पदाधिकारी चयन नगरी सकिँदै माओवादी बैठक, एमसीसीमाथिको छलफल पनि चुनावपछि – Nepal Press

पदाधिकारी चयन नगरी सकिँदै माओवादी बैठक, एमसीसीमाथिको छलफल पनि चुनावपछि

काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठक पदाधिकारी चयन नै नगरी टुंगिने भएको छ । बैठकका ६ वटा एजेण्डामध्ये महत्वपूर्ण एजेण्डामा पदाधिकारी चयन थियो ।

माओवादीले सांगठानिक एजेण्डाअन्तर्गत केन्द्रीय सदस्य थप र पोलिटब्यूरो, स्थायी कमिटी साथै पदाधिकारी चयनको एजेण्डा राखेको थियो । तर, पटकपटक सर्दै आएर शुक्रबारदेखि बसेको यो बैठकको आजको दिनको छलफल पनि सुरू भएको छ । यसपटक पनि पदाधिकारी चयन भने टरेको छ ।

पार्टी स्थानीय चुनावमा केन्द्रित हुनुपर्ने भएकोले पदाधिकारी चयनलगायतका विषय थाती राख्ने नेता देव गुरुङले जानकारी दिए । ‘अब हामी चुनावी अभियानमा लाग्नुपर्नेछ । चुनावपछि नै बस्नै बैठकले पदाधिकारी टुंग्याउँनेछ’, गुरुङले भने ।

एमसीसीमाथिको छलफल पनि त्यतिबेलै गराउने पक्षमा अध्यक्ष प्रचण्ड पुगेको बताइएको छ ।

एमसीसी र पदाधिकारी चयनले पार्टीमा अन्तरसंघर्ष बढाउने आँकलन गर्दै माओवादीले तत्कालका लागि यो विषय टार्न खोजेको हो ।

पार्टीका एक नेताका अनुसार महासचिव छनौटमा ‘सकस’ पर्ने देखिएपछि पदाधिकारी चयन अहिले नहुने भएको छ । माओवादीमा वर्षमान पुन, जनार्दन शर्मा, पम्फा भुसाल र देव गुरुङले महासचिवका लागि दाबी गरिरहेका छन् । तीमध्ये वर्षमान र जनार्दनलाई प्रमुख दाबेदारका रूपमा हेरिएको छ ।

चुनावको मुखमा एमसीसीमा असन्तुष्ट नेताहरू र पदाधिकारीका आकांक्षीको रस्साकस्सीले पार्टी एकता धरापमा पर्न सक्ने बुझेर प्रचण्डले मध्यमार्गी प्रस्ताव ल्याउन खोजेको नेताहरूको बुझाइ छ ।

तस्बिरहरू : उमेश कार्की । 


प्रतिक्रिया

One thought on “पदाधिकारी चयन नगरी सकिँदै माओवादी बैठक, एमसीसीमाथिको छलफल पनि चुनावपछि

  1. पार्टी अध्यक्ष तथा धेरै केन्द्रिय सदस्य छनौट गर्ने एजेन्डा भएको बैठक त तोकिएकै मिति समय र स्थानमा बसि फटाफट निर्णय गरेर टुंगिएको सम्म त थाहा छ , त्यस पछि अन्य पदाधिकारी र बांकि केन्द्रिय सदस्य छनौट गर्ने एजेन्डा भएका बैठक चैं खै के भएका हुन् के भएका हुन् !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर