कांग्रेस छाडेका वडाध्यक्षको बयानः राणाशासनभन्दा मोहन बस्नेतको शासन बढी निरंकुश – Nepal Press

कांग्रेस छाडेका वडाध्यक्षको बयानः राणाशासनभन्दा मोहन बस्नेतको शासन बढी निरंकुश

४० वर्षसम्म म नेपाली कांग्रेसको झण्डा बोकेर हिँडे, तपाईंहरुलाई नौलो लाग्ला, मलाई पनि नौलो लागिरहेको छ । म नेपाली कांग्रेस पार्टीमा १५ वर्षको उमेरदेखि लागें, तर आज विशेष अवस्थाले गर्दा म पार्टी छाड्दै छु । मरेर सात पुस्तासम्म भुल्न नसक्ने साथीहरु अहिले पनि कांग्रेसमा छन् ।

खासगरी मेरो नेता मोहनबहादुर बस्नेतसँग ४० वर्षदेखि सँगै हिँडेको नेताका कारण म आज यो परिस्थितिमा छु । पञ्चायती शासनकालमा गाउँमा पुलिस आउँदा गाउँका सबै भाग्थे, कालो दौरा सुरुवाल लगाएको कोही मान्छे गाउँमा आउँदा पनि पुलिस आयो भनेर सबै भाग्थे तर म त्यस्तो अवस्थामा पनि ऊ सँगसँगै हिँडे । उसलाई सार्वजनिक मुद्दा लागेको थियो । बस्नेतलाई गोली हान्ने आदेश थियो ।

उसको घर बाह्रविसेको क्षमादेवी मन्दिर नजिकै थियो । प्रहरीले बस्नेतलाई खोजिरहेको थियो । बस्नेतलाई प्रहरीबाट पक्राउ हुनबाट जसरी पनि हामीले बचाउनु थियो, यो २०४४ सालको कुरा थियो । त्यसैले मैले राति १२ बजे उसको कपडा लगाएर बाह्रविसे बजारमा झरे । मोहन बस्नेत भोलिपल्ट बिहान बाह्रविसेमा स्थानीय नेता हरिशरण श्रेष्ठको घरमा आएर लुकेर बसेका थिए । भेलिपल्ट बिहान ऊ सार्वजनिक हुनुपर्ने थियो, तर प्रहरीले व्यापक घेरा हालेको थियो । युवा विद्यार्थी धेरै थिए । सार्वजनिक हुन नसक्ने भएपछि मैले हिजो उसैको लगाएको लुगा लगाएर निस्कें ।

मलाई सबैले फुलमाला लगाएर स्वागत गरे । प्रहरीले मोहनबहादुर बस्नेत आएछ भनेर मलाई झण्डै २ सयको संख्यामा आएका प्रहरीहरुले फक्राउ गरेर चौकीतर्फ लग्यो । तर खुर्सानीबारीमा पुगेपछि मात्रै यो मोहन बस्नेत होइन रहेछ भनेर प्रहरीले थाहा पायो, अनि मलाई छाड्यो । मलाई प्रहरीले लगेपछि बस्नेत सार्वजनिक भएर भाषण गरेर त्यहाँबाट भागे । म त्यति सानो उमेरको मान्छे, कति आँटिलो रहेछु त !

४० वर्षदेखिको पीडा सात दिनमा पनि सुनाउन सक्दिनँ । उहाँलाई मैले के गरें, उसको घरमा चामल बोकिनँ कि, घर छेउछाउको काम गरिनँ कि, काठ बोकिनँ कि ! सबै काम गरे मैले ।

चुनावको बेला मेलम्ची क्षेत्रको बाहुनेपाटीमा माओवादीहरुले लखेटेपछि मैले नै बोकेर कुदाएको थिएँ । त्यतिबेला बाटो थिएन, कास लागेर हिँड्न सक्ने अवस्था थिएन, उसलाई बोकेर हिँड्नुपर्ने थियो ।

पहिला त त्यस्तो थिएन, तर पछि राणाको छोरी विवाह गरेपछि विस्तारै सामन्ती सोच बस्नेतमा बढी देखिन थाल्यो । आजभन्दा भोलिभन्दा उसमा सामन्ती सोच आउँदै गयो । हामीले कमाएको पैसा मात्रै दिएर नपुग्ने, बल मात्रै दिएर नपुग्ने, भोट मात्रै दिएर नपुग्ने । उहाँको सबै जिम्मेवारी हामीले बोक्नु पर्ने, भोट माग्नु पर्ने ।

मलाई २०५९ सालमा माओवादीले गोली हान्यो । गाउँबाट म दौडेर आएँ, क्षमादेवीसम्म आउँदा म ठिकै थिएँ ।तर त्यहाँबाट म बेहोस भएछु । दाजुभाइहरुले बोकेर काठमाडौं लगेछन् । आर्मीको जिम्मा लगाएर काठमाडौ लगेपछि त्यलिबेलाको सिडीओसाबले थाहा पाएर मोहन बस्नेतलाई फोन गरेछन् तर उसले ऊ मेरो कार्यकर्ता होइन भन्दै फोन राखेछन् ।

केही दिनपछि मलाई भेट्न टिचिङ अस्पतालमा आएछन् । ‘ओहो, यस्तो गोली लागेको मान्छे धन्न बाँचेछ है !’ भन्दै उनी हिँडे । मलाई दुई गोली लागेको थियो तर आठ पाउण्ड रगत दिएपछि म अस्पतालबाट डिस्चार्ज भएर बाहिर आएँ । कता बस्ने के खाने समस्या भयो । एक जना साथीले कपनमा कोठा खोजिदिए छन् । कोठा त भयो तर आ्ेड्ने ओछयाउने केही थिएन, बालबच्चाहरु सानै थिए ।

भोलिपल्ट म बत्तीसपुतलीमा रहेको मोहन बस्नेतको घरमा गएँ । उनी भर्खर राज्यमन्त्री भएका थिए । ‘मोहन दाइ, मलाई आर्थिक समस्या भयो, घरमा जाउँ भने मारिहाल्छ’ भनें । तर उनले ‘मेरो मन्त्री पद पनि गयो, बत्तीको पैसा तिरेको छैन, घरभाडा तिरेको छैन । पानीको पैसा पनि तिरेको छैन । म आफैं समस्यामा छु ,कहाँबाट तिम्लाई पैसा दिनु ?’ भने ।

म सोझो मान्छे ‘होला त’ भनेर विश्वास गरे । त्यहाँ प्रहरीहरु बसेको कोठामा ओड्ने कपडा र केही भाँडाकुडाहरु रहेछन् । ‘दाई मलाई यही दिनुहोस् न त भनेर भने तर उहाँले ‘म भोलि पनि मन्त्री हुने मान्छे, फेरि चाहिन्छ’ भनेर दिएनन् । सधै उहाँलाई साथ दिएको मान्छे, यस्तो अपत पर्दा पनि मलाई केही सहयोग गरेनन् । उहाँ त्यस्ता सामन्ती मान्छे । यस्तो दुःख र पीडामा मैले काठमाडौंमा ६ महिना बिताएँ । शान्तिकाल आयो अनि घर आएँ । अनि बिस्तारै उसँग टाढा भएँ । पार्टी छाडु कि जस्तो पनि लाग्यो तर उसको कारण किन पार्टी छाड्नु भनेर छाडिनँ ।

लामो समय पार्टीमा अपमान सहेर बसें । स्थानीय तहको चुनावमा मैले वडा अध्यक्षको टिकट दाबी गरे । मलाई कहिले भपुेन्द्र, कहिले शेखरको मान्छे भनेर टिकट दिन मानेन् । पछि सबैले भनेपछि मलाई रातको १२ बजे वडाको टिकट दिए ।

कांग्रेसबाट चुनाव जिते पनि मैले कसैलाई पक्षपात गरिनँ । मलाई युद्धकालमा गोली हान्ने माओवादी कार्यकर्ताको घरमा धारो बनाइदिएँ । मलाई धेरै अप्ठ्यारो पनि लागेको छ । मलाई साथीहरुले अहिले पनि फोन गरेर पार्टी नछाड्न आग्रह गरिरहेका छन् । तर म एउटै मात्रै समस्याले मैले पार्टी छाडे– त्यो हो सेतो हात्ती जस्तो, त्यो हात्तीलाई पाल्न नसक्ने, स्याहार गर्न नसक्ने, उसले जे गर्दा पनि हुने, कुट्दा पनि हुने, थिच्दा पनि हुने, जे गर्दा पनि हुने । उसले भन्दा अरुले राम्रो गाडी चढ्न नहुने, सबैभन्दा राम्रो घर उसलाई चाहिने, राम्रो उसले मात्रै खानुपर्ने अवस्थाबाट मुक्ति पाउनका लागि मैले कांग्रेस छाड्ने निर्णय गरेको हुँ ।

अहिले नेपाली कांग्रेस छाडेर एमालेमा आइरहँदा धेरै साथीहरुलाई डर होला । एमालेमा आउन पनि मन छ, डर पनि छ भने म सबै साथीहरुलाई डर नमानेर एमालेमा आउन अनुरोध गर्दछु । यो वडामा मेरो सास हुँदासम्म म तपाईंहरुलाई माया गर्छु, सहयोग गर्छु । अहिले एउटै व्यक्तिको पीडा सहन नसकेर मात्रै मैले पार्टी छाडेको हुँ । मैले यत्रो दुःख गर्दा त मलाई वास्ता गरेन भने तपाईं युवा साथीहरुले त दोहोरो कुरा राख्न पनि सक्नु हुन्न ।

सेतो हात्ती जस्तो यत्रो टोपी लगाएर ‘कांग्रेस भनेको म हुँ’ भनेजस्तो गर्छन् । उनी अहिलेसम्म पाँचपटक चुनाव लडिसेके अब लड्दा ६ पटक हुन्छ । अरु कोही लड्न नहुने, वडा पनि उसैले चलाउने, नगरपालिका पनि उसैले चलाउने ? पानी सदस्यसमेतको लिस्ट आफंैले बाँढ्ने, यतिसम्म निरंकुश छन् बस्नेत ।

तपाईंहरु कोही वडा अध्यक्ष उठ्छु, विकास गर्छु भन्नुहुन्छ भने त्यो मोहन बस्नेत हुँदासम्म केही गर्न सकिँदैन । वडाको बजेटसम्म तैले बाँढ्ने होइन, मैले बाढ्ने हो भन्दै सबै योजना उसैले बाँड्छन् ।

बाह्रविसेमा चुनाव जितेपछि कांग्रेसबाट निर्वाचित वडा अध्यक्षहरुलाई घरमा बोलाए । माथिबाट राजा झरेको जस्तै गरेर झरे । भाइलाई घरमा वेटर राखेको छ, हामीलाई एक कप कालो चिया दिए अनि कुरा सुरु गरे । ‘तिमीहरु त वडा अध्यक्ष जितेको, मोटरसाइकल किन्ने कुरा छ रे, तिमीहरुको अहिले मोटरसाइकल चढ्ने हैसियत भएको छैन । किन्नु हुँदैन’ भनेर हामीलाई सुरुमा नै निर्देशन दिए । हामीलाई मोटरसाइकल नचढ्नु भने पनि नगरपालिकासँग समन्वय गरेर मोटरसाइकल चढ्न थाल्यौं ।

नगरपालिकाको नगरसभा बिथोल्न हामीलाई निर्देशन दिएका थिए । ‘मेयरले मानेन भने तिमी त बलियो छ, मेयरलाई कुटे पनि हुन्छ’ भनेर हामीलाई भनेका थिए । तर म उहाँको त्यस्तो कुर मा सहमत हुन सकिनँ ।

उहाँले भनेको काम नमानेपछि मलाई स्पष्टीकरण सोधियो । मलाई डर लाग्यो । बल्लबल्ल वडा अध्यक्षमा जितेको पद नै जान्छ कि जस्तो भयो । अनि स्पष्टीकरण लेखेर काठमाडौंमा गएर नेताहरुलाई भेटें तर नेताहरुले त्यो ‘फटाहा’को कुरा नसुन्नू, केही हुँदैन भनेपछि म फर्केर आएँ ।

नेपाली कांग्रेसमा मोहन बस्नेतको दम्भ हुँदासम्म त्यहाँ बस्न सक्ने अवस्था छैन । मैले ४० वर्षपछि मात्रै उसलाई छाड्ने निर्णय गरें । मेरो आफन्तहरुलाई उसको पीडाबाट छुटाउनका लागि पनि एमालेमा आएको हुँ । तपाईं कांग्रेसमा भएका सबैको लागि मैले बाटो खुलाइ दिएको हो । सिन्धुपाल्चोकमा पुराना कांग्रेसका सबैले बिस्तारै बस्नेतलाई साथ छाडिसकेका छन् ।

तातोपानी नाकामा सामन्य झोलेपोके व्यापार गर्थें तर त्यहाँ पनि मोहन बस्नेतले मागेको जति पैसा नदिएपछि मेरो सबै सामान प्रहरीलाई भनेर पक्राउ गर्न लगाए । विद्युत्को काम गरें, त्यहाँ पनि पैसा नदिएपछि मेरो काम गर्न नै रोक लगाए । यति धेरै दुःख पीडा त कसैले पनि दिएका छैनन् ।

त्यसैले मैले कांग्रेस छाडें । कांग्रेसमा भएका सबै साथीहरुलाई यस्तो अन्याय नसहनका लागि म अनुरोध गर्दछु । मैले ४० वर्षसम्म त सकेको सहयोग गरे, तर मैले अब पाल्न नसक्ने भएँ, उसले भनेको जस्तो गर्न नसक्ने भए, मेरा सन्तानहरुका लागि पनि मैले कांग्रेसबाट मुक्त गराए ।

(बाह्रविसे नगरपालिका–२ का वडाध्यक्ष तामाङले नेपाली कांग्रेस त्यागेको घोषणा गर्दा भनेका कुरा । उनी अहिले नेकपा एमालेमा प्रवेश गरेका छन् ।)


प्रतिक्रिया

One thought on “कांग्रेस छाडेका वडाध्यक्षको बयानः राणाशासनभन्दा मोहन बस्नेतको शासन बढी निरंकुश

Leave a Reply

Your email address will not be published. Required fields are marked *