चुनावी गठबन्धनबारे कांग्रेसले भन्यो – धेरै बोल्न हुन्न, केन्द्रीय समितिले निर्णय गर्छ (भिडिओ) – Nepal Press

चुनावी गठबन्धनबारे कांग्रेसले भन्यो – धेरै बोल्न हुन्न, केन्द्रीय समितिले निर्णय गर्छ (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसले आगामी निर्वाचनसम्म गठबन्धन कायम रहने प्रष्ट पारेको छ । गठबन्धन सरकार निर्वाचनसम्म कायम रहेपनि निर्वाचनमा कसरी जाने भन्ने विषयमा भने केन्द्रीय कार्यसमिति बैठकमा छलफल गरी निर्णय भएपछि मात्रै टु‌गाे लाग्ने जनाएको छ ।

पार्टी कार्यालय सानेपामा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता प्रकाशशरण महतले गठबन्धनका बारेमा अहिले धेरै बोल्न आवश्यक नभएको बताए ।

अहिले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले नै गठबन्धनको चर्चा, परिचर्चा धेरै नगर्न निर्देशन दिइसकेको उल्लेख गर्दै उनले केन्द्रीय कार्यसमिति बैठकले गरेको निर्णयअनुसार अगाडि बढ्ने बताए ।

उनले भने, ‘गठबन्धनका विषयमा धेरै बोल्न आवश्यक छैन । जुन बेला निर्वाचनमा उम्मेदवार उठाउने समयमा आउँछ हरेक पार्टीले आफ्नो स्ट्रेन्थ विकनेस प्रस्तुत गर्छन् । सोही अनुसार पार्टीको दृष्टिकोण बन्छ ।’

सबै पार्टीहरुले आन्तरिक ढंगबाट निर्वाचनको तयारी गरिरहेको उल्लेख गर्दै उनले भने, ‘सबै पार्टीलाई सँगै जाँदा निर्वाचनमा राम्रो हुन्छ भन्ने लाग्यो भने त्यही निर्णय हुन्छ । एक्लै जानुपर्ने भन्ने भयो भने पनि सोही अनुसार पछि नै निर्णय हुन्छ ।’

कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले केन्द्रीय कार्यसमिति बैठकबाट एमसीसी अनुमोदन गर्दा जस्तै एकतावद्ध र सर्वसम्मत भएर निर्वाचनमा गठबन्धन गर्ने नगर्ने बारेमा निर्णय गर्ने बताए ।

‘गठबन्धनमा चुनावी तालमेल गर्ने विषयमा केन्द्रीय कार्यसमितिको बैठक बसेर निर्णय गर्छौं,’ उनले भने, ‘अहिले नै तामेल गर्ने नगर्नेभन्दा अपरिपक्व हुन्छ ।’

२९ फागुनदेखि २९ चैतसम्म पहिलो चरणको अभियानका साथ कांग्रेस चुनावी तयारीमा होमिने उपसभापति खड्काले बताए । आउँदो ३० वैशाखमा स्थानीय तहको निर्वाचनको मिति तोेकिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर