लुम्बिनीमा कांग्रेसको चुनावी तयारी: उम्मेदवार छनोटमा मापदण्ड तयार गर्दै – Nepal Press

लुम्बिनीमा कांग्रेसको चुनावी तयारी: उम्मेदवार छनोटमा मापदण्ड तयार गर्दै

गठबन्धनको अधिकार स्थानीय कमिटीलाई

रुपन्देही । स्थानीय तहको निर्वाचन नजिकिएसँगै सत्तारुढ नेपाली कांग्रेस लुम्बिनीले आफ्नो तयारी थालेको छ । सत्ता साझेदार अन्य दलहरुले आगामी निर्वाचनसम्म सबै तहमा गठबन्धन गरेर जाने आशयका विचारहरु बाहिर ल्याइरहेका बेला लुम्बिनीमा स्थानीय तहमा गठबन्धनको अधिकार स्थानीय कमिटीलाई दिइएको छ ।

चुनानी तयारीबारे कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिहं पुनले स्थानीय तहका उम्मेद्वार छनोट गर्दा निश्चित विधि र मापदण्ड बनाएर टिकट वितरण गरिने जानकारी दिएका छन् ।

पार्टीले बुधबार प्रदेश कार्यसमितिको बैठक बसेर नै यस्ता निर्णय गरेको पुनले जनाएका छन् । पुनले स्थानीय तहको निर्वाचनमा टिकट वितरण गर्दा पार्टीमा गरेको योगदान, जनाधारको मूल्याङ्कन, कार्यक्षमता, दक्षतासहितको समावेशीतालाई प्राथमिकता, क्रियाशिलता, निरन्तरता, निष्ठा र त्यागको मूल्याङ्कन, प्रतिस्पर्धी पार्टीका उम्मेदवार समेतलाई मध्यनजर गरी उम्मेद्वारी छनोट गरिने बताएका छन् ।

नेता पुनले स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस गठबन्धन नगरी पनि निर्वाचन लड्न सक्षम रहेको बताउँदै अन्य पार्टीहरुसँग गठबन्धन गर्ने वा नगर्ने तत् तत् तहको स्थानीय तहको आवश्यकता र परिस्थितअनुसार पार्टीको केन्द्रीय नीति, निर्देशनका आधारमा मात्रै गठबन्धन हुने सभापति सिंहले बताए ।

साथै आवश्यकता परेको अवस्थामा सत्ता गठबन्धनभन्दा बाहिरका दलसँग पनि आवश्यकताअनुसार गठबन्धन गर्न सकिने अधिकार दिएको उनले बताए ।

प्रदेश कमिटीको बैठकले चार वर्षे कार्ययोजना तयार गरिरहेको र चार वर्षे कार्य योजनाको ड्राफ्ट फागुन ३० गतेभित्र प्रदेश कार्यसमितिकोे कार्यालयमा प्राप्त हुने गरी जिल्ला सभापति र प्रदेश कार्यसमितीका सदस्यहरुलाई इमेल गरी पठाउन निर्देशन दिएको उनले बताए ।

संविधान बचाउनका लागि भए पनि अहिले नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचन जित्नैपर्ने आवश्यकता रहेको दाबी गर्दै पुनले नेपाली कांग्रेसले लम्बिनी प्रदेशमा बहुमत संख्यामा स्थानीय तह जित्ने बताए । सभापति पुनले स्थानीय तहको निर्वाचनको टिकट खोज्न नेताको घरमा भन्दा पनि जनताको घर–घरमा जना आग्रह गरेका छन् ।

सभापति पुनले भने ‘टिकट खोज्न नेताको घर घरमा होइन जनताको घर घरमा जानुहोस् । पैसामा टिकट वितरण हुँदैन । जसले जनताको घरघरमा गएर स्थानीयको मन जित्छ उसैले टिकट पाउँछ ।’ स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई हार्ने छुट नभएको बताउँदै सभापति पुनले स्थानीय तहको निर्वाचन नजिते प्रदेश र प्रतिनिधिसभाको निर्वाचन जित्न ग्राहो हुने बताएका छन् ।

पार्टीले चुनावी खर्च धेरै भएकाले पनि चुनाबी खर्च कम गर्नु पर्नेमा विषयमा गम्भीर छलफल गरेको र त्यसको मापदण्ड बनाउने नेता पुनको भनाइ छ । एमसीसी जनताको हितमा भएकाले केही दलले चुनावमा जान लागि कुनै एजेण्डा नभए पनि गलत प्रचार गरेको उनको आरोप रहेको छ ।

कोषाध्यक्षमा राना र प्रशिक्षण विभागमा श्रेष्ठ मनोनित

नेपाली कांग्रेसले लुम्बिनी प्रदेशको कोषाध्यक्षमा प्रकाश रानालाई मनोनित गरेको छ । नेपाली कांगे्रसको विधान अनुसार कोषाध्यक्ष मनोनित गर्ने व्यवस्था भए बमोजित रानालाई कोषाध्यक्षमा मनोनित गरिएको सभापति पुनले बताए । राना लामो समय विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा आएका नेता हुन् ।

पार्टीको प्रदेश चुनावमा सभापति पुनको प्यानलमा बलियो खम्बाका रुपमा देखिएका रानालाई महत्वपूर्ण कोषाध्यक्ष पदको जिम्मेवारी दिएका छन् ।

त्यस्तै प्रदेश उपसभापति भूवनप्रसाद श्रेष्ठलाई प्रशिक्षण विभागको प्रमुखको जिम्मेवारी प्रदान गरिएको छ । पार्टी विधानको नियमावली धारा ३३ को २(क) बमोजिम सभापति अमर सिंह पुनले श्रेष्ठलाई प्रशिक्षण विभागको प्रमुखमा चयन गरेका हुन् । कांग्रेसको लुम्बिनी प्रदेश कमिटीमा इतर समूहको वर्चश्व रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर