेखि नै संसारमा सुरु भइसकेको पाइन्छ । नेपालमा कमलले सात वर्षअघिदेखि औपचारिक सुरुआत गरे । साथमा क्रियिटभ राइटिङ र थिएटर राइटिङ पनि सुरु गरे ।

सानो र साँघुरो कोठाबाट सुरु भएको कमलको भूत लेखन अभियान अहिले थापागाउँमा साढे चार रोपनी जग्गामा फैलिएको छ ।

घोस्ट राइटिङ सुरु गर्दाताका कमलमाथि प्रश्नहरु तेर्सिन्थे, ‘अर्काको पुस्तक लेखेर पैसो लिनु साहित्य हो र ?’ क्रियटिभ राइटिङ सुरु गरे । प्रश्न आयो, ‘साहित्य पनि पढाएर पढिने विषय हो र ?’ प्रश्नहरुको तत्काल जवाफ दिएनन्। कुण्ठाहरुबाट निस्किएका प्रश्नलाई कामले जवाफ दिए । क्रियटिभ राइटिङमाथि विश्वविद्यालयमै पढाइ हुन्छ । संसारका कतिपय विश्वविद्यालयले क्रियटिभ लेखनको कार्यशाला र छुट्टै विषय बनाएर पढाउँछन् ।

कमल सुनाउँछन्, ‘मान्छेले गाली गरे, मैले मतलव गरिनँ । थाहा नभएपछि गाली गरिहाल्छन् नि । तर, मलाई थाहा थियो मैले के गरिरहेको थिएँ भनेर ।’

‘अर्काको पुस्तक पैसो लिएर लेख्छ’ भनेर मान्छेले गाली गरिरहे । कमलले आफ्नो तजबिजले तिरन्तर काम गरिरहे । शब्दको सतबिज छरिरहे ।

कथा लिएर मान्छे आउँछन् घोस्ट राइटिङको अफिसमा । कथा सुनाउँछन् । जान्छन् । अलि पछि पुस्तक पाउँछन् । सम्झौता अनुसारको पैसा तिर्छन् र जान्छन् । कति मानिसहरुबारे भने घोस्ट राइटिङले आफैं पुस्तक लेखिदिन्छ, लगानी गरिदिन्छ । कति पुस्तकहरु लेखाउन एड्भान्स दिन्छ र लेख्न सुरु गर्छ ।

‘पृथ्वीमा मान्छे एकपटक आउँछ । उसको कथा भन्नुपर्छ । हरेक मान्छे नलेखिएको पुस्तक र इतिहास हो । त्यो दस्तावेज हो । मान्छे आफैंमा धेरै कुरा हो । धेरैथोक गर्दैजाँदा अन्तिममा मान्छे एकथोक भएको हुन्छ । एकथोक भएको उसको कथा नलेखकिन पृथ्वीबाट जानुहुन्न,’ कमल सुनाउँछन्, ‘मैले मेरो बुवाको पुस्तक लेखिनँ, उहाँ चाँडै जानुभयो । तर, अरुको बुवाको पुस्तक लेखिनुपर्छ । हाम्रा बाउआमाले धेरै गरेका छन् । उनीहरुले गरेको त्यो कथा लेखिदिन पाएमा मपछि आउने पुस्तालाई त्यसले ठूलो असर गर्छ । उनीहरु दस्तावेजीकरण भएर मात्रै धरतीबाट बिदा हुनुपर्छ ।’

कमलहरुले अहिलेसम्म राजनीतिज्ञ भरतमोहन अधिकारी, रामहरि जोशी, राजेश्वर देवकोटा, सुजाता कोइराला, कलाकार मनोजबाबु मिश्र, अभियान्ता सुनिता दनुवार, भूमिका श्रेष्ठ, कलाकार भुवन केसी, करिश्मा मानन्धर, सांसद सुदन किराती, विकासानन्द, कवि दुर्गालाल श्रेष्ठ, साहित्यकार मदनमणि दिक्षित, कमलमणि दिक्षित लगायत सयौं मानिसहरुको कथा लेखिसकेका छन् । साथै सयौंको संख्यामा आम मान्छेहरुको कथा पनि उस्तै लेखेका छन् ।

कमल सुनाउँछन्, ‘म अझैं गति बढाइरहेको छु । दश हजार पुस्तक लेख्ने धोको जीवनकालभरि पूरा गरेरै छाड्छु । हरेक मान्छेको पुस्तक लेखिनुपर्छ, दस्तावेजीकरण हुनुपर्छ । लेखिनेको पो लेखिन्छ, नलेखिनेको पनि लेखिनुपर्छ ।’

कमल जहाँ जान्छन्, त्यहीँ कथा देख्छन् । जहाँ पुग्छन्, त्यहीँ पुस्तक देख्छन् । बिहान मर्निङवाकमा पशुपति आर्यघाट वरिपरि पुग्छन् । त्यहाँ मान्छे जलिरहेका देख्छन् । ‘जलिरहेको मान्छे देख्दा मलाई सिंगो सभ्यता नै पोलेको जस्तो लाग्छ । सभ्यता धुवाँ बनिरहेको जस्तो लाग्छ । त्यहाँ मान्छे जस्ता पुस्तक पोले जस्तो लाग्छ,’ कमल दुःखी हुँदै सुनाउँछन् ।

लेखेरै पचास साठी लाख कमाउने लेखक छन् कमलसँग । पाँच दश लाख कमाउने त कति छ कति । यस हिसाबले पनि अनुभवको आधारमा सम्भावना अत्यधिक देख्छन् लेखकहरुको ।

कमलले घोस्ट राइटिङ सुरु गर्दा उनको कामप्रति नै संशय प्रकट गर्नेहरुको कमी थिएन । अनेक संशयबीच लेखेरै पैसा कमाउने कुरा पनि बहसको विषय हुन्थ्यो साहित्य क्षेत्रमा । नेपाली भाषाको जुन बजार छ, जति पाठक छन्, त्यस अनुसारले लेखकको आर्थिक अवस्था सबल हुने पाटोमा अहिले पनि संशय उत्पन्न हुन्छ ।

तर, कमल भने यस्ता संशय यथार्थ नभएको प्रष्ट्याउँछन् । ‘लेखनमा किन पैसा छैन ?,’ जंगिन्छन् कमल र भन्छन्, ‘लेखक गरिब हुन्छ, । कोट लगाएर हिँड्दैन, गाडी चढ्दैन भनिन्छ । दाह्री पालेको, झोला भिरेको, पातलो बिम्बको माध्यम बनाइएको छ लेखकलाई । यो लेखक स्वयंले बनाएको भाष्य हो । सम्भावना नदेखेर, प्रयत्न नगरेर दुःखी भएपछि बनाएका भाष्य हुन् । उनीहरुलाई नै विस्वास छैन, म गर्न सक्छु भनेर । अनि कसरी सम्भव छ त त्यो ?’

लेखेरै पचास साठी लाख कमाउने लेखक छन् कमलसँग । पाँच दश लाख कमाउने त कति छ कति । यस हिसाबले पनि अनुभवको आधारमा सम्भावना अत्यधिक देख्छन् लेखकहरुको ।

‘एउटा डाक्टरले बीस वर्ष काम गरेपछि नाडी छामेको भरमा महिनाको तीन लाख कमाउँछ । नक्सा बनाउने इन्जिनियरले पनि सट्ट कोरेको भरमा त्यस्तै कमाउँछ । गमला मात्रै बनाउने मान्छेले पनि काम गरेको बीस वर्षपछि त्यस्तै कमाउँछ । तर, पत्रकारिता र लेखनमा जहिल्यै त्यही पारिश्रमिक हुन्छ,’ कमल जोसिँदै भन्छन्, ‘डाक्टर, पाइलट, फूल व्यापारीले पैसा लिन हुने । अनि लेखनमा चाहिँ हुनुपरेन ? उनीहरुसँग कथा छ, हामीसँग कला छ । हामी लेखिदिन्छौं, निर्धक्क पैसा माग्छौं । लेखकले घोस्ट राइटिङ नगरेर आफ्नै पुस्तक लेख्दा पनि प्रेस मात्रै धनी हुने भन्ने हुन्छ ? लेखक चाहिँ धनी हुन परेन ?’

बानेश्वरको थापागाउँको साढे चार रोपनी जग्गाबाट घोस्ट राइटिङ ४० रोपनी जग्गामा विस्तार हुँदैछ काभ्रेमा । त्यो घरभित्र लेखकका पुस्तकहरु मात्रै होइन, लेखकहरु पनि सुरक्षित रहनेछन् । बायोग्राफीलाई एन्थ्रोपोलोजीको रुपमा विकसित गर्ने योजनामा छन् कमल । तर, कहिलेबाट सुरु हुन्छ नि ?

कमल सुनाउँछन्, ‘२०८० सालपछि लेखक ग्राम सुरु गर्दैछु ।’


प्रतिक्रिया

5 thoughts on “‘घोस्ट राइटिङ’ को बगैंचामा फुलेका कमल ! १० हजार मानिसको जीवनी उधिन्ने लक्ष्य (भिडिओ)

  1. याे फिचर लेख्ने पत्रकार साथीकाे भाषा नै मिठाे लाग्याे । कमलजीकाे कर्म त अब्बल छँदैथियाे । कलम कर्म र भूत लेखन कलाकाे जय हाेस् ! कमलजीकाे सपना पूरा हाेस् !!

  2. आहा ! कति मीठो लेखन । यति सुन्दर अनि विस्तृत आलेखका लागि लेखकलाई हार्दिक धन्यवाद ! भुइँमान्छेदेखि आआफ्नो क्षेत्रमा सुविख्यात व्यक्तिहरूको कथा लेखेर हामीजस्ता आम पाठकमाझ ल्याउने गज्जबको कर्म गर्दै आउनुभएकोमा कमल दाजु अनि तपाईंको लेखक समूहलाई हार्दिक बधाई तथा सफलतको शुभकामना !!

    1. गम्भिर भएर सोच्ने मानिसले सफलता हासिल गर्दछ..कमलजीको दृढ अठोट पुराहोस्..हार्दिक शुभकामना..

  3. तपाईं र तपाइको कलम अबिराम चलिरहोस । कमल जी हार्दिक शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *