एमाले सांसद मोहन बानियाँ निलम्बित
काठमाडौं । बलात्कारको आरोप लागेका एमाले सांसद मोहन बानियाँ निलम्बित भएका छन् ।
बानियाँमाथि बलात्कार मुद्दामा प्रहरी हिरासतमा राखेरअनुसन्धान भइरहेको सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठकमा जानकारी गराएका थिए ।
उक्त जानकारी सँगै बानियाँ निलम्बित भएका छन् ।
पूर्वमन्त्री समेत रहेका बानियाँ बलात्कार अभियोगमा विमानस्थलबाटै पक्राउ परेका थिए ।
जुम्लाकी शिक्षिका तथा माओवादी नेतृले बाँके प्रहरीमा जबरजस्ती करणीको जाहेरी दिएपछि प्रहरीले उनको खोजी गरेको थियो ।
बाँकेस्थित होटल अप्सरामा जबरजस्ती करणी गरेको भन्दै ती शिक्षिकाले जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएकी थिइन्।
पीडित भनिएकी महिलाले बानियाँले पैसा दिन्छु भनेर होटेलमा बोलाएको र त्यहीँ बास बस्न लगाएर बिहानीपख जबरजस्ती करणी गरेको जोहेरीमा उल्लेख छ ।
माघ १८ गते होटलमा २५ लाख दिने भनेर बोलाएको तर रकम नदिई आफूलाई जबर्जस्ती करणी गरेको शाहीले उजुरी दिएकी छन् भने सामाजिक सन्जालमै सार्वजनिक गरेकी छन् ।
बानियाले भने आफूलाई राजनीतिक रूपमा फसाउन खोजेको दावी गर्दै आएका छन् । महिलाको आरोपपछि उनले नेपाल प्रेससँग यो विषयमा अनावश्यक बाहिर ल्याएर चरित्रहत्या गरिएको दावी गरेका थिए ।