एमालेले जितेका स्थानीय तहमा दोस्रो भएकालाई प्रमुख दिएर गठबन्धन गर्ने प्रचण्डको प्रस्ताव – Nepal Press

एमालेले जितेका स्थानीय तहमा दोस्रो भएकालाई प्रमुख दिएर गठबन्धन गर्ने प्रचण्डको प्रस्ताव

कांग्रेससँग गठबन्धन गर्दा आगामी चुनावमा एमालेभन्दा ठूलो दल बन्ने आँकलन

काठमाडौं । एमसीसी पारित गरेर सत्ता गठबन्धन जोगाउन सकिएकोमा केन्द्रीय समिति बैठकमा विजयी मुद्रामा प्रस्तुत भएका माओवादी अध्यक्ष प्रचण्डले गठबन्धन कायमै राख्दा स्थानीय तह चुनावमा दोस्रो पार्टी बन्ने आँकलन सुनाएका छन् ।

राष्ट्रिय सभागृहमा शुरु भएको बैठकको पहिलो दिन अध्यक्ष प्रचण्डले कांग्रेससँग गठबन्धन गरेर जाँदा एमालेभन्दा ठूलो दल बन्ने दावी गरेका हुन् । कांग्रेसको जनमत विभाजित नभएकाले पहिलो बन्ने अवस्था नरहे पनि एमालेको तिकडम रोक्न सक्दा दोस्रो पार्टी बन्ने रिपोर्ट प्राप्त भएको प्रचण्डले बताए ।

केन्द्रीय कमिटी बैठकमा अध्यक्ष प्रचण्डले स्थानीय तहमा विगतमा जुन पार्टीले जितेको हो उसैलाई सघाएर एमालेले जितेका स्थानीय तहमा तालमेल गर्ने प्रस्ताव सत्ता गठबन्धनमा राखेको जानकारी दिएको केन्द्रीय सदस्य शिव बहादुर बस्नेतले नेपाल प्रेसलाई बताए ।

तर गठबन्धनप्रति कांग्रेसभित्र एकमत नरहेको प्रचण्डले बताएका छन् । बिहीबारको बैठकमा पनि प्रचण्ड र माधव नेपालले स्थानीय तहमा गठबन्धनको मोडालिटीबारे कुरा उठाउँदा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरवहादुर देउवाले विषयमा प्रवेश नगरेको बताइएको छ । कांग्रेसलाई चुनावी गठबन्धनमा ल्याउने विश्वास प्रचण्डले व्यक्त गरेका छन् ।

के छ प्रचण्डको प्रस्ताव ?

माओवादी अध्यक्ष प्रचण्डले वैशाख ३० मा हुने स्थानीय चुनावमा आमरुपमै सत्ता गठबन्धन मिलेर जाने प्रस्ताव राखेका छन् । उनको प्रस्तावमा माधव नेपाल र उपेन्द्र यादवले पनि साथ दिएका छन् । उनीहरुले गठबन्धनको नीतिगत निर्णय र भागबण्डा समेत केन्द्रबाटै हुनुपर्ने बताएका छन् ।

कांग्रेस सहमत भइनसकेको गठबन्धनको मोडालिटी अनुसार प्रचण्डले बिगतमा कांग्रेस र माओवादी तथा जसपाले जितेका स्थानीय तहमा गठबन्धनका दलले सोही दललाई सघाउने भन्नेछ । नेकपा एसमा लागेका जनप्रतिनिधिलाई गठबन्धनले सघाउने प्रस्ताव राखिएको छ ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा २९४ स्थानीय तहमा प्रमुख र ३३३ स्थानीय तहमा उपप्रमुख जितेर पहिलो बनेको एमालेलाई यसपटक रोक्नका लागि उसले जितेका ठाउँमा गठबन्धन गर्ने प्रचण्डको प्रस्ताव छ ।

माओवादी बैठकमा उनले सुनाए अनुसार एमालेले जितेका स्थानीय तहमा निकटम प्रतिद्धन्द्धी जुन दल थियो उसलाई प्रमुख र तेस्रोलाई उपप्रमुख दिएर गठबन्धन गर्न सकिन्छ । त्यसो हुँदा एमालेलाई परास्त गरेर माओवादी दोस्रो दल बन्ने आँकलन प्रचण्डको छ ।


प्रतिक्रिया

One thought on “एमालेले जितेका स्थानीय तहमा दोस्रो भएकालाई प्रमुख दिएर गठबन्धन गर्ने प्रचण्डको प्रस्ताव

  1. एमालेले जितेका ठाउँमा त फेरि पनि एमालेले जितिहाल्छ । तिमीहरूले जितेका ठाउँमा पनि यसपाली एमालेले नै जित्छ । छविलाफा र मनकुने त टाट पल्टिन्छन् । अनि मालिककाे सेवामा बनारस जान्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर