प्रचण्डसमक्ष माओवादी उद्यमीले भने- हाम्रो अर्थमन्त्रीले सक्नुभएन, अर्थतन्त्र भत्कियो (भिडिओ) – Nepal Press

प्रचण्डसमक्ष माओवादी उद्यमीले भने- हाम्रो अर्थमन्त्रीले सक्नुभएन, अर्थतन्त्र भत्कियो (भिडिओ)

काठमाडौं । नेकपा (माओवादी केन्द्र) आबद्ध उद्योगी व्यवसायी महासंघको प्रथम विस्तारित बैठक तथा केन्द्रीय कमिटीलाई सपथग्रहण गराउन पुगेका अध्यक्ष प्रचण्डसमक्ष उद्योग व्यवसायी नेताहरूले अर्थमन्त्री जनार्दन शर्माको आलोचना गरेका छन् ।

नेपाल उद्योग व्यवसायी महासंघका अध्यक्ष कृष्णप्रसाद आचार्य र केन्द्रीकृत महासंघका अध्यक्ष श्यामराज पाठकले आफ्नै पार्टीका मन्त्रीहरू दलाल पुँजीपतिका सेबक भएको भन्दै अर्थतन्त्र संकटमा परेका बताए । आचार्यले माओवादी निकट उद्योगीका काम नहुने तर माओवादीले प्रतिक्रियावादी भनेकाहरूको काम अर्थ र ऊर्जामन्त्रीले तत्कालै गर्ने गरेको आरोप लगाए ।

बैठकमा केन्द्रीकृत महासंघका अध्यक्ष पाठकले अर्थमन्त्री आफ्नै पार्टीको भए पनि अर्थतन्त्र भत्किँदै गएको र राष्ट्रिय अर्थतन्त्र बनाउने सबै सपना चकनाचुर हुन लागेको बताए । उनले त्यसो भन्दा प्रचण्ड सुनिरहेका थिए ।

पाठकले भने, ‘अर्थमन्त्री हाम्रो हुनुहुन्छ, कुरा उठाउनु कि नउठाउनु ? तर, भत्किनेबाहेक सप्रिनेतर्फ अर्थतन्त्र जाँदैन यसरी । उहाँले पुँजीगत खर्च गर्न सक्नुभएन । मैले अवगत गराउनैपर्छ । बैंकमा पैसा छैन, व्याज बढेको छ तर पनि बैंकले पैसा दिन सक्दैनन । हामी व्यवसायी हाम्रो अर्थतन्त्र बनाउने सबै सपना चकनाचुर हुँदैछ । राज्य प्रशासन नै दलाल पुँजीपतिको हातमा छ । हामी त्यसमा फसिसकेका छौं । राज्यसंयन्त्र फसिकेको छ । हाम्रो अर्थमन्त्री हुनहुन्छ, भनौं कि नभनौं । अर्थतन्त्र भत्किनेबाहेक सप्रिनेतिर जाँदैन ।’

अध्यक्ष प्रचण्डले भने उद्योगी नेताहरूका कुरालाई आफूले गम्भीरतापूर्वक सुनेको भन्दै केन्द्रीय समितिमा संस्थागत प्रतिनिधित्व गराउने आश्वासन दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर