स्थानीय चुनाव : यस्तो छ लुम्बिनीका चार उपमहानगरको समीक्षा र सम्भावना – Nepal Press

स्थानीय चुनाव : यस्तो छ लुम्बिनीका चार उपमहानगरको समीक्षा र सम्भावना

रुपन्देही । आगामी ३० वैशाखका लागि घोषणा भएको स्थानीय तहको निर्वाचनका लागि दलहरुले तयारी थालेका छन् । विभिन्न राजनीतिक दलभित्रका आकांक्षीले आफ्नो उम्मेदवारीका लागि नेताहरुलाई लबिङ गर्न थलिसकेका छन् भने दलहरुले आफ्नो जोड घटाउ सुरु गरेका छन् ।

यसअघिको स्थानीय तहको निर्वाचनमा धेरै स्थानमा निर्वाचन जितेको नेकपा एमालेले आफ्नो बर्चश्व कायम राख्न चाहेको छ भने नेपाली कांग्रेस माओवादीसँग सहकार्य गरेर लडेको निर्वाचनको समीक्षा गर्दै अगाडि बढ्ने योजनामा छ ।

संघीय तथा प्रदेश सरकारमा एमालेबाहेकका पाँच दलको गठबन्धन भएकाले स्थानीय तहमा पनि जारी रहने अपेक्षा माओवादी, एकीकृत समाजवादी र जसपाले गरेका छन् ।

मुलुक संघीयतामा गएपछि पहिलोपटक २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा जित हात पारेका ठाउँहरुलाई यसपटक पनि आफ्नो पोल्टामा पार्ने दाउमा राजनीतिक दलहरु रहेका छन् । गत निर्वाचनमा नेकपा एमालेका उम्मेदवारहरु सबैभन्दा धेरै स्थानीय तहमा निर्वाचित भएका थिए ।

लुम्बिनी प्रदेशका तीन जिल्लाका चार उपमहानगरपालिमा नेकपा एमाले एक्लैले जित हासिल गरेको थियो भने एक उपमहानगरको प्रमुखमा राप्रपा र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको थियो । एमालेलाई ती उपमहानगरपालिकाको बिरासत जोगाउन गठबन्धन र विशेषगरी नेकपा एसले चुनौती थपिदिएको छ ।

रुपन्देहीको बुटवल उपमहानगरपालिका, दाङको घोराही र तुल्सीपुर उपमहानगरपालिकामा एमालेलाई जितेको थियो । एमाले नेताहरुकै दाबीअनुसार अन्य प्रदेशको तुलनामा एमाले विभाजनको असर लुम्बिनी प्रदेशमा कम परेको छ तर एमालेलाई हराउन एसमा लागेका नेता कार्यकर्ताको मत ठूलो बन्नसक्छ ।

राजनीतिक इगो बढी भएका कारण एमालेबाट विभाजित भइ एकीकृत समाजवादीमा गएका नेता कार्यकता आफ्ना मतदाताको मत कांग्रेस वा माओवादीलाई हालेर भएपनि एमालेका उम्मेदवार हराएर बदला लिने दाउ पर्खेर बसेकाले पनि एमालेलाई बढी गाह्रो पर्ने देखिन्छ ।

यस्तो थियो २०७४ सालमा लुम्बिनीका ४ उमहानगरपालिकामा दलहरुले पाएको मतपरिमाण

बुटवल उपमहानगरपालिकामा थपिएको चुनौती

बुटवल उपमहानगरपालिकामा नेकपा एमालेका तत्कालीन जिल्ला अध्यक्ष शिवराज सुवेदी नेपाली कांग्रेस र माओवादीका संयुक्त उम्मेदवार खेलराज पाण्डेयलाई पराजित गर्दै विजयी भएका हुन् ।

एमालेको बलियो आधार इलाका मानिएको बुटवलमा शिवराज सुवेदीले २३ हजार २४९ मत प्राप्त गर्दा कांग्रेस–माओवादी गठबन्धनका उम्मेदवार पाण्डेयले २० हजार ८५१ मत ल्याएका थिए । बुटवलमा राष्ट्रिय जनमुक्ति पार्टीका जनकबहादुर थापा मगरले १ हजार १५१ मत पाएका थिए । तर उपप्रमुखमा नेकपा एमालेकी गुमादेवी आचार्यले २५ हजार ३०१ मत पाएकी थिइन् भने गठबन्धनका तर्फबाट नेकपा माओवादीका जगत पोखरेलले १४ हजार ७९२ मत ल्याएका थिए ।

जनमुक्तिकी धनी आलेले १ हजार ५०६ मत पाएकी थिइन् । अहिले अघिल्लो पटक उपमेयरमा एमालेसँग प्रतिस्पर्धा गरेका पोखरेल नेकपाकालपछि एमालेमै छन् । उनी अहिले एमालेको प्रदेश कमिटीमा रहेका छन् । गठबन्धन दलले कांग्रेस, नेकपा एकीकृत समाजवादी, जसपा, राष्ट्रिय जनमोर्चा जोडेर सजिलै एमालेलाई हराउन सकिनेगरी मतसंख्या जोडेर बसेका छन् तर कांग्रेसको संस्थापन समूह कमजोर भएको बुटवलमा अघिल्लोपटक नै उम्मेदवार रहेका इतर पक्षका खेलराज पाण्डे उम्मेदवार बने खाँण समूहबाट धोका हुने, माओवादीका अघिल्लो निर्वाचनमा भन्दा मतसंख्या नै घटेको, नेकपा एस र जसपामा धेरै प्रभाव नरहेको, जनमोर्चाले गठबन्धनको मोर्चा छाडेका कारण समस्या नहुने अंकगणित जोडेर एमाले बसेको छ । तर एमालेभित्रै उम्मेदवारको संख्या बढी भएकाले समस्या भएको नेताहरुको भनाइ छ ।

घोराही उपमहानगरपालिकामा कम सकस

दाङको घोराही उपमहानगरपालिकामा गत स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार नरुलाल चौधरी निर्वाचित भएका थिए । चौधरी २२ हजार ३ मत प्राप्त गरी घोराही उपमहानगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए । उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका भुपबहादुर डाँगी क्षेत्रीले १७ हजार ४८४ मत, नेकपा माओवादी केन्द्रका जीवन गौतमले १२ हजार ८२ मत र राप्रपाका भोलानाथ योगिले १ हजार १३६ मत ल्याएका थिए ।

यस्तै उपप्रमुखमा एमालेकी सिता सिग्देल न्यौपानेले २० हजार ७९२ मत र कांग्रेसकी पुष्पा श्रेष्ठले १७ हजार ६०३ मत र माओवादी केन्द्रकी सिता शर्माले १२ हजार ८२४ मत पाएकी थिइन् । अन्य दलका उम्मेदवारले १ हजार मत कटाउन सकेका थिएनन् ।

गठबन्धन बनेमा यहाँबाट एमालेलाई आफ्नो बिरासत जोगाउन संकट हुने अघिल्लो तथ्यांकले देखाउँछ । तर माओवादी र कांग्रेसबीचको ठूलो अन्तरद्वन्द्व भएका कारण सहकार्य भए पनि एकले अर्को पार्टीलाई मत दिने अवस्था नभएको तर माओवादी र समाजवादीको सहकार्यले केही प्रभाव पर्ने एमालेका स्थानीय नेताको आंकलन छ ।

यस्तो छ तुलसीपुर उपमहानगरपालिकाको हिसाब

दाङकै तुलसीपुर उपमहानगरपालिकाको प्रमुखमा एमालेका घनश्याम पाण्डे २२ हजार ८५७ मत ल्याएर निर्वाचित भएका थिए । उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका गेहेन्द्र गिरीले १८ हजार ९०७ मत र माओवादी केन्द्रका शेषुराम भण्डारीले ८ हजार ६९३ मत पाएका थिए ।

यस्तै उपप्रमुखमा एमालेकी माया शर्माले २१ हजार ३७ मत ल्याएकी थिइन् भने नेपाली कांग्रेसकी देविका नेपाली घिमिरेले २० हजार १८५ मत र माओवादी केन्द्रकी सिता वलीले ९ हजार ५१ मत पाएकी थिइन् । गठबन्धन बनेमा यहाँबाट एमालेलाई आफ्नो बिरासत जोगाउन संकट हुने अघिल्लो तथ्यांकले देखाउँछ ।

नेपालगञ्ज उपमहानगरपालिकामा के होला ?

बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको प्रमुखमा राप्रपाका धवलशम्शेर राणा निर्वाचित भएका थिए । राणा १२ हजार ५५१ मत ल्याएर निर्वाचित भएका थिए भने उनका निकट प्रतिस्पर्धी नेपाली कांग्रेसका सुरेश कुमार कनौडियाले १० हजार ७३१ मत, माओवादी केन्द्रका दामोदर आचार्यले ७ हजार १९८ र नेकपा एमालेका समसुद्दीन सिद्दिकीले ६ हजार ९६५ मत ल्याएका थिए ।

यस्तै उपप्रमुखमा नेपाली कांग्रेसकी उमा थापाले १० हजार ७३१ पाएकी थिइन् भने राप्रपाकी रमा रानी गुप्ताले ८ हजार ९२४, एमालेकी शान्तादेवी ढकालले ७ हजार ७७३ र माओवादीकी कलामुन अन्सारीले ७ हजार ६७ मत र नयाँ शक्तिकी शोमा कुमारी लखेरले ५ हजार ३८९ मत ल्याएकी थिइन् ।

गठबन्धन बनेमा यहाँबाट एमालेलाई आफ्नो विरासत जोगाउन संकट हुने अघिल्लो तथ्यांकले देखाउँछ । तर राप्रपाको बलियो क्षेत्र भएकाले एमालेले राप्रपासँग कस्तो सहकार्य गरेर चुनावी रणनीति बनाउँछ त्यसैमा नेपालगन्जको चुनावी परिणाम निर्भर रहने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर