सम्झनलायक चार वर्ष र राष्ट्रियसभामा मैले वाचन गरेको बाँदर कविता
नेपालजस्तो संसदीय प्रणालीमा विश्वास गर्ने देशमा राजनीतिबाट जनतालाई समुचित न्याय होस् भन्नका लागि संसदमा सहभागिता निकै महत्वपूर्ण हुन्छ । एउटा सांसदले मात्र जनताका सरोकारका विषयमा उचित न्याय गर्न सक्छ, जनताका मुद्दा र जनताको आवाजलाई सुन्ने गरी राष्ट्रिय मुद्दा बनाउन सक्छ ।
राष्ट्रियसभाको मेरो चारवर्षे कार्यकालमा मैले यही कुरामा विशेष जोड दिएकी थिएँ । राष्ट्रियसभामा मैले जति दिन रोस्ट्रममा उभिएर होस् या शून्य समयमा आफ्ना विचारहरु राखेँ, ती नितान्त मेरा विषय थिएनन्, जनताका मुद्दा थिए ।
राष्ट्रियसभाका यी चार वर्ष सम्झिँदा म सुरुमा पुग्छु, २०७४ माघ १२ गते । त्यसको चार दिन अगाडि नेकपा एमालेको स्थायी कमिटी बैठकले जिल्ला र प्रदेशबाट सिफारिस भएकाले मलाई राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
प्रदेशको महिला क्लस्टरबाट मैले उम्मेदवारी दिएको पदमा अरु कसैले पनि उम्मेदवारी दिनुभएन, म निर्विरोध राष्ट्रिय सभा सदस्य भएँ । त्यस दिन मैले राजनीतिमा लाग्दा आफैँसँग गरेको प्रतिबद्धतालाई फेरि सम्झिएँ ।
मैले सुरुमा रेडियो नेपाल छाडेर राजनीतिमा लाग्दा एउटा कुरा मात्र कल्पना गरेकी थिए – जनताका बीचमा रहेर जनताको काम गर्छु । बानेश्वरमा रहेको संसद भवनमा राष्ट्रिय सभा सदस्यका रुपमा २०७४ फागुन २१ गते प्रवेश गर्दा मेरो मनमा देशको विकास, जनताको चाहना र मैले निर्वाह गर्नुपर्ने भूमिकाका विषयमा मात्र सोचिरहेकी थिएँ ।
राष्ट्रियसभाका यी चार वर्ष सम्झिँदा मैले ४ चैतलाई बिर्सन सक्दिनँ । त्यस दिन मैले पहिलो पटक सदनमा आफ्नो धारणा राखेकी थिएँ – ‘हाम्रो राष्ट्रिय सभा साझा फूलबारी हुनुपर्छ ।’ अहिले पनि म त्यही बेलाको यस विचारमा अडिग छु । राष्ट्रियसभामा सबै क्षेत्र, तह र तप्काबाट प्रतिनिधित्व हुनुपर्छ, यसले राष्ट्रिय भाव बोकेको हुनुपर्छ, समावेशी प्रतिनिधित्वले राष्ट्रियता र यसका अवयव, अनेक आयाम र देशको चाहनालाई बुझ्नुपर्छ ।
मलाई लाग्छ कोही पनि कुनै स्थानमा पुग्नु ठूलो उपलब्धि होइन, त्यसको गरिमालाई बचाउनका लागि आफूलाई उचित पात्र हो भन्ने प्रमाणित गर्नु नै विशिष्टता हो । त्यसका लागि आवश्यक अध्ययनलाई सबैले आत्मसात् गर्नुपर्छ । त्यही अध्ययन र विभिन्न विज्ञहरुसँगको बारम्बारको विमर्शपछि मैले राष्ट्रिय सभामा आफ्ना धारणा राखिरहेकी थिएँ । त्यसका लागि मैले विज्ञहरुसँग परामर्श मात्र गरिनँ, अनेक सन्दर्भ पुस्तक तथा लेखहरुको अध्ययनलाई थप बलियो बनाउँदै लगेँ ।
२०७५ वैशाख २३ गतेबाट राष्ट्रियसभाको दोस्रो अधिवेशनको पहिलो बैठक सुरु भयो । राष्ट्रियसभाको दोस्रो अधिवेशन सुरु हुने समयमा मेरो पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर नेपाल कम्युनिस्ट पार्टी बनिसकेको थियो । देशमा केपी शर्मा ओलीले प्रधानमन्त्रीका रुपमा नयाँ सपना र आशा, विकासका मोडल र असल शासनलाई स्थापित गर्दै हुनुहुन्थ्यो । दुई कम्युनिस्ट घटक एक भएपछि राष्ट्रियसभामा हामी अत्यधिक बहुमतमा मात्र भएनौँ, देशभर नयाँ उल्लास र आशाको वातावरण बन्यो । बलियो सरकारको नेतृत्व गरेको हाम्रो पार्टीले संविधानलाई पूर्ण पालना गरिरहेको थियो ।
संविधानमा नै भएअनुसार हामीले पहिलो राष्ट्रिय सभा भएकाले चिट्ठाबाट हाम्रो पदावधिको समयलाई निर्धारण गर्ने चरणमा हामी थियौँ । ४ असारमा राष्ट्रिय सभामा चिट्ठा तान्ने र पदावधिको निर्धारण हुने कार्यक्रम राखिएको थियो । मैले घरबाट निस्किनुअघि मेरी आमा दीपा वलीको आशीर्वाद लिएकी थिएँ । उहाँलाई मैले दुई वर्ष, चार वर्ष र छ वर्षमध्ये कति वर्ष सांसद हुने भन्ने आज थाहा हुन्छ आमा भनेकी थिएँ । उहाँलाई के लाग्यो कुन्नि, उहाँले भन्नुभयो- चार वर्ष भए पुग्छ ।
राष्ट्रियसभाको एक दिन सम्झिँदा म अहिले पनि त्यो दिन सम्झिन्छु जुन दिन मैले ‘बाँदर’ शीर्षकमा एउटा कविता वाचन गरेकी थिएँ । हामी सबैलाई स्मरण पक्कै छ, त्यस कविताले राष्ट्रिय राजनीतिलाई व्यङ्ग्य गरेको थियो, यसका खलपात्रहरुलाई कठोर प्रहार गरेको थियो । त्यसैले पनि हुनुपर्छ, यस कविताले लामो समय त्यतिबेला चर्चा पायो ।
यही भन्दै उहाँले मलाई आशीर्वाद दिनुभयो । मलाई पनि मनमा चार वर्ष कार्यकाल नै सही हुन्छ भन्ने लागेको थियो । हामी राष्ट्रियसभामा भेला भइसकेका थियौँ । प्रदेश र नामको वर्णानुक्रमअनुसार हाम्रो प्रदेशको पालो आयो । हाम्रो प्रदेशबाट सुरुमा अनिता देवकोटाले चिट्ठा तान्नुभयो, छ वर्ष । त्यसपछि मेरो पालो आयो । मैले चिट्ठा तानेँ, मेरो कार्यकाल चार वर्षको हुने भयो । मैले आमाले दिनुभएको आशिष् मात्र सम्झिइनँ, मेरो कामना पनि पूरा भएकाले मनै मनबाट देवका देव महादेवलाई धन्यवाद दिएँ ।
चार वर्षको कार्यकाल हुने निश्चित भएको भोलिपल्टदेखि नै मैले एउटा खाका बनाउन थालेँ, राष्ट्रियसभामा मैले के गर्ने र कसरी आफ्नो उपस्थितिलाई जनताको उपस्थिति बनाउने भन्ने विषयमा सोच्न थालेँ । केही विज्ञहरुसँग छलफल गरेँ, केही पढ्नै पर्ने पुस्तकहरु लिएर घरमा आएँ । त्यसको केही समयमा संसदीय समितिहरु बन्न थाले ।
संसदीय समितिलाई मिनी पार्लियामेन्टका रुपमा पनि लिइन्छ । म राष्ट्रिय सरोकार तथा समन्वय समितिमा सदस्य भएँ । यो समितिले हाम्रो तीनै तहको संरचना, समन्वय, यसको कार्यान्वयन तथा देशको सीमाबारे पनि ध्यान दिन्थ्यो । त्यति मात्र होइन, राष्ट्रिय गौरवका आयोजना, राष्ट्रिय सुरक्षा नीति तथा संस्कृति र राष्ट्रिय सरोकारका विषयमा पनि यो समितिको काम निकै महङ्खवपूर्ण हुन्छ । त्यसैले यो संसदीय समितिमा रहनु मेरा लागि उपलब्धिमूलक थियो ।
समितिको सदस्य भएपछि मैले आफूलाई यसका काम र कर्तव्यबारे थप परिष्कृत गर्ने सोच बनाएँ, यसबारे पनि अध्ययनलाई प्राथमिकतामा राखेँ । त्यसैले पनि मेरो यस कार्यकालमा मैले संसदीय समितिका प्रायः सबै बैठकहरुमा आफ्नो उपस्थिति जनाएँ ।
राष्ट्रियसभाका यी चार वर्ष सम्झिँदा म राष्ट्रिय सभामा मैले उठाएका विषयहरु पनि सम्झिन्छु । मलाई विभिन्न विषयमा थप सहयोग गर्नुभएका माननीयहरुको सहयोगलाई कहिल्यै बिर्सिन्न सक्दिनँ । यी चार वर्षमा मैले राष्ट्रिय सभामा विशेष समय तथा शून्य समयमा जनताका विषयमा कुरा गरेँ, मैले सरकारका नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राखेँ ।
विकास तथा निर्माणका हाम्रा योजना र हामीले गर्नुपर्ने कार्यान्वयनका विषयमा पनि अध्ययन गरेर आफ्ना धारणाहरु राखेँ । देशमा महिलाको अवस्था र स्थिति सुधारका लागि के गर्नुपर्छ भन्ने विषय सधैं मेरो प्राथमिकतामा परिरह्यो । विश्वमा भएका राजनीतिक परिवर्तन तथा बदलिँदो समाजसँग ‘कोप’ गर्ने तौरतरिकाबारे पनि मैले बोलिरहेँ । आफ्नै पार्टीको नेतृत्वमा सरकारमा हुँदा मैले सरकारका नीति तथा कार्यक्रमहरु तथा बजेटबारे प्रशंसा मात्र गरिनँ, त्यसमा आलोचनात्मक सुझाव पनि दिएँ । यी सुझावका लागि मैले जनतासम्म पुगेर राय लिएकी थिएँ ।
राष्ट्रियसभामा आएका प्रत्येक विधेयकमाथि छलफल गर्ने बैठकहरुमा म सहभागी भएँ । त्यसमा आफूलाई लागेका विषयमा संशोधन प्रस्तावसमेत दर्ता गराएँ । हामी संविधानको कार्यान्वयनको चरणमा थियौँ, त्यसैले विधायकीको नाताले विधेयकमाथि छलफल गर्ने र आवश्यक संशोधनका लागि प्रस्ताव पेस गर्ने मेरो जिम्मेवारी थियो । मैले यी चार वर्षमा आफ्नो जिम्मेवारी पूरा गरेँ भन्ने लाग्छ ।
दाङको विकासका लागि पनि यी चार वर्षमा मैले सकेको जति गरेँ । लामो समयदेखि रोकिएका दाङका विकासका कामहरुलाई फेरि अगाडि बढाउन सम्बन्धित व्यक्तिहरुलाई भेटेँ, ती कामको कार्यान्वयनका लागि प्रभावकारी भूमिका खेलेँ । यो स्वाभाविक थियो, दाङ मेरो गृहजिल्ला भएकाले त्यहाँका बाटाघाटा, पुल, पुलेसा, सिँचाइ, तटबन्ध र डिप बोरिङ तथा दाङका जनताका आवश्यकता सधैँ मेरो मनमा रहिरहे, सधैँ रहिरहनेछन् ।
राष्ट्रियसभाको एक दिन सम्झिँदा म अहिले पनि त्यो दिन सम्झिन्छु जुन दिन मैले ‘बाँदर’ शीर्षकमा एउटा कविता वाचन गरेकी थिएँ । हामी सबैलाई स्मरण पक्कै छ, त्यस कविताले राष्ट्रिय राजनीतिलाई व्यङ्ग्य गरेको थियो, यसका खलपात्रहरुलाई कठोर प्रहार गरेको थियो । त्यसैले पनि हुनुपर्छ, यस कविताले लामो समय त्यतिबेला चर्चा पायो । यस कविताको चर्चा मात्र होइन, मलाई अहिले सम्झिँदा गर्व लाग्छ, मैले राष्ट्रियसभामा उठाएका विषयहरुमा राष्ट्रिय सभाका अन्य माननीयहरुले विचार विमर्श गर्ने मात्र होइन, मलाई जवाफ दिने पनि गर्नुभयो ।
जीवन फेरि अनेपक्षित मोडहरुसँगको साक्षात्कार पनि रहेछ । सरकारमा स्पष्ट बहुमत भएको मेरो पार्टीले मेरो राष्ट्रियसभाकै यी चार वर्षे कार्यकालकौ दौरानमा नै प्रतिपक्षको भूमिकामा आउन परेको छ । पार्टी राजनीतिमा म यो कुरा पनि बिर्सिन्न सक्दिनँ । हामीले पछिल्लो समय देशका राजनीतिमा जस्ता मोडहरु देख्यौँ, राजनीति खिचातानीका जुन अभ्यास देख्यौँ, त्यसले देशलाई भलो गर्दैन । देशका लागि यो सबैभन्दा दुःखद पक्ष हो तर हामीसँग फेरि पनि सपना छन्, फेरि पनि उज्याला दिन आउने छन् भन्ने विश्वास छ । यसका लागि म प्रतिबद्ध छु, मैले मेरा जिम्मेवारी पूर्ण रुपमा पूरा गर्नेछु, आफ्नो कर्तव्य सम्झिनेछु ।
यस दृढताका लागि मलाई विश्वास भरिदिनुभएको छ, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, उपाध्यक्ष शशिकला दाहाललगायत सबै माननीयहरुले मलाई राष्ट्रिय सभामा दिनुभएको साथ र सहयोग मैले कहिल्यै बिर्सिन्नँ । राष्ट्रियसभाका महासचिव डा. भरतराज गौतम, सचिव राजेन्द्र फुयाँललगायत राष्ट्रिय सभाका सबै कर्मचारी सदस्यहरुले मलाई गर्नुभएको सहयोग पनि मेरो अन्तःस्करणमा सधैँ रहिरहनेछ ।
राष्ट्रियसभाका यी चार वर्षमा मैले जीवनमा धेरै कुराहरु सिकेकी छु, चाहे त्यो राजनीतिको होस् या हाम्रो समाजको । हाम्रो अर्थनीतिको विषयमा होस् या सामाजिक विषयमा अध्ययन गरेकी छु, त्यसलाई मनन गरेकी छु । जीवन एउटा यात्रा हो, यो यात्रारुपी जीवनमा सिक्ने क्रममा कहिलेकाहीँ गल्तीहरु हुँदा रहेछन् । जानेर वा नजानेर भएका गल्तीहरुका लागि म हृदयदेखि नै माफी चाहन्छु ।
राष्ट्रियसभामा मेरो कार्यकाल चार वर्ष सकिएको छ तर यसले मलाई थप अगाडि बढ्न प्रेरणा दिएको छ, मेरो विश्वासलाई थप दरिलो बनाएको छ – म जनताका लागि सधैँ सधैँ तत्पर रहनेछु, देशका लागि यो राजनीतिक यात्रा निरन्तर अगाडि बढ्नेछ र यस यात्रामा मेरो प्राथमिकता देश र जनता हुने प्रतिबद्धता छ ।