पार्टी प्रवेशका लागि वीरगञ्ज महानगरपालिकाका मेयर सरावगी एमाले नेतृत्वसँग छलफलमा – Nepal Press

पार्टी प्रवेशका लागि वीरगञ्ज महानगरपालिकाका मेयर सरावगी एमाले नेतृत्वसँग छलफलमा

वीरगञ्ज । पछिल्लो समय मधेसका प्रभावशाली नेता र स्थानीय तहका जनप्रतिनिधिहरू एमाले प्रवेशको क्रम चलिरहेका बेला वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीले एमाले प्रवेशको चाहना राखेका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टीका नेता तथा सांसद विमल श्रीवास्तवमार्फत मेयर सरावगीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पार्टी प्रवेशको कुरा गरेका हुन् । सरावगी चैत ८ गते वीरगञ्जका प्रभावशाली नेता राजेशमान सिंह समूहसँगै एमाले प्रवेश गर्न चाहेका थिए ।

तर, राजेशमान सिंहको वीरगञ्जमा आफ्नै संगठन र जनमत रहेकाले उनले आफ्नो कार्यक्रममा सरावगीलाई समावेश गराउन नचाहेको बताइन्छ । सरावगीलाई अर्को कार्यक्रमबाट प्रवेश गराउने तयारी भइरहेको छ ।

यता पर्साका स्थानीय एमाले नेताहरूले भने सरावगीले स्थानीय पार्टीसँग समन्वय नगरी माथि-माथि कुरा अघि बढाएको बताएका छन् । अघिल्लो निर्वाचनमा करिब १२ हजार मतसहित तेस्रो भएका राजेशमान सिंह एमालेमा प्रवेश गरेर वीरगञ्जको मेयर बन्ने भएपछि सरावगीले एमाले प्रवेशको लागि छलफल गरेका हुन् ।

उनी यसअघि नेपाली कांग्रेसमा प्रवेश गर्ने घोषणा भइसकेको थियो । तर, पर्सा कांग्रेसको हालै सम्पन्न जिल्ला अधिवेशनपछि सरावगीको कांग्रेस प्रवेश रोकिएको बताइएको छ । उनले छलफल चलाएको अजय द्विबेदी पक्ष पराजित भएपछि सरावगीले एमालेसँग वार्ता गरेका हुन् ।

राजेशमान सिंह उठ्दा एमालेले मेयर जित्ने र उनीसँगै केही वडाध्यक्षहरू समेत एमाले प्रवेश गर्ने भएकाले स्थानीय कमिटीले भने सरावगीलाई भन्दा राजेशलाई महत्व दिएको छ । सरावगीलाई मेयरको टिकट दिने भनेर पार्टी प्रवेश गराउन नसकिने उनीहरूको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर