रुस- युक्रेन साइबर युद्ध चर्चाः ह्याकरदेखि ह्वाइट हाउससम्म – Nepal Press

रुस- युक्रेन साइबर युद्ध चर्चाः ह्याकरदेखि ह्वाइट हाउससम्म

रुसले युक्रेनमा सैन्य हमला फागुन १२ (फेब्रअरी २४)बाट सुरु गर्यो । हमलासँगै रुस–युक्रेन युद्ध दोश्रो हप्तामा पुगेको छ । योबीचमा दुई देशका सेना मात्रै आमनेसामने छैनन् । दुई देशका साइबर सेनाहरु समेत आमने सामने भएका छन् । र, विश्वभरका चिर्चित ह्याकरहरु पनि दुई पक्षमा विभाजित भएका छन् ।

रुस–युक्रेनको बास्तविक युद्धको समयमा साइबर युद्धको सरकारी तवरबाट औपचारिक घोषणा युक्रेनबाटै भएको थियो । रुसी हमलाको तीन दिन पछि युक्रेनका एक मन्त्रीले सामाजिक संजालबाट साइबर युद्धको घोषणा मात्रै गरेनन् । उनले विदेशी ह्याकरहरुलाई युक्रेनको पक्षमा लागेर रुसमा हमला गर्न सार्वजनिक आग्रह गरे ।

युक्रेनका उपप्रधानमन्त्री तथा डिजिटल रुपान्तर मन्त्री मिखाइलो फेदोरोभले फागुन १५ (फेब्रअरी २७)मा एक ट्विट लेख्दै यस्तो आग्रह गरेका थिए । फेदोरोभले रुससँग भिड्ने ‘आइटी आर्मी’ तयार गर्न थालेको भन्दै लेखेका थिए,– ‘हामी आइटी आर्मी तयार गर्दै छौँ । हामीलाई डिजिटल दिमागहरु चाहिएको छ । सबै कामकाजी जिम्मेवारीहरु यहाँ दिइएको छ । सबैको लागी काम हुनेछ । हामी साइबर मोर्चामा युद्ध लढिरहेका छौँ ।’

युक्रेनी मन्त्रीको रुसबिरुद्ध साइबर युद्धको लागि विदेशी स्वयंसेवकहरु माग गरिएको युक्रेन एक देशको लागी मात्रै नभएर विश्वकै पहिलो अभ्यास भएको जर्मनीको सरकारी मिडिया डिडब्लुका प्रमुख जानोस्च देल्करले बताएका छन् ।

बाइडेनसम्म प्रश्न आएको रुस-युक्रेन साइबर युद्धको प्रसंग

युक्रेनी मन्त्रीले सार्वजनिक रुपमै साइबर युद्धको लागि आह्वान गरेका मात्रै छैनन् । उक्त साइबर युद्धको बारेमा प्रश्न अमेरिकी राष्ट्रपति जो बाइडेनलाई समेत आएको थियो । भक्स डटकमका अनुसार गत बिहीबार रुस युक्रेन युद्धको साइबर युद्ध बारेमा बोल्दै बाइडेनले आफूले रुसबिरुद्ध साइबर युद्ध छेड्ने बताएका थिए । तर, बाइडेनले त्यस्तो युद्ध अमेरिकाले आफै भने पहिलोपटक नछेड्ने बताए । रुसले अमेरिकी सरकार र अमेरिकी कम्पनीहरुमा साइबर युद्ध छेडेमा अमेरिकाले उचित जवाफ दिने बाइडेनले बताएका थिए ।

भक्स डटकमका अनुसार बाइडेनको अमेरिकी–रुसी संभावित साइबर युद्धबारेमा भनाइ थियो, ‘यदि रुसले हाम्रा कम्पनी र संवेदनशील पुर्वाधारहरुमा साइबर हमला गर्छ भने हामी जवाफ दिन तयार छौँ ।’

बिहिबारकै सम्बोधनमा बाइडेनले अमेरिकी कम्पनीहरुसँग महिनौँसम्म संभावित रुसी साइबर हमला बारेमा जवाफ दिने बारेमा काम गरिरहेको बताए ।

साइबर युद्धमा पनि रुसी हमला पछि मात्रै अमेरिकी हमला आउने भनेका बाइडेनको बोलीले अमेरिकाले युक्रेन युद्धमा खासै सक्रिय सहभागिता नजनाउने संकेत गरेको बुझ्न सकिन्छ । आमने सामने युद्धको अवस्थामा सैन्य त परै जाओस् साइबर डोमेन पनि हमलाको लागि प्रयोग नगर्ने अमेरिकी संकेत प्रष्ट देखिएको छ ।

रुस युक्रेन साइबर युद्ध साँच्चिकै अगाडि बढेमा यसले युरोपेली र अमेरिकी क्षेत्रसम्म प्रभाव पार्न सक्ने विभिन्न अन्तरास्ट्रिय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।

ह्याकर विभाजित

फेब्रअरी २४ बाट रुसले युक्रेनमा सैन्य हमला सुरु गरेको थियो । तर, त्यसको ४० दिन अगाडि नै साइबर हमला भएको बताइएको छ । अमेरिकाको प्रविधि सम्बन्धि पत्रकारिता गर्ने न्यूज पोर्टल रेस्ट अफ वल्र्ड डटकमका अनुसार रुसी साइबर हमला जनवरी १४ मै भएको थियो ।

साइबर हमलाको सिकार युक्रेनको पररास्ट्र मन्त्रालय, मन्त्रीपरिषद र रक्षा परिषदहरु भएका थिए । हमला गरेको एक महिनामै फेरि युक्रेनका दुई सबैभन्दा ठूला बैंकहरुमा साइबर हमला भएको रेस्ट अफ वल्र्ड डटकमले लेखेको छ । इन्डियन एक्सपे्रसका अनुसार उक्त हमलाबाट दश युक्रेनी वेबसाइट आक्रमणको सिकार भएका थिए ।

युक्रेनमाथि रुसी साइबर हमलाको आरोप युद्धको पृष्ठभुमिमा मात्रै आएको हैन । सन २०१५ मा भएको एक विशाल साइबर हमलालाई धेरैले रुसी हात भएको बताउँदै आएका छन् । जर्मनीको सरकारी संचारमाध्यम डिडब्लुका अनुसार सन २०१५ मा भएको साइबर हमलाले युक्रेनको उर्जा ग्रिडमा आक्रमण गरेको थियो । आक्रमणले २ लाख २५ हजार घरमा बत्ति निभेको थियो ।

रुसले यसमा आफ्नो हात नभएको बताएपनि रुसकै हात भएको युरोप तथा अमेरिकि मिडियाको आरोप छ । सन २०१५ देखी यताका पटकपटकका युक्रेनमा भएका साइबर हमलामा रुसी हात भएको भनिदै आएको छ ।

रुसी युक्रेन साइबर युद्धको कारण साइबर युद्धका मर्सिनरी अर्थात् भाडाका सिपाही मानिने ह्याकहरु समेत विभाजित भएका छन् । रुसको पक्षमा र्यानसमवेयर ग्यांङ नामक ह्याकर समुह रुसको पक्षमा उभिएको छ भने एनोनिमस नामक ह्याकर समुह भने युक्रेनको पक्षमा छ ।

एनोनिमसले धेरै रुसी वेबसाइटहरुमा हमला गरेर कालो पोतेको थियो । कतिपय वेबसाइटमा युद्ध अन्त्य गर भनेर लेखेको थियो । एनोनिमसले रुसी फौजी कारबाही भएको एक दिनपछि युक्रेनको पक्षमा उभिएर साइबर हमला सुरु गरेको थियो । उसको हमलाले रुसी सरकारी मिडिया तथा अन्य वेबसाइटहरुमा असर गरेको थियो ।

एनोनिमस जस्तै अर्को ह्याकर समुह ह्याकर अन्डरग्राउन्डले समेत रुसको बिरुद्धमा युक्रेनको पक्ष लिएर आक्रमण गर्ने घोषणा गरेको बेलायती समाचार एजेन्जी रोइटर्सले उल्लेख गरेको छ ।

एनोनिमस ह्याकरकै कुरा लिएर युक्रेनी सरकार र मिडियाले प्रोपोगन्डा समेत गरेका थिए । द केइभ इन्डिपेन्डेन्टले युक्रेनको डिजिटल रुपान्तरण मन्त्रालयको हवला दिँदै रुसी युद्ध बारेमा आन्दोलन नगरेमा एनोनिमसले बैंकको पैसा झिक्ने प्रचार गरेको थियो । तर, एनोनिमसले आफ्नो ट्विटरबाट त्यसको खन्डन गर्दै लेखेको थियो– हामी जनताको पैशा लिन्नौँ ।

रुसी युक्रेन साइबर युद्ध जारी छ । कसले कत्ति क्षति पुर्याए भन्ने कुनै स्वतन्त्र पुष्टि हुने तथ्यांक भेटिँदैन । विभिन्न मिडियाहरुले भने रुसी युक्रेन साइबर युद्ध सोचे जस्तो तहमा नभएको लेखेका छन् ।

वासिङटन पोस्टले फेब्रअरी २८ र टाइम म्यागाजिनले मार्च २ मा समाचार सामाग्रि तयार गरेर सोचे जस्तो र हल्ला गरिए जस्तो रुसी युक्रेन साइबर वार नभएको लेखेका छन् । टाइमले युक्रेन सरकार, माइक्रोसफट्ट र अमेरिकी सरकारको सहयोगमा युक्रेनी साइबर पर्खाल बलियो भएको लेखेको छ । तर, रुसले यस अगाडि पत्ता नलागेका विभिन्न ‘मालवेयर’हरुको भन्डार गरेकोले कमजोर भने नभएको टाइको तर्क छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर