लुम्बिनीका तीन जिल्ला हात्तीपाइले रोगको उच्च जोखिममा
रुपन्देही । लुम्बिनी प्रदेशका तीन जिल्ला अहिले पनि हात्तीपाइले रोगको उच्च जोखिममा रहेका छन् । भारतसँग सीमा जोडिएका प्रदेशका कपिलवस्तु, दाङ र बाँके अहिले पनि हात्तीपाइले रोगको उच्च जोखिममा रहेका जिल्ला हुन् ।
जोखिम रहेका जिल्लाहरुको पहिचान गरेर फागुन २८ गतेदेखि अभियान संचालनको तयारी गरेको छ । नेपालमा हात्तीपाइले रोगविरुद्धको औषधि सेवन कार्यक्रम प्रभावकारी कार्यान्वयन गर्न चुनौती देखिएको बेला सरकारले यस्तो अभियान सुरु गरेको हो ।
कपिलबस्तुमा १४ औँ चरणमा ६ लाख २० हजार ४ सय ९१ जनालाई हात्तीपाइले विरुद्धको औषधि खुवाउने स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।
पटकपटक हात्तीपाइले निवारणका लागि अभियान चलाएपनि रोग निवारण नभएपछि १४ औँ चरणमा हात्तीपाइले विरुद्धको औषधि खुवाइने कार्यालयले जनाएको छ । फागुन २८ गतेबाट जिल्लाभर हात्तीपाइले विरुद्धको औषधि खुवाइने हुँदा औषधि खाएर हात्तीपाइले निवारण अभियानमा साथ दिन जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख हेमराज पाण्डेले आग्रह गरेका छन् ।
अबको २ वर्षमा हात्तीपाइले निवारणको लक्ष्य लिएकाले हात्तीपाइले विरुद्धको औषधि खाएर ढुक्क हुन उनले आग्रह गरे । हात्तीपाइले विरुद्धको औषधिबारे आएका गलत सूचनाको पछि नलाग्न आग्रह गर्दै प्रमुख पाण्डेले यसबारे देखिएका भ्रम चिर्न सबै क्षेत्रबाट सहयोग आवश्यक रहेको बताए ।
संचार माध्यममा आएका खबर तथा सूचनाहरु जनताले विश्वास गर्ने भएकाले हात्तीपाइले रोग, यसका असर, यस विरुद्धको औषधि र यो रोग निवारणको बारेमा जनतालाई स्पष्ट जानकारी दिँदै औषधि खानका लागि प्रेरित गर्नुपर्ने उनले बताए ।
डाक्टर गणेश क्षेत्रीले हात्तीपाइले रोग विरुद्धको औषधि खाएपछि टाउको दुख्ने, वाकवाकी लाग्नेजस्ता समस्या देखिनसक्ने र यो सामान्य नै भएकाले नआत्तिन सुझाव दिए । यो औषधि दुई वर्षमुनिका बालबालिका, गर्भवती, दीर्घकालीन रोगी, एक हप्ता नपुगेका सुत्केरी र खाली पेटमा भने नखान उनको आग्रह छ ।
कपिलवस्तुमा हालसम्म १३ औँ पटकसम्म औषधि खुवाउँदा पनि ९ प्रतिशत व्यक्तिमा हात्तीपाइलेको परजीवी पाइएकाले परजिवी निवारणका लागि यस पटक थप औषधी खुवाउन लागिएको हो ।
सबैभन्दा बढी कपिलवस्तु नगरपालिकामा ८२ हजार २ सय ४३ जनालाई औषधि खुवाइने छ भने सबैभन्दा कम विजयनगर गाउँपालिकामा ४० हजार ४ सय ८३ जनालाई औषधि खुवाइदै छ ।
यस्तै वाणगंगा नगरपालिकामा ७७ हजार ६ सय ७०, शिवराजमा ७३ हजार ३ सय ३५, बुद्धभूमिमा ७० हजार ४ सय १२, कृष्णनगरमा ६७ हजार ८ सय ६७, महाराजगंजमा ६१ हजार ५ सय १६ जनालाई औषधि खुवाइने छ । यस्तै मायादेवी गाउँपालिकामा ५३ हजार ५ सय ६, शुद्धोधन गाउँपालिकामा ५० हजार ३ सय ९२ र यशोधारा गाँपालिकामा ४३ हजार ४७ जनालाई हात्तीपाइले विरुद्धको औषधि खुवाइने छ ।
अभियानमा जिल्लाभरबाट ६ सय ११ स्वास्थ्यकर्मी र ११ सय ५ स्वयमसेविका खटिनेछन् । यस्तै यसवर्ष विगतमा दिइने औषधी र यस वर्ष दिइने औषधिको मात्रा पनि फरक छ । यस्तै यसवर्ष ब्यक्तिको उचाइ अनुसार स्वास्थ्यकर्मी तथा स्वयम सेविकाको प्रत्यक्ष निगरानीमा औषधी खुवाइने छ । अहिले औषधीको मात्रा बढी भएपनि डोज भने कम रहेको छ ।
६ वर्षसम्म खानुपर्ने औषधिलाई २ वर्षमै झार्न, औषधीको प्रभावकारिता बढाउन, परजीवीको वयस्क र बच्चा दुबैलाई मार्न औषधीको साइट इफेक्ट कम गर्न यस वर्ष देखि नँया औषधि दिइन लागेको हो । अब दिइने औषधि २ पटक खाएमा २ वर्षमै हात्तीपाइले निवारण हुने जनाइएको छ ।
स्वास्थ्य कार्यालय दाङले विगत ११ वर्षदेखि हात्तीपाइले रोगविरुद्धको आमऔषधि सेवन अभियान संचालन हुँदै आएको जनाएको छ । कार्यालयका प्रमुुख अंगदबहादुर शाहीले नागरिकको लापरवाही र औषधी सेवनका बारेमा गलत सूचना प्रवाहका कारण हात्तीपाईले रोग निवारणमा चुनौती देखिएको बताए ।
यस पटकबाट मानिसको उचाई अनुसार औषधी सेवन गराउने तयारी भएकाले नयाँ मोडेलमा आधारित अभियान संचालन हुने बताए । टिईसी र अल्बेन्डाजोल अनिवार्य सेवन गर्नुपरे पनि यो पटकबाट आईभर मेक्टिन नामक औषधी थप गरिएको उनले बताए ।
सन् २०३० सम्म जनस्वास्थ्य समस्याका रुपमा रहन नदिने गरी अभियान अघि बढेकाले नेपालबाट रोग उन्मुलन गर्न नियमित रुपमा आमऔषधि सेवन नै सबैभन्दा उत्तम विकल्प रहेको उनको भनाई थियो ।
जिल्लाको शहरी क्षेत्रमा पर्ने पालिकाहरु तुलसीपुर र घोराही बढी जोखिममा देखा परेका छन् । गतवर्ष पनि ६५ प्रतिशत नागरिकले मात्रै औषधी सेवन गरेको पाइएको छ ।
यसपटक पनि जिल्लाको सिसहनियामा ३१४ जनामा परिक्षण गर्दा १५ जना अर्थात ४.७ प्रतिशतमा तथा घोराहीको रामपुरमा ३३० जनामा परीक्षण गर्दा ११ जना अर्थात ३.३ प्रतिशतमा हात्तीपाइले रोगको संक्रमण देखिएको छ । यो जोखिम दर जिल्लामा ४ प्रतिशत बढी देखिएकोमा कम्तिमा २ प्रतिशतभन्दा कम गर्नुपर्ने स्वास्थ्य कार्यालय दाङका प्रमुख शाहीले बताए ।
नेपालले सन् २०३० सम्म हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य लिएको छ । दिगो विकास लक्ष्यअनुसार सन् २०३० बाट नेपालमा हात्तीपाइले निवारण अभियान सञ्चालन भइरहेको छ ।
यसअघि सन् २००१, २००५ र २०१२ मा भएका थिए । ती अध्ययनमा नेपालमा हात्तीपाइले रोग व्यापक रहेको देखाएको थियो । सर्वेअनुसार नेपालका ६३ जिल्ला हात्तीपाइलेको जोखिममा छन् । सर्वेक्षणअनुसार ६३ जिल्लामध्ये ४८ जिल्लामा हात्तीपाइले रोग समुदायस्तरमा सङ्क्रमण नरहेको पाइएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार ४८ जिल्लामा समुदायस्तरमा हात्तीपाइलेको सङ्क्रमण रोकिए पनि पाँच जिल्लामा भने समुदायस्तरमा फैलिइसकेको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य अधिकृत तथा हात्तीपाइले रोगका फोकल पर्सन रामकुमार महतोले दाङ, कपिलवस्तु, बाँके, कैलाली लगाएतका जिल्लामा यस अघिदेखि नै समुदायस्तरमा हात्तीपाइले सक्रमण यथावत् रहेको जानकारी दिए ।
लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयका स्वास्थ्य निर्देशक डाक्टर विनोद गिरीले यो अभियानका लागि तीनै तहका सरकारको समन्वय भएको बताए । संघीयले बजेटको व्यवस्थापन गरेको छ, प्रदेशले स्थानीय र संघीय सरकारको समन्वय गरेको छ भने स्थानीय सरकारले यसको व्यवस्थापन गरेको छ, दुई वर्षको बीचमा ८० प्रतिशतले यसको औषधि सेवन गरे नियन्त्रणमा ल्याउन सकिन्छ भन्ने योजनामा सरकार लागिपरेको छ, उनले भने ।