सिरहा कांग्रेस चुनाव : संस्थापनइतरको बहिष्कारबीच मतगणना सुरू – Nepal Press

सिरहा कांग्रेस चुनाव : संस्थापनइतरको बहिष्कारबीच मतगणना सुरू

जनकपुरधाम । नेपाली कांग्रेस सिरहाको निर्वाचनको क्रममा भएको विवाद समाधान नगरी मतगणना सुरू गरिएको छ ।

गोलबजारस्थित उद्योग बाणिज्य संघको हलमा सभापतिका उम्मेदवार रामचन्द्र यादव पक्षको मात्र उपस्थितिमा मतगणना थालिएको हो । निर्वाचन अधिकृत सञ्जीवकुमार लामाका अनुसार अहिले सभापति पदको गणना जारी छ । सभापतिको परिणाम सार्वजनिक भइसकेपछि पदाधिकारी र सदस्यहरूको मतगणना सुरू हुनेछ ।

मतगणना सभापतिका अर्का उम्मेदवार रामसुन्दर चौधरी पक्ष बहिष्कार गरेका छन् । चौधरी संस्थापन इतरका सभापति उम्मेदवार छन् । उनले संस्थापन पक्षका उम्मेदवार यादवले मतदानमा धाँधली गरेको आरोप लगाउँदै बहिष्कार गरेका हुन् ।

हिजो अबेरसम्म मतदान जारी थियो । निर्वाचन अधिकृत लामाले राति करिब साढे ९ बजे मतदान सम्पन्न भएको बताए । करिब २७ सय मतदाता रहेकोम करिब २५ सयले मतदान गरेका छन् । निर्वाचन अधिकृत लामाले खसेको मतबारे कुनै सूचना दिएका छैनन् ।

करिब १३ सय मत खसेपछि संस्थापन पक्षका उम्मेदवार यादवले गुण्डा लगाएर धाँधली गरेको भन्दै अर्का प्रतिस्पर्धी चौधरीले आवाज उठाएका थिए । चौधरी पक्षका कार्यकर्ताको प्रदर्शनको क्रममा प्रहरीले लाठीचार्ज गरेको थियो ।

प्रहरीको कुटाइबाट लहान सभापति रासलाल रामको टाउकोमा चोट लागेको छ । लहान अस्पतालमा उनको उपचार भइरहेको छ । प्रहरीले लाठीचार्ज गरेलगत्तै मतदानस्थलमा रहेको आफ्ना पक्षका प्रतिनिधिसमेतलाई फिर्ता बोलाएर सभापतिका उम्मेदवार चौधरीले मतदान प्रक्रिया बहिष्कार गरेका थिए ।

उनले आज विज्ञप्ति जारी गरेर गुण्डा प्रयोग गरी जबर्जस्ती लाठीचार्ज गर्न लगाएर मतदानमा धाँधली गरेको आरोप लगाए । सो मतदान बदर गरी अर्को मतदान गराउन चौधरीको माग छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर