मुसहर बस्तीकी सरल र साहसी सलिता सदा – Nepal Press
ब्लग

मुसहर बस्तीकी सरल र साहसी सलिता सदा

बालबालिकाको निमित्त गैरसरकारी संस्थाहरुको महासंघले स्थानीयस्तरमा बालअधिकारको क्षेत्रमा काम गर्ने स्वयसेवीहरुको समूह बनाउँदै थियो । म महासंघको अध्यक्षको रुपमा कार्यरत थिएँ । सप्तरीकी सलिता कुमारी सदा समाजिक संन्जालमार्फत हामीसँग जोडिइन् ।

सलिता आफैं मुसहर महिला भएकीले पनि मुसहर महिला र बालबालिकाको अवस्थाबारे संवाद गर्न सहज भयो ।

मेरो जिज्ञासा धेरै भएपछि भनिन्, ‘तपाई बस्तीमै आउनुहोस् । आफ्नै आँखाले देख्नु हुनेछ । प्रत्यक्ष भेटेर कुरा गर्दा झनै यथार्थ सूचनाहरु पाउनुहुनेछ र नयाँ अनुभव पनि गर्न सक्नुहुनेछ ।’

माघी नजिकिँदै थियो । माघीमा सहभागी हुने इच्छा सुनाएँ । उनले निम्ता दिइन् ।

विपी राजमार्गको नागबेली सडक, सडक किनाराका सुनौला तोरी बारी अनि कोशी किनाराको रमणीय दृश्यसँगै गाडीमा हुइँकिएँ । म सात घन्टाको ड्राइभमा अमाहा पुग्दा सलिता बाटोमा कुरिरहेकी थिइन् ।

उनले भनिन्, ‘समाजिक संन्जालमा चिनेको, प्रत्यक्ष भेट नभएको, शहरमा बस्ने व्यक्ति झुपडीमा बस्न आउनेछन् भन्ने विश्वास नै थिएन । तर पनि थोरै विस्वासको साथ कुरिरहेकी थिएँ ।’

उनलाई घर जाने बाटो देखाउन अनुरोध गरेँ । उनी थोरै लजाइन् । हिस्सी परेको अनुहारमा सेतो दाँत हिम श्रृखला जस्तो मनमोहक देखिन्थ्यो उनको ।

झण्डै १० मिनेटमा हामी उनको घरमा पुग्यौं ।

बस्तीका ६-७ जना मानिसहरु मेरो कार घरसम्म पुर्याउन बाटो बनाइरहेका रहेछन् । मैले कार बाटोमै राख्दा हुने बताउँदा उनीहरुले मानेनन् ।

मलाई सलिताको साहस, त्यो खुल्ला व्यवहारले खिच्यो । समाजिक संन्जालबाट चिनेको व्यक्तिलाई निमन्त्रणा दिएर घर लगेकी थिइन् । उनको परिवार पनि सहज रहेछन् ।

सलिताको अनुरोध थियो ‘माटाको झुप्रो, झुप्रो भित्र गाई, सुंगुरहरुको गोठ, यताउता छरिएको गाई भैसीको मल र गुईठाहरुको बीचमासुत्छौं । तपाईलाई शौचालय असहज हुनसक्छ । बेलुका होटेलमै सुत्नुहोला ।’

३ वर्ष भएछ यो वस्तीमा शौचालय घरघरमा बनाएको तर, शौचालय न सफा थियो न उचित प्रयोग । शौचालय नै रोग सर्ने माध्यम हुने हो कि भन्ने भय थियो । तर शौच खुल्ला चौरबाट शौचालयसम्म आउनु आफैंमा उदाहरणीय थियो ।

मैले सलितालाई समुदायमै रात बिताउन पाएमा मात्रै आउँछु भन्ने अड्डी कसेको थिएँ ।

सलिताले परिवारसँग परिचय गराइन् । उनको बुबा भने माघीको लागि समान जुटाउन बिहानै निस्केका रहेछन् । उनको घरमा परिवारकै जेठी सन्तान उनी, बुबा, मुमा, चार बहिनीहरु, माइली बहिनीको सानो छोरा र एक भाइ रहेछन् ।

सलिताले मेरो सुत्ने कोठा देखाइन् । उनको बुबा र म त्यही कोठामा सुत्ने जानकारी दिइन् । रातको झण्डै ८ बजेको थियो । सलिताको बहिनी शर्मिलाले भनिन्, ‘भन्सा बैनगेलई खाईला आबू ।’
जाडोबाट बाँच्नका प्रत्येक घरमा बिहान बेलुका आँगनको बीचमा घुर बालेर ताप्ने दैनिकी । पराल र दाउरा बालेर घुर ताप्दा धुवाँको मुस्लो निस्किएको हुन्थ्यो ।

सलिताको आमा बोल्न लजाउनु भयो, सायद म मैथिली बोल्न नसक्ने र नयाँ भएर होला । अगेनाको छेउमा सबै परिवारसँगै खाना खाएँ ।

भोलिपल्ट माघी थियो । माघीको लागि विभिन्न प्रकारको लड्डुको तयारी हँुदै थियो । म पनि लड्डु बनाउन सहभागी भएँ ।

सलिताको भान्सासँग जोडिएको अर्को घरबाट झगडाको आवाज आइरहेको थियो । ‘सर यस्तै हो पुरुषहरु रक्सी धोकेर आउने अनि घरमा श्रीमतीसँग झगडा गर्ने, दुःख दिने आजसम्म पनि निरन्तर छ,’ सलिताले दुःख मनाउ गरिन् ।

सलिताले उनीहरुलाई मैथिलीमा ‘हमरा घर पुगैको छै यहाँ सब झगडा नैकरु न’ भनिन् ।

घरपरिवारको पुरै जिम्मेदारी बोकेर होला, सलिता गम्भीर, परिपक्व, साहसी, कामकाजी रहिछन् ।
उनको आँगनमा मोटरसाइकल राखेको थियो । मैले उक्त मोटरसाइकलबारे सोधेँ ।

‘मेरो हो नि सर, भोली म तपाईलाई राखेर कुदाउला नी हुन्छ ?’

‘सबै केटीहरुले स्कुटी चलाउछन् तर, तपाईको त बाइक रहेछ ?’

मेरो यो प्रश्नमा भनिन्, ‘पुरुषभन्दा महिला केही कुरामा कम हुँदैनन् सर ।’

उनी सर्ट पाइन्ट लगाउने, मोटरसाइकल कुदाउने, २६ वर्षसम्म पनि विवाह नगरी परिवारको जिम्मेदारी बोकेकी केटा जस्तो देखिने साहसी महिला देखिन्थिन् ।

३५ घरधुरी रहेको अमाह बस्तीमा कुल १८२ मुसहरहरु बस्दा रहेछन् । महिला ८०, पुरुष ४९ र बालबालिकाहरु ५३ रहेछन् । दुःख त त्यसवेला लाग्यो, वस्तीमा ६० कटेका बूढाबूढी नै रहेनछन् ।

चरम गरिबीले रोग लाग्दा समयमा उपचार गर्न नसक्नु, कुपोषण, सरसफाईको लापरबाही, छिटो विवाह गरी सन्तान जन्माउने र पुरुषहरुको अत्यधिक रक्सी सेवनले अकालमै मृत्यु हहुँ रहेछन् ।
पुरुषहरु नागकिता बनाएपछि र पढाइ बीचमै छाडेर पैसा कमाउन ऋण काढ्न सक्नेहरु खाडी मुलुक जाने र पैसाको जोहो गर्न नसक्नेहरु भने भारतमा श्रमको लागि जाने रहेछन् । त्यहाँको औसत महिलाको विवाहको उमेर १६ र पुरुषको २० वर्ष रहेछ ।

१८ वर्षसम्म पनि विवाह नगरी बस्ने केटीहरु एकाध मात्र रहेछन् ।

‘जम्मा ३ जना केटीहरु मात्र छन सर यहाँ १८ वर्ष काटेका तर, विवाह नगरी बसेका,’ सलिताको जवाफ थियो ।

म्ुख्यतः उमेर ढिला भएपछि विवाह गर्ने केटा नपाउने र दाइजो झन् बढी लाग्ने हुनाले १६–१७ वर्षभित्रै परिवारले विवाह गरिदिने रहेछन् ।

समाजिक संन्जालबाट १४–१५ वर्षमै प्रेम गरी स्कूल नै छोडेर विवाह गर्ने घटना अत्यधिक बढेको रहेछ । समाजिक सन्जालले झन् कम उमेरमा विवाह गर्ने चलनलाई बढाएको रहेछ ।

रातको १० बज्दासम्म सलिताको बुबा आउनु भएको थिएन ।

‘यस्तै हो सर, बुबा ढिला नै आउनु हुन्छ र पिएर पनि,’ सलिताको जवाफ थियो ।
परिवारसँग विदा लिएर सुत्ने कोठातिर गएँ ।

भोलि माघी मनाउने, मुसहरको अन्तर्राष्ट्रिय भुइँया दिवसमा सहभागी हुने योजना सलिताले सुनाएकी थिइन् । म उत्साहित थिएँ, नयाँ अनुभवका लागि ।

०००

बिहान आठ बजे ब्युँझिएँ । सलिताको बुवा नजिकै सुत्नुभएको रहेछ । हिजो कुन वेला कामबाट फर्केर सुत्नुभएको थियो, थाहा पाइनँ ।

मुसहर बस्तीको त्यो मेरो निद्रा अद्भूत रह्यो ।

भान्साबाट आएको बास्नाले घरमा माघीको स्पेसल परिकारहरु तयार भएको महसुस भइरहेको थियो ।

पहिलो दिनमै सलिता कुन छिमेकीको घरको शौचालय सफा होला भनेर दगुर्दै थिइन् । मैले उनलाई जे जस्तो छ घरकै शौचालय प्रयोग गर्छु भनेँ ।

सलिताले समाजिक र राजनितीक रुपमा सक्रिय केही व्यक्तिहरुलाई बोलाउनु भएको रहेछ, मसँग परिचय गराउनका लागी । दोश्रो दिनको सूूुरुवात समुदायका तिनै व्यक्तीहरुसँगको भलाकुसारीबाट भयो ।

मुसहर समुदायबारे छलफल भयो । अशिक्षा समस्याको जड भएको उहाँहरुको मत थियो । पुराना पुस्ता मात्र होइन, नयाँ पुस्ताहरुको पनि चेतानस्तर उठाउन गाह्रो भएको निष्कर्ष थियो – स्कूल शिक्षाले चेतनास्तरको विकासमा भुमिका हुन्छ नै तर, शिक्षाको पहिलो पाठशाला घर, समुदाय र संस्कृती हो ।

यो समुदायमा न त स्कूल शिक्षा राम्रो न समाजिक शिक्षा । त्यसकारण पनि नयाँ–पुराना दुबै पुस्तामा चेतनास्तर उकास्न गाह्रो । आधुनिकताले ल्याएको नयाँ प्रविधी र विचारहरुको सही प्रयोग नहुदाँ समाजमा झन् विकृती, विभाजन र असहिष्णुता बढेको देखिन्छ ।

प्रदेश नम्बर १ र २ को समथर जिल्लाहरूमा बसोबास गर्ने मुसहर जातीहरु झण्डै बाह्र लाख रहेको नेपाल राष्ट्रिय मुसहर संघका अध्यक्ष चन्देश्वर सदाले बताउनु भयो ।

मैले सोधेँ, ‘पछिल्लो राष्ट्रिय जनगननाले त मुसहरहरुको जनसंख्या दूई लाख पचास हजार भन्दा कम देखाउछ त ?’
उहाँले त्यो तथ्यांकलाई अस्विकार गर्नु भयो र नेपालभरी १२ लाख बढी मुसहर भएको जानकारी दिनु भयो ।

मुसहर जातिभित्र पनि थुप्रै थरहरु हुने हुनाले जनगननामा सहि तथ्यांक नआएको उहाँको दावी थियो । चन्देश्वर सदाले मलाई नेपाल राष्ट्रिय मुसहर संघको अवधारणा तथा धोषणापत्र दिनु भयो र जोड दिँदै भन्नु भयो ‘सर, मुसहर जाती १२ लाख भन्दा बढी छौं ।’

मुसहरहरू झापा, मोरङ, सुनसरी, सप्तरी, उदयपुर, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा, रौतहट, नवलपरासी ,कपिलवस्तु जिल्ला लगायत २४ जिल्लामा छरिएर रहेको तथ्यांकले देखाउँदछ ।

मुसहर जातिभित्र सदा, माझी, सदाय, भुइँया, क्रषि, क्रषिदेव, मुसहर थरहरु रहेछन् । चन्देश्वर सदाको यी तथ्यांक गहन रुपमा हेर्दा पुरानो जनगणनाले देखाएको तथ्यांकमा विश्वास गर्ने आधार भेटिँदैन ।

माघीभन्दा पनि मलाई भुईया उत्सबमा लान र मुसहर जातीबारे बढी भन्दा बढी ज्ञान दिने प्रायासमा थिइन् सलिता । ११ बजेबाट भुईया उत्सब सुरु हुने हुदाँ छिट्टै हिँडनु पर्ने जानकारी दिइन् ।

कार्यक्रमस्थल झण्डै पचास किलोमिटर टाढा थियो अमाहाबाट सकरदही । महिलाहरुको कलस यात्राबाट सुरु हुने भनिएको त्यो भुईयाँ उत्सवमा कलस यात्रा नछुटोस् भन्ने उनको चाहना थियो र मलाई पनि छुटाउन मन थिएन ।

१० बजे सलिताको आमा र बहिनीले बनाएको स्वादिष्ट खानालाई थाती राखेर उत्सवतिर अगाडि बढ्यौँं ।

सलिताले फोनमा कुरा गरिन् । फोन राख्दै भनिन्, ‘विशेष कारणले उत्सव एक बजे मात्र सुरु हुने भएछ । अब हामी फर्केने हो कि सर खानाको लागि ?’

‘फर्कने भन्दा यहाँको घुम्ने स्थलहरुमा घुमौं न, हुन्छ ?’

‘अँ सर, तपाई भोकै पनि हुनुहुन्छ, आज शनिबार पनि हो । यहाँको प्रख्यात शनिको मन्दिर छ । तपाई देवदेबताप्रति विश्वास गर्नुहुन्छ भने म लान्छु ।’

म धार्मिकभन्दा बढी आध्यात्मिक हुँ । तर, पनि शनिको पूजा दर्शन गर्न मैले सहर्ष स्वीकार गरे । हाम्रो यात्रा शनिको मन्दिर तर्पm मोडियो ।

‘सर, तपाईले खाजा नखाएको पनि राम्रो भयो नि ।’

‘किन र सलिता जी ?’

‘यो शनिको मन्दिर धेरै प्रख्यात छ नि सर । धेरै टाढाटाढाबाट दर्शनको लागी आउँछन् । तपाई भाग्यमानी हुनुहुँदो रहेछ । कुनै योजनाविना नै तपाईलाई खालीपेटमा शनिले डाक्नु भयो, सोच्नुहोस त ।’

‘साच्चै सलिता जि त्यस्तै भयो । तिमीलाई धन्यबाद ।’

मुस्कुराउदै उनले हस् मात्र भनिन् ।

‘सलिता जी तपाईको बारेमा अलि भन्नुहोस न । जागिरबाहेक अरु के गर्नु हुन्छ ? के गर्न तपाईलाई मन पर्छ ?,’ बाटो काट्नु पनि थियो र उत्सुक्ता पनि थियो ।

अलि बढी नै लजाउँदै भनिन्, ‘म नि सर, सानोतिनो राजनिती नि गर्दछु नि ।’

प्रत्येक संवादबीच उनको मुस्कुराहट अद्भूत थियो ।

‘सर तपाई किन हाँस्नु हुन्न ? हाँस्नुहोस् न ! हाँस्दा तपाई झन राम्रो देखिनु हुन्छ,’ पहिलो चोटी उनले जिस्काइन् ।

‘खै सलिता जी, म मनले बढी हाँसिरहेको हुन्छु । तर किन हो मनको हाँसोलाई बाहिर निकाल्न सक्दिनँ । सबैको मेरोबारे यही गुनासो छ ।’

मैले फेरि कोट्याएँ ‘कुन पार्टीको राजनीती गर्नु हुन्छ तपाई ?’

‘खै के भन्ने ? एमाले समाजवादीमा छु अहिले । पहिला त एमालेमा थिएँ ।’

‘राम्रो हो त नि । मुसहर समुदाय यसै पनि राजनितीमा कमजोर छ । सत्ता र शक्तिबाट टाढा पनि छ । तपाई जस्तो महिला यसरी राजनितीमा लाग्नु त धेरै राम्रो हो तर, किन निराश देखिनु हुन्छ ?,’ प्रतिप्रश्न थियो मेरो ।

‘खै के भन्ने सर, गरीबका लागि कम्युनिष्टको राजनिती भनेर लागियो तर, सोचे जस्तो देखिएन । पार्टी र सिद्धान्त टाठाबाठा, पैसावालाको रहेछ । हामी त भोटका लागि मोहोरा मात्र ।’

यो निराशा उनको मात्र लागेन । उनले पुरै समुदायको प्रतिनिधित्व गरेकी थिइन् ।

‘एमाले समाजवादीमा कुन पदमा के जिम्मेदारी लिएर काम गर्दै हुनुहुन्छ त सलिता जी ?’

‘म दलितको कोटाबाट सप्तरीको जिल्ला सदस्य छु तर, मलाई निरन्तरता दिन मन छैन सर ।’

‘किन र त्यस्तो ?’

‘खै सर, कसरी भनुँ, होस् पछि कुरा गरुँला यो बारेमा । हजुरको बारेमा भन्नुहोस् न । तपाई पनि राजनिती गर्नु हुन्छ कि हुदैन ?’

हामी मन्दिर नजिक पुग्दै थियौँ । बाटो अलि बिग्रेको थियो । मेरो सानो गाडीलाई दुःख भने भइरहेको थियो । विस्तारै गुडाउन उनको अनुरोध थियो मलाई ।

मैले फेरि कोट्याएँ, ‘किन त सलिता जि राजनीति छोड्न मन लागेको ?’

‘आफू त गरीब परिवारमा हुर्केको । पैसा छैन । आफ्ना छैनन् । दलितको कोटामा जिल्लास्तरमा छु । हेर्नु न सर कसरी भनँु ?’

‘केही फरक पदैन मसँग कुरा गर्दा,’ उनलाई अलि सहज बनाउने प्रयास गरेँ ।

उनले एक सासमा भनिन्, ‘सबैले गिद्धे दृष्टिले हेर्ने, डर पो लाग्छ सर ।’

उनले मेरो अनुहार हेरिन् । मेरो कार एक्कासी रोकियो । सलिता अगाडि ठोकिन पुगिन तर, उनले हातले आफूलाई बचाइन् ।

‘सर के भयो ? कार ठोक्किएको त छ छैन नि सर ?’

‘छैन छैन । अब कति समयमा पुगिन्छ शनिको मन्दिर ?’

‘पाँच मिनेटमा पुगिन्छ सर ।’

०००

अनकन्टार जंगलको बीचमा बगेको खहरे खोलामा कार पार्किङ गरेँ । झण्डै २० भन्दा बढी मोटरबाइक, ६ वटा गाडीहरु अनि मानिसको भिड देखेर छक्क परेँ ।

‘आज शनिबार हो सर, अझ कोरोनाको कारणले हो, नत्र यहाँ कार राख्ने ठाँउ हुँदैन ।’

बगरमा पूजा समग्री बेच्ने पसल आठवटा जति थिए । नास्ताको पसल, सेल पकाउनेहरु, झण्डै सानोतिनो मेला जस्तो भिडभाड ।

‘बजार नै पो लाग्दो रे छ त ?’

‘शनिबार मात्र हो सर, अरु बार यत्रो भिड हुँदैन ।’

पूजा समग्री पसलमध्ये एक पसल सलिताले रोजिन् । पसलको भाइले भने, ‘दाजु यो लोटामा पानी लिएर आउनु होला, जुत्ता यहीँ राख्नुहोस् ।’

खोलाको बगरमा थापेको पसलको छेवैमा पानी बगिरहेको थियो । मैले त्यही पानी भर्न खोजेँ ।

‘दाइ यो पानी होइन, माथि धारा छ त्यहाँबाट ल्याउनुपर्छ ।’

‘ए हो र भाइ ?,’ मेरो स्वीकारोक्ती थियो ।

सलिताले बाटो देखाइन् । हातखुट्टा पखालेर चोखो पानी लिएँ । पसलको भाइले पुजाको सामाग्री दिए ।

झण्डै ५ मिनेटको उकालो पछि शनिदेवको मन्दिर पुगियो ।

‘तेल, कालो धागो शनिदेवको प्यारो हो नि सर !’

‘पहिला जल चढाउनुहोस् अनि तेलले मालिस गर्नुहोला । त्यसपछि कालो धागोले शनीको मन्दिर घुमेर बेर्नुहोला । अन्तमा फूलपातीले पूजा गर्नु है सर !’

सलिताको निर्देशन बमोजिम पूजा गरेँ । उनले मेरो फोटोहरु खिचिदिइन् । पूजा सकेर हामी बगरको पहिलो नास्ता पसलमै बस्यौंँ । झण्डै १२ बजेको थियो । बिहान चियाबाहेक खाएका थिएनौं, दुवै भोकाएका थियौं ।

सेल, तरकारी, जेरी, पुरी मागाएँ । सलिताले चाट मगाइन् ।

हामी भुइयाँ उत्सवमा पुग्न हतारिएका थियौं । सकरदहीतिर अगाडि बढ्यौं ।

झण्डै एक घन्टाको यात्राकै बीचमा सलितालाई फोन आयो ।

‘सर कार्यक्रम त अझ ढिला पो होला जस्तो छ । हतार गर्नु पर्दैन, विस्तारै कार चलाउनुहोस् ।’

‘मेरो साथी ममता पनि बसमा आउँदैछिन् । उसलाई पनि हामी सँगै लैजाउँ है सर ?’

‘हुन्छ नि, कति समय लाग्छ साथी आउन ?,’ मैले जिज्ञासा राखेँ ।

‘३० मिनेटभन्दा बढी लाग्छ । सुन्नु न सर, हामी कुर्नुभन्दा यहीँ नजिकै माँ कंकालिनीको मन्दिर छ, तपाई दर्शन गर्न चाहनुहुन्छ भने म लिएर जान्छु ।’

हामी माँ कंकालिनीको मन्दिरतिर अगाडि बढ्यौं ।

‘सर यो मन्दिर गायक उदित नारायाण झाले बनाएका हुन् । त्यही भएर लोकप्रिय छ । उदित नारायणको पुख्र्यौली घर पनि यहीँ हो ।’

‘उदित नारायणको परिवार कोही बस्छ त यता ?’

‘पुरानो घर छ रे तर, कोही बस्दैनन् । तपाई जाने भए लान्छु नि ! यहाँबाट ३–४ किलोमिटर होला सर ।’

‘खाना खाएको छ, पूजा त नगर्ने होला नि होइन सर ?,’ पूजा नगर्ने निर्णय सलिताले नै सुनाइन् । माँ कंकालिनीको दर्शन ग¥यौँ, केही फोटोहरु खिचेर भुइया उत्सवस्थलतिर अघि बढ्यौं ।

मुसहर माटो काट्ने, सम्याउने र भर्ने काममा पोख्त मानिने जाती, कूलदेवता पनि ‘भुँइयाँ’ महाराज अर्थात भूइँ देवता (माटोलाई नै देउता मान्ने) । यसकारण पनि मुसहरहरु आफूलाई भूइँको नाताले परिचय गराउँदा रहेछन् ।

मुसहरहरुको जीवन गुजाराको पुख्र्यौली पेशा कृषि, मजदूरी र आज पनि त्यही । तराईमा एक ठाउँको माटो काटेर अर्को ठाउँमा भर्न टाला (काँधमा बोक्ने) बोक्ने खास जातिको रुपमा आज पनि उनीहरु प्रख्यात रहेछन् ।

मुख्यतः घरमूली र वयस्क पुरुष बिहान उज्यालो हुनसाथ ‘गिरहत’ (आफूले काम गर्न जाने घरधनी)को घरमा मजदुरी गर्न जाने दिनचर्या । हिजो आज भने युवाहरु विदेश जाने क्रम बढेको रहेछ ।

मुसहरका सात आठ वर्ष नाघेका नानीहरु खुर्पी र कोदालो बोकेर कतै मुसाको दुलो देख्नसाथ त्यसलाई पहिल्याउँदै खन्दै गएर मुसा मारेर घर फर्कनु दैनिकी रहेछ । आज पनि मुसा मार्न मुसहर जाती माहिर मानिन्छन् ।

हिजोआज केही हदसम्म बालबालिकाहरुलाई स्कूल पठाउने क्रम बढेको देखिन्छ तर, स्कुल ड्रप आउट भने अध्यधिक रहेछ । मुख्यतया गरिबीको कारण घर धान्न समस्या हुने हुदाँ कलिलै उमेरमा मजदुरी गर्नुपर्ने बाध्यता रहेछ ।

घरका वयस्क महिला भने छोरीचेली लिएर घुँगी (हिलो पानीमा पाइने शंखे किरा प्रजातिको किरा) मार्न जाने रहेछन् । मुसा पोलेर बनाइने चटनी र घुँगीको झोल मुसहरले खाने विशिष्ट परिकार रहेछ ।

माटोसँगको अटुट नाता भएको मुसहरहरुको माघ महिना भुँइयाँ महाराजको पूजा आराधनाको साथ उत्सव मनाउने महिना ।

नेपाल राष्ट्रिय मुसहर संघले विभिन्न मुसहर संघ संस्थाहरुसँग मिलेर मुसहर जातिको हकहित र संस्कृतीको संरक्षणको प्रमुख उदेश्यसहित प्रत्येक वर्ष भिन्नभिन्न जिल्लाका सबै मुसहरहरु जम्मा भएर एकसाथ भुइया पर्व मनाउन सुरुवात गरेको तीन वर्ष भएछ ।

तेश्रो अन्तर्राष्ट्रिय भुइयाँ दिवसको नारा ‘अपन संस्कृती अपन स्वाभिमान, तोडु विभेद के जनजीर देखु वीर पुर्खा के नजीर’ का साथ हनुमान नगर कंकालिनी नगरपालिका, वाड न.ं २ सकरदहीमा मनाउने तय भएको रहेछ ।

हामी झण्ढै एक घन्टामा अन्तराष्ट्रिय भुईयाँ दिवस मनाउन बनाइएको मन्चमा पुग्यौं । उत्सवलाई औपचारिकता दिन मन्च, माइकहरु, भुईया उत्सवमा मुसहर जातीको इस्ट देवता दिनाभद्रीको गीत, भजनको लागि कलाकारहरु समेतको व्यवस्था भएको रहेछ ।

मन्चको अगाडि दिनाभद्री मुसहरहरुको कुल देवताको पूजाको लागि पूजास्थल थियो । तातोतातो दूधले पुजारीहरुले देहशुद्धिको लागि नुहाउने परम्परालाई जोगाउन पूजास्थलमा माटोको भाँडामा दूध तातिरहेको थियो ।

नेपाल राष्ट्रिय मुसहर संघको आयोजनामा जय श्री दिनाराम भद्री सदा सेवा समाज, अन्तराष्ट्रिय मुसहर भुईयाँ विकास समिति, दिनाभद्री बास्केट फन्ड नेपाल र हनुमान नगर कंकालिनी नपा वाड न.ं २ सकरदहीको सहयोग रहेको भुईया उत्सवमा धेरै जिल्लाबाट मुसहरहरुका प्रतिनिधिहरुको उपस्थिती थियो ।

बस्तीका झण्डै ५० भन्दा बढी महिलाहरुबाट नजिकैको नहरबाट कलसमा पानी लिएर कलस यात्राबाट उत्सव सुरु भयो । उत्सवमा कुल देवता दिनाभद्रीको भजन गीतहरु बजिरहेको थियो । कलसलाई पूजास्थलमा स्थापित गरेपछि औपचारिक कार्यक्रम सुरु भयो ।

मलाई पनि उक्त दिवसको सभामा अतिथिको रुपमा निमन्त्रण गरियो र मन्चमा राखियो । मलाई मन्चमा बस्न मन नहँुदानहुदै पनि विशेष आग्रहमा कार्यक्रममा सहभागी भएँ ।

तर, विडम्बना नै भन्नु पर्छ, जन्मिदै माटोको टीका लगाइने, काम माटोकै गर्ने र ‘भुइँ’ सँगै नाता जुटेका ‘भुइयाँ महाराज’ पुज्ने, माटोलाई देवता मान्ने र कृर्षि कर्मलाई नै मुख्य पेशा बनाएका तराईका आदिवासी दलित कुल मुहसरमध्ये २३.७ प्रतिशतसँग मात्रै आफ्नो जमीन रहेको छ । बाँकी सबै मुसहरहरु भुमिहीन ।

मुसहरहरुमा भुँइयाँ महाराजका नाउँले चिनिने मुसहर जातीको कूलदेवता दिनाभद्रीको वीरगाथा गाउने, दिनाभद्रीका जीवनसँग सम्बन्धित नाटक खेल्ने, पूजा अनुष्ठान गर्ने र सामूहिक भोज खाएर भुईया उत्सव मुख्य चाडको रुपमा मनाउने परम्परा रहेछ ।

पूजा अनुष्ठानमा दिनाभद्रीको आराधनाका लागि ‘देहशुद्धि’ गर्नुपर्ने र देहशुद्धीका लागि पूजा अनुष्ठान गर्ने व्यक्तिले उम्लेको दूधले नुहाउनु पर्ने रहेछ । यस विधिलाई मुसहरहरुले ‘अपटनी’ भन्दा रहेछन् ।

विभिन्न वक्ताहरुको वक्तव्यसहितको एक घन्टाको औपचाकि कार्यक्रमपछि तरबारहरुसहित एक हुल पुजारीहरु बाहिरबाट पुजास्थलमा प्रवेश गरे । मौलिक बाजासहित पूजास्थलमा उम्लिएको दूधलाई जिउमा हाल्दै ‘अपटनी’ सुरु भयो ।

तान्त्रिक विधिबाट उम्लिएको दूघबाट गरिने स्नान मुसहर जातिको मौलिक संस्कृति हो ।

‘चरम गरिबी र अशिक्षाको भुमरीमा जोतिएका हाम्रा पुर्खाले हाम्रो इतिहास लेख्न नसके पनि वर्षौदेखि वंश परम्पराबाट सर्दै आएको भुइयाँ महाराज दिनाभद्री दाजुभाइको पूजा उत्सव नै हाम्रो जातिको विशेष सांस्कृतिक उत्सव हो,’ नेपाल राष्ट्रिय मुसहर संघका अध्यक्ष चन्द्रेश्वर सदाले उत्सवलाई सम्बोधन गर्दै भने ।

भुइयाँ महाराजको पूजा आराधनामा तातो दूधले नुहाउँदा फोका उठ्ने वा कुनै स्वास्थ्य समस्या कहिल्यै थाहा नपाइएको समेत चन्देश्वरले बताए ।

झण्डै आधा घन्टा दूध स्नानसँगै दिनाभद्रीको पूजा आराधाना भयो । मौलिक बाजा, संगीत र नाचसँगै पुजारीहरुले दूध स्नान गरिरहेका थिए र सहभागी सबैले दिनाभद्रीको भजनमा ताली बजाइरहेका थिए ।

पूजा आराधानापश्चात् नजिकै बस्तीमा तयारी गरेको समुहिक भोजमा सबै सहभागीहरु सहभागी भएर कुलदेवता दिनाभद्रीलाई सम्झना गर्ने यो ‘भूईयाँ उत्सव’ले मुसहरहरुलाई एकताको सुत्रमा बाँधिरहेको थियो ।

म फोटो खिच्नमै व्यस्त थिएँ ।

‘सर भोक लागेको छैन र ? हामीलाई घरमा कुरिरहेका होलान, अब जाने कि ?’

हामी ‘भुइँया उत्सब’को त्यो समूहिक भोज छोडेर अमाहतिर फर्कियौँ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *