बुच्चे नक्साको बुकलेट थमाउँदै देउवालाई ओलीको प्रश्न- चुच्चे नक्साको पनि भण्डाफोर गर्ने हो ? – Nepal Press

बुच्चे नक्साको बुकलेट थमाउँदै देउवालाई ओलीको प्रश्न- चुच्चे नक्साको पनि भण्डाफोर गर्ने हो ?

काठमाडौं । नेपाली कांग्रेसले घर-घरमा कांग्रेस भन्ने चुनावी नारासहित गाउँ-गाउँमा गएर तत्कालीन नेकपा र पछि एमाले सरकारले गरेका कामको भण्डाफोर गर्ने निर्णय लिएपछि एमाले अध्यक्ष ओलीले तत्कालै प्रतिवाद गरे ।

बुधबार मोरङको रंगेली पुगेर ओलीले कांग्रेसलाई सोधे, ‘एमालेको भण्डाफोर गर्ने भनेको के गर्ने ? त्यही धरहरा र रानीपोखरी भत्काउने ? हामीले अघि बढाएका पालिकास्तरीय अस्पताल, सडक र सुरुङमार्गहरुको भण्डाफोर गर्ने ? त्यही त होला नि कांग्रेसले ।’

कांग्रेसले एमाले नेतृत्वको सरकारले गरेका कामहरुको भण्डाफोर गर्ने चर्चा चलिरहेका बेला ओलीले भने एक साताअघि नै प्रधानमन्त्री शेरबहादुर देउवालाई उनकै सचिवालयले प्रकाशन गरेको एउटा किताब थमाएर त्यसको त्रुटी नियतवस हो कि लापरवाही भन्ने प्रश्न गरिसकेका थिए ।

एमसीसीको सकस बढ्दै जाँदा देउवा दुईपटक ओली निवास बालकोट पुगेका थिए । पत्नी आरजु राणासहित बालकोट गएका दिन ओलीले प्रधानमन्त्रीको सचिवालयबाट प्रकाशित सरकारका सय दिन शीर्षकको पुस्तकको कभरमा नेपालको चुच्चे नक्साको साटो पूरानै (बुच्चे) नक्सा छापिएको विषयमा व्यंग्य गरेका थिए ।

दुई नेताबीच औपचारिक छलफल हुनुअघि त्यहाँ रहेका एक नेताले भने, ‘तपाईंहरू एमालेले गरेका कामको विरोध र भण्डाफोर गर्ने भन्दै हुनुहुन्छ,यो चुच्चे नक्साको पनि भण्डाफोर गर्ने हो ? संसदले पारित गरेको चुच्चे नक्सा तपाईंको सचिवालयबाट प्रकाशित पुस्तकमा गायब हुनु संयोग मात्रै हो कि ? नियत नै हो ?’

ओलीले त्यसो भन्दा देउवादम्पतीले भने आफूहरूलाई यो पुस्तक कसले निकाल्यो भन्ने पनि जानकारी नरहेको बताएका थिए ।

प्रधानमन्त्रीको सचिवालयले सरकारका सय दिनका उपलब्धी देखाउन ‘तस्बिरमा सरकारका सय दिन’ नामको बुकलेट निकालेको थियो । सो बुकलेट हेर्दै देउवाले कसले छाप्यो यो ? भन्दै उल्टै प्रतिप्रश्न गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर