अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सिन्धुपाल्चोकका अगुवा महिलाहरु सम्मानीत
सिन्धुपाल्चोक । ११२ औं अन्तरष्ट्रिय नारी दिवसको अवसरमा सिन्धुपाल्चोकमा विभिन्न राजनीतिक दलसँग आवद्ध महिला संघ-संगठनहरुले विभिन्न चेतनामुलक कार्यक्रमहरु आयोजना गरेर नारी दिवस मनाएका छन् ।
माओवादी निकट महिलाहरुको संगठन अखिल नेपाल महिला संघ क्रान्तिकारी जिल्ला समिति सिन्धुपाल्चोकको आयोजनामा जिल्लाभर चेतनामुलक कार्यक्रमहरु सम्पन्न गरेको छ ।
अन्तराष्ट्रिय नारी दिवसको अवसरमा अनेमसंघ क्रान्तिकारीले सुनकोशी गाउँपालिकाका विभिन्न क्षेत्रबाट समाजमा योगदान पुर्याएका महिलाहरुलाई सम्मान गरेको छ । सुनकोशी गाउँपालिकाका महिला उद्यमी, शिक्षा क्षेत्रमा योगदान गर्ने, अधिवत्ता, प्रोफेसर, सञ्चारकर्मी विद्यावारीधि गर्ने महिलाहरुलाई सम्मान गरेको छ ।
अनेमसंघले सुनकोशी गाउँपालिकाबाट विद्यावारीधी गर्ने महिलाहरु प्रोफेसर डाक्टर उर्मीला प्याकुरेल र अञ्जु खढकालाई सम्मान गरेको छ ।
त्यस्तै अधिवत्ता लक्ष्मी थापा(नानी) सञ्चारकर्मी शारदा थापा, शिक्षा क्षेत्रमा लामो समय योगदान पुर्याएकी दुर्गा थापा र महिला उद्यमी सुनिता कार्की लगायतले समाजमा पुर्याएको योगदानको स्मरण गर्दै सम्मान गरिएको अनेमसंघ क्रन्तिकारीकी जिल्ला अध्यक्ष अम्बिका नेपालले जानकारी दिइन् ।
नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य अमृता नेपालले सामाजिक क्षेत्रमा योगदान गर्ने अग्रज महिलाहरुलाई सम्मान पत्र र दोसल्ला ओडाएर सम्मान गरेकी थिइन । आफुहरुलाई गरेको सम्मानले झन हौसला बढेको र आगामी दिनमा महिला दिदी बहिनीहरुको लागि काम गर्न प्रेरण मिलेको सम्मानीत महिला अगुवाहरुले बताए ।
समाजमा अहिले पनि महिलाहरुले केही नयाँ काम गर्दा हेप्ने प्रवृत्ति अझै रहेको बताउँदै यस्ता सम्मानले आफुहरुलाई थप हौसला मिलेको शिक्षा क्षेत्रमा योगदानबापत सम्मानीत भएकी सदावहार एकेडेमीकी प्रिन्सीपल समेत रहेकी दुर्गा थापाले बताइन् ।