माओवादी बैठकका ६ एजेण्डा, रामवृक्षको सालिक हटाएको विषयले फेरि प्रवेश पायो – Nepal Press

माओवादी बैठकका ६ एजेण्डा, रामवृक्षको सालिक हटाएको विषयले फेरि प्रवेश पायो

काठमाडौं । सत्ताघटक नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक राष्ट्रियसभा गृहमा जारी छ । बैठकमा ६ वटा एजेण्डा पेस गरिएको छ ।

एजेण्डाको सुरूमा शहीदप्रति श्रद्धाञ्जली दिइनेछ । त्यस्तै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसीसी अनुमोदनलगायत समयसामयिक विषयमा रिपोर्टिङ गर्नेछन् ।

त्यसपछि सांगठानिक एजेण्डाअन्तर्गत केन्द्रीय सदस्य थप र पोलिटब्यूरो, स्थायी कमिटी साथै पदाधिकारी चयनबारे छलफल गरिनेछ । कार्यविभाजनसँगै स्थानीय चुनावकेन्द्रित एजेण्डामा पनि बैठकमा छलफल हुने कार्यसूची तय भएको एक केन्द्रीय सदस्यले बताए ।

एजेण्डाको अन्तिम ६ नम्बरमा विविध विषय राखिएको छ ।

माओवादीको आजको बैठकमा राम वृक्ष यादवको सालिकबारे पनि छलफल हुँदैछ । महाधिवेशनमा समेत यादवको सालिक हटाएको विषयले उग्ररूप लिएको थियो ।

प्रदेश २ को समूहले रिपोर्टिङ गर्ने क्रममा सालिक हटाउनुमा गिरिराजमणि पोखरेललाई दोषी देखाउँदै राजनीतिक अपराध गरेको आरोप लगायो ।

महाधिवेशनको पाँचौं दिन पोखरेल पक्षका नेताहरूले आरोप फिर्ता नलिएसम्म बन्दसत्र चल्न नदिने अडान राखे । विवाद पछि थामथुम पारियो ।
महोत्तरी बर्दिवास नगरपालिका-११ स्थित खयरमाराको तत्कालीन रामवृक्ष स्मृति ब्रिगेड क्याम्पमा रामवृक्षको सालिक राखिएको थियो । गिरिराजमणि शिक्षामन्त्री हुँदा त्यहाँ निर्मल लामा बहुप्राविधिक शिक्षालय स्थापना गरेर यादवको सालिक हटाएर निर्मल लामाको सालिक स्थापना गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर